१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
चीन भ्रमणको सिलसिलामा प्रधानमन्त्री प्रचण्ड तिब्बतस्थित हिन्दुहरूको पवित्र धार्मिक तीर्थस्थल मानसरोवरकाे अवलोकन गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:२८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड कैलाश मानसरोवरमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:२८:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार तिब्बतस्थित हिन्दुहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवर पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड र प्रतिनिधिमण्डलले कैलाश पर्वत र मानसरोवरको दर्शन गरेका हुन् । बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा उच्च अधिकारीहरूसँगको छलफलपछि उनी कैलाश पुगेका हुन् । नेपाली प्रतिनिधिमण्डललाई तिब्बत सरकारले कैलाश मानसरोवर भ्रमणको विशेष प्रबन्ध गरेको थियो । 

भारत भ्रमणमा जाँदा उज्जैनस्थित महाकालेश्वरको मन्दिर पुगेका प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्केलगत्तै पशुपतिनाथ मन्दिरमा पुगेर पूजाअर्चना गरेका थिए । चीन भ्रमणको अन्त्यतिर प्रधानमन्त्री प्रचण्डले मानसरोवरलाई प्रमुख गन्तव्य बनाएका छन् । प्रधानमन्त्रीको सचिवालयले सामाजिक सञ्जालमा भ्रमणबारे केही विवरण राखेको छैन । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क गएका प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सोझै चीन भ्रमणमा गएका थिए । एसियाली खेलकुद भइरहेको सहर हाङझाउमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग र बेइजिङमा समकक्षी लीसँग भेट गरेका प्रधानमन्त्री प्रचण्ड ल्हासा हुँदै कैलाश मानसरोवर गएका हुन् । 

भ्रमणदलमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र उनकी पत्नी ज्योत्सना साउदले कैलाश पर्वतमा भगवान् शिव र पार्वतीको पूजा गरेको ट्विटरमा जनाएका छन् । उनले भनेका छन्, ‘भगवान् शिव र देवी पार्वतीको दिव्य निवासस्थान कैलाश मानसरोवरको दर्शन र पूजा गर्न पाउँदा मैले धन्य महसुस गरेको छु । यस पवित्र स्थानको आध्यात्मिक शक्ति शब्दहरूभन्दा निकै माथि छ ।’

प्रधानमन्त्री प्रचण्डले नेपालको हुम्लाको बाटो भएर हिन्दुहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्ने व्यवस्था मिलाउने बताएका छन् । कैलाश पर्वत र मानसरोवर ताल दर्शन अवलोकनपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डले हुम्ला भएर सजिलै भ्रमण गर्ने व्यवस्थाका लागि चीनसँग सहमति भइसकेको पनि बताए । ‘नेपाली, भारतीय र अन्य देशका पर्यटकहरूले हुम्लाको बाटो भएर सजिलै कैलाश भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्धान्तिक सहमति भैसकेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हुम्लाको सिमकोटबाट कैलाश पर्वततर्फ ओहोरदोहोर गर्न गुणस्तरीय बाटो निर्माणको काम छिट्टै अघि बढ्नेछ ।’ 

तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोवर करिब २ सय ५० किलोमिटर टाढा रहेको छ । तर, हुम्ला सिमकोटबाट १ सय ६० किलोमिटर र नेपाल–चीन सिमानाबाट जम्मा ७० किलोमिटरको दूरीमा कैलाश मानसरोवर अवस्थित छ । सिमकोटबाट कैलाश मानसरोवर जान अहिले सडक सञ्जाल जोडिएको भए पनि सडकको ट्र्याक मात्रै खोलिएकाले यात्रा गर्न सहज छैन । प्रधानमन्त्री प्रचण्डले सो सडकको गुणस्तर वृद्धि गर्ने काम छिट्टै अघि बढाइने जानकारी दिए । 

कैलाश पर्वतबाट केही तल तिब्बती भागमै मानसरोवर ताल छ । मानसरोवर ताल पनि हिन्दुहरूका लागि पवित्र तीर्थस्थल हो । कैलाश पर्वतमा बस्ने महादेवले यही मानसरोवर तालमा स्नान गर्ने गर्दछन् भन्ने हिन्दु धर्मावलम्बीहरूको जनविश्वास छ ।