
दोलखाको उत्तरी नाका फलेकबाट भएको सुन तस्करीमा ठूलै गिरोह संलग्न रहेको देखिएपछि अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को विशेषज्ञ टोली खटिएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले बुधबार र शनिबार गरी सात किलो सुन बरामद गरेको थियो । प्रहरीले दुवैपटकको सुन बिगु गाउँपालिका– १ का २८ वर्षीय केशर तामाङको डेराबाट बरामद गरेको हो । उनले तस्करीको सुन लुकाउन छुट्टाछुट्टै दुईवटा डेरा भाडामा लिएका थिए । प्रहरीले सुरुमा घटनालाई सामान्य रूपमा लिएको थियो । तर, पक्राउ परेका अभियुक्तबाट नयाँ तथ्य खुलेको मात्र नभई थप सुनसमेत बरामद भएपछि घटना गम्भीर रहेको निष्कर्षमा प्रहरी पुगेको हो । सोहीकारण घटनाको अनुसन्धान गर्न सिआइबीको विशेषज्ञ टोली दोलखा पुगेको हो ।
सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले दोलखामा बरामद सुनको अनुसन्धान गर्न सिआइबीको टोली दोलखा पुगेको जानकारी दिए । ‘दोलखामा एउटै समूहबाट तस्करी गरिएको सात किलो सुन बरामद भयो । घटनामा केही अभियुक्त पक्राउ परेका छन् । उनीहरूको पृष्ठभूमि हेर्दा जति सामान्य देखिएको छ, घटना त्यसोभन्दा निकै गम्भीर हुन सक्ने हाम्रो बुझाइ हो । त्यसैले अनुसन्धानमा सिआइबीको टोली खटिएको हो,’ उनले भने ।
प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा केशरसहित विगु गाउँपालिका– १ का १८ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वुछिरिङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ, २० वर्षीय माधव मगर र राज तामाङलाई पक्राउ गरेको छ । उनीहरू सबै तिब्बत–लामाबगर सीमाक्षेत्रका स्थानीय हुन् । उनीहरूको पृष्ठभूमि सामान्य देखिए पनि तस्कर गर्न लगाउने गिरोह संगठित र ठूलो रहेको प्रहरीको निष्कर्ष छ ।
गिरोहले विगतमा पनि सोही नाका हुँदै पटक–पटक सुन तस्करी गर्ने गरेको दोलखा प्रहरी प्रमुख डिएसपी दीपक खड्काले बताए । ‘पक्राउ परेका सबै सीमाक्षेत्रका स्थानीय हुन् । उनीहरूको पृष्ठभूमि सामान्य नै देखिन्छ । तर, तस्करीका लागि प्रयोग गरिएको ‘टे«न्ड’ विश्लेषण गर्दा घटनामा ठूलै गिरोह संलग्न रहेको देखिन्छ । यिनीहरूले यसअघि पनि पटक–पटक सुन ल्याएको देखिन्छ । त्यसो हुँदा अनुसन्धान गम्भीर ढंगले नै भइरहेको छ,’ उनले भने ।
प्रहरी स्रोतका अनुसार गिरोहले थप चार किलो सुन पनि सोही नाकाबाट तस्करी गरी नेपाल भित्र्याएको छ । उक्त सुन भने अझै फेला परेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणपछि चीनले गत ७ असोजबाट एक साताका लागि रोङजिया र कोल्दु नाका खुला गरेको थियो । रोङजिया नाकाबाट चीनको फलाक पुग्न सकिन्छ । नाका खुलेलगत्तै चीनले लामाबगर क्षेत्रका स्थानीयलाई फलेकसम्म जानआउन खुला गरेको थियो । त्यसैको फाइदा उठाउँदै गिरोहले तस्करीमा लामाबगरको स्थानीयलाई प्रयोग गरेको प्रहरीको भनाइ छ । हवाईमार्गबाट हुने सुन तस्करीमा पछिल्लोपटक कडाइ भएपछि सोही गिरोह स्थलमार्गतर्फ लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।
‘पछिल्लोपटक हवाईमार्गबाट हुने सुन तस्करीमा कडाइ भएको छ । त्यही गिरोह स्थलमार्गतर्फ लागेको हुन सक्छ । विमानस्थलबाट हुने सुन तस्करीको गिरोह र फलेकबाट भएको सुन तस्करीको गिरोहबीचको ‘नेक्सस’ खोज्ने काम भइरहेको छ । विवरण अनुसन्धानपछि खुल्दै जालान्,’ सिआइबी प्रवक्ता अधिकारीले भने ।
प्रहरीका अनुसार बरामद सात किलो सुन पेम्बाले नेपाल भित्र्याएका हुन् । उनलाई चिनियाँ नागरिकले काठमाडौं लैजान भन्दै सुन दिएका थिए । पेम्बाले सुन केशरलाई दिएका थिए । केशरले छुट्टाछुट्टै दुईवटा डेरामा लुकाई राखेका थिए । उक्त सुन लिन काठमाडौंबाट नुर्वुछिरिङ र उनकी श्रीमती सुनमाला चरिकोट पुगेका थिए । उनीहरू पेम्बाका दिदीभिनाजु हुन् । उनीहरूबाट बरामद सुनको बजार मूल्य ६ करोड ३२ लाख १३ हजार रुपैयाँ पर्छ ।
राजस्व अनुसन्धान विभागले गत २ साउनमा मात्रै हङकङबाट तस्कर गरी ल्याइएको ६०.७१६ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको थियो । अनुसन्धानका क्रममा सो गिरोहले दुई महिनाको अवधिमा विमानस्थलबाट मात्रै ३६२.७७८ किलो सुन तस्करी गरेको खुलेको थियो । घटना सम्बन्धमा अहिले जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस चलिरहेको छ । घटनामा २९ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध तीन अर्ब ५० करोड ३० लाख ९१ हजार नौ सय ७५ रुपैयाँ बिगोदाबी गरिएको छ ।
विमानस्थल र रसुवामा थप तीन किलो सुन बरामद
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रसुवा नाकाबाट थप तीन किलो सुन बरामद गरेको छ । विमानस्थलमा प्रहरीले फिलिपिनी नागरिक ३० वर्षीया अर्विकन अरोन्स मनलङबाट अर्धठोस अवस्थाको २.७२० किलो सुन बरामद गरेको छ । उनी फ्लाई दुबईको उडानबाट काठमाडौं आएकी थिइन् । दुबईबाट नेपाल आएकी उनले सुन गुप्तांगभित्र लुकाएर ल्याएकी थिइन् । विमानस्थलमा उत्रिएकी उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले निगरानी गरेको थियो । सोहीक्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएर खानतलासी लिएको थियो ।
विमानस्थलस्थित एक्स रे मेसिनमा लगेर चेकजाँच गर्दा गुप्तांगमा लुकाई राखिएको सुन बरामद भएको थियो । उनीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ । त्यस्तै, सिआइबीको टोलीले रसुवा नाकाबाट एक किलो सुन बरामद गरेको छ । रसुवाबाट सुन भित्रिरहेको सूचनापछि सिआइबीको टोली नाका पुगेको थियो । चेकजाँच गर्ने क्रममा सिआइबीले एक किलो सुन बरामद गरेको हो । यस सम्बन्धमा अनुसन्धान भइरहेको सिआइबीले जानकारी दिएको छ ।