१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राहत शिक्षक र चिकित्सकको माग वार्ताबाट समाधान गर्न माओवादीको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५७:oo

सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले संघीय संसदमा पेस भएको संघीय शिक्षा विधेयकका सम्बन्धमा देखिएको असन्तुष्टिलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ। 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले वार्ता र संवादका माध्यमबाट शिक्षा विधेयकमा व्यक्त भएको असन्तुष्टिलाई सम्बोधन गरेर जानुपर्ने निष्कर्ष निकालेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।  

विधेयकका सम्बन्धमा असन्तुष्टि जनाउँदै शिक्षकले केही दिन पहिले काठमाडौंकेन्द्रित प्रदर्शन गरेका थिए। सरकारसँगको वार्तापछि अधिकांश शिक्षक नियमित काममा फर्के पनि राहत शिक्षकले आफ्नो माग सम्बोधन नभएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन्। 

उनीहरूले उठाएको माग संविधानको मर्म र भावनालाई ख्याल गरेर सम्बोधन गर्न सरकारलाई आग्रह गरिएको प्रवक्ता सापकोटाको भनाइ थियो। 

वार्ता र संवादबाटै सहमतिको बिन्दु पहिल्याउन सकिने ठहर गर्दै बैठकले राहत शिक्षकले समेत अपनत्व महसुस गर्ने गरी विधेयकमा आवश्यक प्रक्रिया राख्न  अनुरोध गरिएको उनको भनाइ थियो। 

यस्तै, बैठकले स्वास्थ्यकर्मी तथा चिकित्सकले उठाएका माग पनि सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। आफूहरूमाथि आक्रमण भएको भन्दै चिकित्सकले प्रदर्शन गरिरहेका छन्। 

यसैगरी मुलुकका विभिन्न भागमा सामाजिक सदभाव बिगार्ने खालका गतिविधि देखापरेको भन्दै माओवादी केन्द्रले समयमै सचेतता अपनाउनुपर्नेमा जोड दिएको छ। 

आमनेपालीमा सामाजिक सदभाव असाध्यै राम्रो र बलियो रहे पनि केही स्थानमा अराजक संकेत देखापरेको ठहर गर्दै सो पार्टीले बेलैमा सचेतपूर्वक समस्या समाधानको दिशामा जानुपर्नेमा जोड दिएको प्रवक्ता सापकोटाले जानकारी दिए।  

त्यस्तै, पार्टीले अगाडि बढाएको जनतासँग माओवादी अभियानलाई थप प्रभावकारी बनाउने र जनताको विश्वास जित्ने गरी अगाडि बढ्नुपर्नेमा आजको बैठकमा विशेष जोड दिइएको उनको भनाइ थियो। 

सरकारले अगाडि बढाएको भ्रष्टाचार नियन्त्रण र सुशासनको अभियानलाई थप प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता औँल्याउँदै प्रवक्ता सापकोटाले सो कार्यका लागि सरकारलाई साथ दिनसमेत सबैलाई आग्रह गरे।