मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १४ सोमबार
  • Monday, 26 February, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० असोज १७ बुधबार १६:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभामुख घिमिरे र अस्ट्रेलियाका समकक्षी मिल्टन डिकबीच शिष्टाचार भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज १७ बुधबार १६:२८:००

सभामुख देवराज घिमिरेसँग अस्ट्रेलियाका सभामुख मिल्टन डिकले बुधबार सिंहदरबारमा शिष्टाचार भेट गरेका छन्। 

सभामुख घिमिरेकाे कार्यकक्षमा भएको भेटघाटमा संसदीय अनुभव आदान–प्रदान, द्विपक्षीय सम्बन्ध विस्तारलगायतका विषयमा छलफल भएको छ।

नेपाल र अस्ट्रेलिया दुवै स्वतन्त्र, खुला र विविधतायुक्त समाज भएका लोकतान्त्रिक मुलुक भएको उल्लेख गर्दै सभामुख घिमिरेले लोकतान्त्रिक पद्धति, मूल्य–मान्यता र संस्थालाई थप सुदृढ बनाउन अनुभव आदान–प्रदान गर्नुपर्नेमा जोड दिए। उनले उच्चस्तरीय भ्रमणले नेपाल र अस्ट्रेलियाबीच विद्यमान मित्रवत् सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे। 

अस्ट्रेलियामा संसदीय मैत्री समूह पुनर्स्थापना भएकोमा खुसी व्यक्त गर्दै सभामुख घिमिरेले नेपालमा भर्खरै गठन भएको नेपाल–अस्ट्रेलिया मैत्री समूहले दुई देशका संसदबीचको सम्बन्धलाई थप गतिशील बनाउने विश्वास व्यक्त गरे। उनले युवा राजनीतिज्ञहरूको भ्रमण आदान–प्रदानले दुई देशबीचको राजनीतिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरे। 

सभामुख घिमिरेले दुई देशबीच व्यापार तथा लगानी फ्रेमवर्क सम्झौतामा यथाशीघ्र हस्ताक्षर हुन सके दुई देशबीचको व्यापार तथा लगानीले थप गति लिने विश्वास व्यक्त गरे। 

उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि अस्ट्रेलिया महत्वपूर्ण गन्तव्य रहेको बताउँदै सभामुख घिमिरेले नेपाली विद्यार्थीका लागि थप छात्रवृत्ति तथा अध्ययनपछि स्वदेशमै फर्कन प्रेरित गर्न आग्रह गरे।
 
अस्ट्रेलियाका सभामुख डिकले दुई मुलुकबीच जनस्तरमा सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिँदै आफ्नो मुलुक नेपालसँग विकास साझेदारी र जलवायु परिवर्तनविरुद्धको अभियानमा साथमै रहने बताए। 

सभामुख डिकले नेपालमा पनि अस्ट्रेलिया हेर्ने गरी संसदीय मैत्री समूह गठन भएकोमा स्वागत गर्दै कानुन निर्माण, बजेटलगायतका नीतिगत विषयमा छलफल हुने विश्वास व्यक्त गरे।