Skip This
दसैँमा घर फर्कने बाटोको बिजोग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
जिल्ला ब्युरो काठमाडाैं
२o८१ बैशाख २६ बुधबार १२:o६:oo
Read Time : > 5 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दसैँमा घर फर्कने बाटोको बिजोग

दुई लाख ६१ हजार एक सय २० वर्गमिटरबराबरका खाल्डा पुर्नुपर्ने भए पनि हालसम्म ८२ हजार नौ सय ७९ वर्गमिटर मात्रै पुरिएका छन्

Read Time : > 5 मिनेट
जिल्ला ब्युरो, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १२:o६:oo

देशभरका प्रमुख सडकहरू समयमै मर्मत नहुँदा काठमाडौं र अन्य सहरी क्षेत्रबाट दसैँ मनाउन घर फर्कने यात्रीले सास्ती व्यहोर्नुपर्ने भएको छ । सडक विभागको तथ्यांकअनुसार तीन हजार ६ सय दुई किलोमिटर सडक मर्मत गर्नुपर्नेमा हालसम्म नौ सय ६१ किलोमिटर अर्थात् २७ प्रतिशत मात्रै दसँैलक्षित सडकको मर्मत भएको छ ।

सडकमा रहेका खाल्डाखुल्डीमध्ये ३२ प्रतिशत मात्रै पुरिएका छन् । विभागले दुई लाख ६१ हजार एक सय २० वर्गमिटरबराबरका खाल्डाहरू पुर्नपर्ने भए पनि हालसम्म ८२ हजार नौ सय ७९ वर्गमिटर मात्रै पुरिएका छन् । यो तथ्यांक सडक विभागअन्तर्गतका राजमार्गको मात्रै अवस्था हो । प्रदेश तथा स्थानीय तहअन्तर्गतका सडकहरूको अवस्था थप बिजोग छ ।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल पनि दसैँ–तिहारलक्षित सडक मर्मतमा ढिलाइ भएको स्वीकार गर्छन् । प्राविधिक समस्याका कारण सडक मर्मत–सम्भारमा ढिलाइ भएको उनको स्वीकारोक्ति छ । ‘यसपालि मनसुन लम्बियो । साथै, सडक मर्मतका लागि बजेट पनि छैन । त्यसैले गर्दा दसैँ–तिहारलक्षित सडक मर्मत कार्य द्रुत गतिमा गर्न सकिएन,’ उनले भने, ‘बजेट नभए पनि काम त हुन सक्ने थियो । तर, मनसुन लामो समय भएपछि व्यावहारिक रूपमै काम गर्न सकिएन ।’ 

गत बुधबार भएको पूर्वाधार विकास समितिको बैठकमा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पनि दसैँअघि सडक मर्मत–सम्भार गर्न नसकिने बताएका थिए । बजेट अभावकै कारण दसैँअघि सडक मर्मत गर्न नसकिने अभिव्यक्ति उनले बैठकमा दिएका थिए । 

सडक मर्मतका लागि यो वर्ष बजेट नै नराखिएको सडक बोर्डले जनाएको छ । गत आर्थिक वर्ष ०७९÷८० मा सडक निर्माण गरेका ठेकेदारलाई दिनुपर्ने बक्यौता नै तीन अर्ब ९६ करोड छ । बजेट अभावकै कारण सडक मर्मत हुन नसकेपछि अर्थ मन्त्रालयले सडक बोर्डलाई पाँच अर्ब दिने प्रतिबद्धता गरेको थियो । तर, अझै निकासा भएको छैन । ‘उक्त बजेटको स्रोत सुनिश्चित भइसकेको जानकारी आइसकेको छ,’ उनले भने, ‘आशा छ, छिट्टै बजेट निकासा हुनेछ । त्यसपछि मर्मतको काम झन् प्रभावकारी हुनेछ ।’

महानिर्देशक ढकालले घटस्थापनाअघि नै अधिकांश सडक मर्मत गरी खाल्डारहित बनाइने दाबी गरे । ‘मनसुनका कारण शुक्रबारसम्म काम गर्नै सकिएन । शनिबारबाट मनसुन रोकिएसँगै सडकहरू ओभाएका (सुक्खा भएका) छन्,’ उनले भने, ‘आइतबारबाट अधिकांश ठाउँमा सडक मर्मत गर्न सुरु भइसकेका छन् । घटस्थापनाअघि सबै ठाउँमा सडक मर्मत गर्न त नसकिएला । तर, अधिकांश सडकलाई खाल्डाखुल्डीरहित बनाउँछौँ । साथै, स्तरोन्नति तथा निर्माणाधीन अवस्थामा रहेका सडकहरूलाई सहज रूपमा यात्रा गर्न मिल्ने बनाउन निर्माण कम्पनीहरूलाई भनेका छौँ । त्यसअनुसार उनीहरू लागेका छन् ।’

