१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० असोज १२ शुक्रबार ०८:४२:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

अन्तरिक्षमा चीन–अमेरिकाको प्रतिस्पर्धा नियन्त्रणबाहिर जाने खतरा

सबै संकेतहरूले अमेरिका–चीन अन्तरिक्ष प्रतिस्पर्धा आगामी दुईदेखि तीन दशकमा मंगलग्रहसम्म विस्तार भएर नकारात्मक रूपमा अघि बढ्ने देखाउँछ

Read Time : > 2 मिनेट
२०८० असोज १२ शुक्रबार ०८:४२:००

पृथ्वी र चन्द्रमाबीचको अन्तरिक्ष क्षेत्रमा चीन र अमेरिकाबीचको बढ्दो प्रतिस्पर्धा नियन्त्रणबाहिर जाने जोखिम छ । सबै संकेतहरूले यी अन्तरिक्ष प्रतिद्वन्द्वीको प्रतिस्पर्धा आगामी दुईदेखि तीन दशकमा मंगलग्रहसम्म विस्तार भएर यसले अझ बढी नकारात्मक परिणाम निम्त्याउन सक्छ । यस्तो सम्भावनाबाट बच्न दुवै पक्षले सहयोगका सम्भावना पहिल्याउनुपर्छ ।

तर, त्यसका लागि अमेरिकी कंग्रेसले अन्तरिक्ष सहयोगमा लगाइएको प्रतिबन्ध चाँडो हटाउने र अन्तरिक्षमा चीन–अमेरिका सहकार्यको आशा जगाउने गरी आफ्नो ‘जिरो सम’ सोच त्याग्न आवश्यक छ । सन् २००१ मा अमेरिकी कंग्रेसले घोषणा गरेको प्रतिबन्ध फिर्ता नहुँदासम्म चीन र अमेरिकाबीच आधिकारिक अन्तरिक्ष सहयोग असम्भव देखिन्छ ।

स्पेसएक्सको स्टारलिंक उपग्रहहरू (कक्षका अधिकांश उपग्रहहरू यसैका छन्)ले अन्तरिक्ष अन्वेषणलाई धेरै देशका लागि किफायती र प्रभावकारी बनाएको छ । तर, उचित व्यवस्थापनविना पृथ्वीको तल्लो कक्षमा उपग्रहहरूको 
बढ्दो संख्याले पृथ्वीको कक्षमा सञ्चालन भएका र सञ्चालन हुन छोडेका उपग्रहसहितको संख्याले सीमा नाघेर त्यस्ता वस्तुबीचको ठक्कर अपरिहार्य हुन्छ, जसलाई केस्लर सिन्ड्रोम पनि भनिन्छ । ती ठक्करले थप फोहोर उत्पादन गर्नेछ र थप टक्करहरू निम्त्याउनेछ । यसले थप उपग्रह प्रक्षेपणलाई अवरोध गर्छ । अर्थात यस अनुसार समयक्रममा अन्तरिक्ष अभियानलाई नै असम्भव बन्नेछ । 

अन्तरिक्ष अन्वेषणमा यस्तो अवरोधले मौसम, नेभिगेसन, सञ्चारका उपग्रहहरूमा निर्भर उद्योगमा विनाशकारी प्रभाव पार्नेछ । ठूलो संख्यामा स्टारलिंकका उपग्रह (सुचारु र निष्क्रिय दुवै)ले अन्तरिक्ष यानसँग सम्भावित टक्करको थुप्रै घटनाले चिन्ता बढाएको छ । केही चिनियाँ उपग्रह यस्ता फोहोरसँग ठोक्किनबाट बालबाल बचेका दृष्टान्त बढ्दै गएका छन् । यो परिदृश्य रोक्न चीन र अमेरिका अन्तरिक्ष सहयोगमा संलग्न हुनुपर्छ । तर, त्यस्ता प्रयासले अझै पनि अमेरिकी कंग्रेसबाट प्रतिरोधको सामना गरिरहेका छन् ।