 यी सडकमा मर्मत आवश्यक
अहिले नागढुंगा–नौबिसे–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिीन–पोखरा, कमला–कञ्चनपुर, ढल्केबर–कोशी ब्यारेजलगायतका सडक स्तरोन्नति भइरहेका छन् । सडक चौडा गर्दा कालोपत्रे हटाइएको छ । फलस्वरूप त्यहाँ खाल्डाखुल्डी पनि छन्, जुन अझै मर्मत भएको छैन । यसले गर्दा त्यहाँको यात्रा समय लम्बिएको छ । निर्माण कम्पनीकै कारण नायणगढ–बुटवल, मुग्लिन–पोखरा सडकखण्डको स्तरोन्नतिमा ढिलाइ भएको छ । यसैगरी अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति गर्ने काम पनि निर्माण कम्पनीका कारण ढिलाइ भएको छ । कैलालीको भीमदत्त राजमार्गको झन्डै तीन सय मिटर सडक भासिएको छ, जुन दसँैअघि मर्मत गर्न नसकिने महानिर्देशक ढकाल बताउँछन् । 

दसैँ नजिकिँदै गर्दा बर्खामा अवरुद्ध भएका केही सडकखण्ड अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् भने ६२ ठाउँमा सडक एकतर्फी मात्रै सञ्चालनमा छन् । यो बर्खामा बाढीपहिरोका कारण देशभर दुई सय ९६ ठाउँमा सडक (राजमार्ग) अवरुद्ध भएको थियो । त्यसमा अझै दुई ठाउँमा सडक अवरुद्ध नै छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार डुमे्र–बेँसीसहर–मनाङ सडकको लमजुङस्थित श्रीचौरमा सडक अवरुद्ध छ । यसैगरी, तमोर करिडोरको पाँचथरस्थित माझीटार हेवा खोलामा पनि सडक अवरुद्ध छ ।

 काठमाडौं–हेटौँडा यात्रुलाई निरन्तर सास्ती
काठमाडौंबाट बागमती प्रदेशको राजधानी हेटौँडा आवतजावत गर्ने यात्रुहरूले निरन्तर सास्ती खेप्दै आएका छन् । हेटौँडाबाट काठमाडौं जोड्ने आठवटा राजमार्ग हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–बल्खु, हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–बल्खु, हेटौँडा–भीमफेदी–फाखेल–मातातीर्थ–कीर्तिपुर, हेटौँडा–भीमफेदी–कुलेखानी–मार्खु–चित्लाङ–थानकोट, हेटौँडा–दामन–टिस्टुङ–नौबिसे–थानकोट (त्रिभुवन राजपथ), हेटौँडा–कुलेखानी–चन्द्रागिरि हुँदै थानकोट, हेटौँडा–ठिंगन–टीकाभैरव–सातदोबाटो (कान्ति लोकपथ) र हेटौँडा–नारायणगढ–मुग्लिन–नौबिसे–थानकोट सञ्चालनमा छन् । 

यी राजमार्गमा स्तरोन्नतिको काम समयमै नसक्दा यात्रुहरू निकै कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । हेटौँडाबाट कुलेखानी–फाखेल हुँदै बल्खु निस्कने सडक १० मिटर फराकिलो बनाउन स्तरोन्नति भइरे पनि समयमा काम नसकिँदा यात्रुले सास्ती खेपिरहेका छन् । यो सडकको स्तरोन्नतिो काम गत असारमै सकिनुपर्ने भए पनि मुआब्जा विवादले पुनः म्याद थपिएको छ । 

यता हेटौँडाबाट कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै बल्खु निस्कने सडकलाई मकवानपुर र काठमाडौं खण्डमा दुईवटा ठेक्का लगाएर निर्माण भइरहे पनि अपेक्षित गति लिन सकेको छैन । संघ र प्रदेशले उक्त सडक स्तरोन्नतिका लागि काठमाडौं खण्डतर्फ २२ करोड र मकवानपुर खण्डतर्फ १८ करोड विनियोजन गरेका छन् । 