रिपब्लिकन सांसद फ्रान्क वुल्फद्वारा प्रस्तावित र सन् २०११ को एप्रोप्रियसन्स एक्टमा समावेश गरिएको यो संशोधनले नासा र ह्वाइट हाउसको अफिस अफ साइन्स एन्ड टेक्नोलोजी पोलिसीलाई चीनसँग संयुक्त अनुसन्धानमा संलग्न हुनबाट रोक्छ । यसले नासाका सबै सुविधामा ‘आधिकारिक चिनियाँ आगन्तुक’लाई स्वागत गर्न पनि रोक्छ । परिणामस्वरूप चीन–अमेरिका अन्तरिक्ष सहयोगलाई प्रतिबन्ध लगाउने उपाय अपनाइएको छ ।

चिनियाँ वैज्ञानिकलाई अमेरिकामा आयोजित अन्तर्राष्ट्रिय अन्तरिक्ष सम्मेलनमा भाग लिनबाट रोक्ने र यी दुई पक्षबीच अन्तरिक्ष अन्वेषणसम्बन्धी सञ्चार र जानकारी आदानप्रदानलाई गम्भीर रूपमा सीमित गर्नेलगायत कदम चालिएका छन् । अमेरिकी कंग्रेसले चिप्स एन्ड साइन्स एक्टमा नासाका लागि विनियोजन बढाएर चीनविरुद्धको अन्तरिक्ष–प्रतिस्पर्धालाई थप सुदृढ बनाएको छ ।

पृथ्वीको तल्लो कक्षमा ठक्करको सम्भावना चीन–अमेरिका अन्तरिक्ष प्रतिस्पर्धाको एउटा पक्ष मात्र हो । अन्य मुद्दामा परम्परागत उपग्रहलाई आणविक सामग्रीले लैस गर्ने, अन्तरिक्षयानप्रतिरोधी हातहतियारको परीक्षण र अन्तरिक्षयानको पुनः प्रविष्टिमार्फत् अन्तरिक्षमा जम्मा हुँदै जाने फोहोर आदिका चिन्ता रहेका छन् । यी प्रत्येक समस्या निकै जटिल छन् । यी मुद्दामा चीन र अमेरिका सहमतिमा नपुग्दासम्म यिनले द्विपक्षीय सम्बन्धमा नयाँ संकट सिर्जना गर्न सक्छन् ।

चीनको अन्तरिक्ष केन्द्र सञ्चालनमा आएसँगै चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमको अर्को चरण चन्द्रमाको अन्वेषण, चन्द्रमा र चन्द्रमावरपरको अनुसन्धान हुँदै नयाँ ‘तीन–चरण’को योजना पछ्याउँदै अन्ततः मंगलग्रहमा अन्तरिक्षयात्रीहरू अवतरण गराउनेतर्फ लक्षित हुने देखिन्छ । स्पेसएक्सका सिइओ एलन मस्क सन् २०५० अगावै मंगलग्रहमा अन्तरिक्षयात्री अवतरण गराउन दृढ संकल्पित छन् । यसर्थ, चिनियाँ र अमेरिकी अन्तरिक्षयात्रीको मंगलग्रहमा भेटको सम्भावना छ । यदि यसअगाडि नै दुवै देश मानवजगत्को हितका लागि अन्तरिक्ष स्रोतको विकास र प्रयोग गर्न शान्तिपूर्ण सहकार्यमा संलग्न हुने एउटा सम्झौतामा पुग्न सके भने त्यो दुर्लभ खुसीको खबर हुनेछ । 

अमेरिकी संसद्ले शीतयुद्ध र आफूले मात्रै जित्ने जेरो–सम गेमको मानसिकता त्याग्नुपर्छ, सबै प्रतिबन्ध हटाउनुपर्छ र आफ्नो स्वार्थलाई साझा हितभन्दा माथि राख्ने थप गल्ती गर्नबाट जोगिनुपर्छ । अमेरिका–चीन अन्तरिक्ष सहकार्यमा न अमेरिकी अन्तरिक्षविज्ञ, न त यो लेखक नै आशावादी छन्, तर तथ्य के हो भने सौर्य प्रणालीमा केवल आठ ग्रह छन् र पृथ्वी एक मात्र हामीले घर भन्न सक्ने ठाउँ हो । तसर्थ, चीन र अमेरिकाबीचको प्रतिस्पर्धा मंगलग्रहमा रोकियो भने राम्रो हुनेछ ।
– चाइना डेलीका लागि लिउ चाङको आलेख