०७३ मा निर्माण सुरु भई १५ महिनामा सकिनुपर्ने कुलेखानी–मार्खु–चित्लाङ–थानकोट मार्ग करिब पाँच वर्षसम्म पनि सकिएको छैन । २२.५ किलोमिटरको उक्त सडक निर्माण हालसम्म ५० प्रतिशत मात्रै सम्पन्न भएको छ ।

 नारायणगढ–बुटवल सडक भत्काएर छाडियो
तीन वर्षमा सक्ने गरी एक सय १३ किलोमिटर लामो नारायणगढ–बुटवल सडकखण्ड निर्माण सुरु भएको चार वर्ष बितिसक्दा ४१ प्रतिशत मात्रै सकिएको छ । पश्चिम खण्डमा त झन् ३७ प्रतिशत मात्रै काम सकिएको छ ।अधिकांश ठाउँमा सडक भत्काएर अलपत्र पारिएका कारण निर्माण कम्पनी चाइना स्टेटको आलोचना हुँदै आएको छ ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले ठेकेदार कम्पनी, सडक आयोजनालाई चाडपर्वलाई लक्षित गरेर बाटो सहज बनाउने निर्देशन दिएको बताइन् । ‘१० दिनअगाडि नै निर्माण कम्पनीलाई बोलाएर सडकमा खाल्डाखुल्डी पुर्न निर्देशन दिएका हौँ । पानीका कारण देखाएर पन्छिने गरेका छन्,’ प्रजिअ श्रेष्ठले भनिन् । चाइना स्टेट कम्पनी बुटवल–नारायणगढ सडकखण्डका प्रमुख राकेश झाले पानी–झरीमा समेत काम गरिरहेको दाबी गरे । सामान्य अवस्थामा साढे दुई घन्टामा पार गरिने सडक अहिले पाँच घन्टाभन्दा बढी समय लाग्ने गरेको छ ।

 सामान्य झरीमै अवरुद्ध हुन्छ नारायण–मुग्लिन सडक
काठमाडौंसम्म आवतजावत गर्ने प्रमुख राजमार्गमध्येको मुग्लिन–नारायणगढ सडक सामान्य झरीमै समेत पहिरो खसेर अवरुद्ध हुने गरेको छ । अहिले यो सडकखण्डमा पर्ने १५ पुलमध्ये १३ वटाको निर्माण जारी छ । १० पुससम्म सबै पुल तयार गर्नुपर्ने समयसीमा छ ।

सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले चार्डपर्वलक्षित गरेर बाटोमा भएका खाल्डाखुल्डी मर्मत–सम्भारका लागि पटके मर्मतअन्तर्गत टेन्डर आह्वान भएर कार्यान्वयनमा गएको बताए । ‘अत्यन्त सामान्य खाल्डाखुल्डी छन् । त्यसलाई पनि मर्मत गर्नेछौँ, सडकमा समस्या छैन । हामीलाई पहिरोको नै डर हो,’ उनले भने । गत वर्ष भासिएर मर्मत–सम्भार गरिएको रिग्दी पुलनजिकको सडकखण्ड अहिले पनि भासिन सुरु भएको छ । यात्रुवाहक र मालवाहक गरेर दैनिक ११ हजार सवारीसाधन यो सडकखण्ड हुँदै आवतजावत गर्ने गरेका छन् ।

 पूर्व–पश्चिम राजमार्गको मिर्चैयामा खाल्डाखुल्डी
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिराहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म निर्माणाधीन चार लेन सडक निर्माणमा ढिलाइ हँुदा सडक अस्तव्यस्त छ । सबैभन्दा बिजोग सिराहाको मिर्चैया बजार क्षेत्रमा छ । करिब डेढ किलोमिटर सडक क्षेत्रमा खाल्डाखुल्डी मात्रै छ, कहीँ सग्लो छैन । निर्माणको काम सन् २०२० अक्टोबरबाट सुरु भई २०२३ अक्टोबरसम्म सम्पन्न गर्नुपर्ने भए पनि अझै समय लाग्ने भएको छ ।  

 सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराईसँग जोड्ने एक मात्र राजमार्ग अवरुद्ध
दसैँमा सुदूरपश्चिमका सात पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, अछाम, बाजुरा र बझाङ जाने यात्रुले कैलालीको बुढीतोला सडकखण्डमा सास्ती खेप्नुपर्नेछ ।गत २२ साउन रातिको पहिरोले भीमदत्त राजमार्गको बुढीतोलामा तीन सय ४० मिटर सडक क्षतिग्रत बनाएयता मर्मत हुन सकेको छैन । पहिरोले करिब ६० मिटर सडक बगाएको छ भने बाँकी खण्ड भासिएको छ । ‘सडक पूरै बगाएको ठाउँमा एकतर्फी मात्र सञ्चालन भएकाले यातायातका साधन पार हुन केही समय कुर्नुपर्छ,’ सडक डिभिजन कार्यालयका इन्जिनियर तारानाथ सिग्देलले भने । 

यो सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराईसँग जोड्ने एक मात्र राजमार्ग हो । सडक डिभिजन कार्यालयले पहिरोको जोखिम कायम रहेकाले भौगर्भिक अध्ययन गरेपछि मात्र पुनर्निर्माणको कार्य सुरु गरिने जनाएको छ । सिग्देलका उनका अनुसार भूगर्भविद्को टोलीलाई अध्ययनका लागि करिब दुई महिना लाग्नेछ । सडक पुनर्निर्माणका लागि अर्को वर्ष मात्र ठेक्का हुने सिग्देलले बताए । 

 सोह्र महिनामा १० प्रतिशत मात्रै काम 
काठमाडौंबाट पूर्वी नेपालतर्फ जाने यात्रुहरूले प्रयोग गर्ने अरनिको राजमागअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारमा भएको ढिलाइले यात्रुहरू सास्ती खेपिरहेका छन् । २२ महिनामा स्तरोन्नति गर्ने सम्झौता भएको १६ महिना बितिसक्दा निर्माणको काममा १० प्रतिशत मात्रै प्रगति भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर नेत्र देवकोटाले काममा ढिलाइ भएपछि पत्र काटेर ठेकेदारलाई दबाब दिएको बताए ।

सबैभन्दा व्यस्त पृथ्वी राजमार्ग नै अस्तव्यस्त
काठमाडौं भित्रिने र बाहिरिने प्रमुख नाका पृथ्वी राजमार्ग हुँदै यात्रा गर्नेले विगतमा जस्तै यो वर्ष पनि सास्ती खेप्नुपर्नेछ । सडकको बीचभागमा ठूला खाल्डाखुल्डी यत्रतत्र छन् भने पानी पर्दा हिलो हुने र सुख्खायाममा धुलो उड्ने पुरानो समस्या ज्युँको त्युँ छ । यो सडक हुँदै ६५ भन्दा बढी जिल्लाका मानिसहरू काठमाडौं आवतजावत गर्ने भए पनि सडकको दुरावस्था सुधार भएको छैन । त्यसैले चाडपर्वका वेला यात्रा गर्नसमेत डर लाग्ने गरेको धादिङ स्थायी घर भएर काठमाडौंमा बस्दै आएकी सबिना श्रेष्ठको अनुभव छ । ‘आजभोलि नै घर फर्किन कार्यालयमा बिदा भएको छैन । दसैँमा घर फर्किंदा घन्टौँको जामसँगै खराब सडकको यात्रा गर्दा थकित हुने गरेका छौँ,’ उनी भन्छिन् ।

कमजोर सडक पूर्वाधारका कारण पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको धादिङ खण्डमा चालू आर्थिक वर्ष ०८०/८१ को साउनयता सडक दुर्घटनामा परी नौजनाले ज्यान गुमाएका छन् भने २१ गम्भीर घाइते र ६४ सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गतका सडक दसैँअघि नै खाल्डाखुल्डीरहित बनाउन लागिपरेको नागढुंगा–मुग्लिन सडक योजना कार्यालय (पूर्वी खण्ड) गजुरी धादिङका योजना प्रमुख ईश्वरबहादुर रिजालले बताए । ‘निर्माण व्यवसायीलाई समयमै मर्मत गर्न निर्देशन दिइसकेका छौँ । यो महिनाको अन्त्यसम्म मर्मत भइसक्छ,’ उनले भने ।

धादिङमा अर्जुन श्रेष्ठ, नवलपरासीमा रामकुमार श्रेष्ठ, मकवानपुरमा पोष्टराज अधिकारी, भरतपुरमा विवेक पोख्रेल, सिराहामा सुरेन्द्रकुमार कामती, धनगढीमा तेजराज भट्ट, काभ्रेमा इन्द्रबहादुर थापा र काठमाडौंमा मिलन विश्वकर्मा

ad
ad