१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
शुरोजंग पाण्डे काठमाडाैं
Invalid date format o७:५३:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले बागमती प्रदेश अधिवेशन : निर्वाचनबाट नेतृत्व छानिँदै, आज उम्मेदवारी, भोलि मतदान

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:५३:oo

अध्यक्षका लागि निवर्तमान अध्यक्ष केशव पाण्डे, केन्द्रीय सदस्यद्वय कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल तथा सानुकुमार श्रेष्ठ आकांक्षी, ४० मुनिका युवा उम्मेदवार चार दर्जन

एमाले बागमती प्रदेशको सोमबारबाट सुरु भएको प्रथम अधिवेशनको निर्वाचन प्रक्रिया ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने भएको छ । प्रज्ञा भवन कमलादीमा राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथिको छलफल सकिएकाले बुधबार बिहान च्यासलस्थित पार्टी कार्यालयबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम अगाडि बढाउने तयारी भएको छ । 

‘प्रतिवेदनमाथि सातवटा समूहका नेताहरूले छलफलमा आएका सुझावसहितको प्रस्तुतिबाट प्रतिवेदन सर्वसम्मत पारित भएको छ, अब बुधबार बिहान पार्टी कार्यालयबाट उम्मेदवारी मनोनयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढ्छ,’ अध्यक्षमण्डलका सदस्य शेरबहादुर तामाङले नयाँ पत्रिकासँग भने ।

समय अभावका कारण उम्मेदवारी मनोनयन प्रक्रिया सकिएपछि मात्र नेतृत्व छनोटमा सर्वसम्मतिका लागि अध्यक्षमण्डलले प्रयास गर्ने सम्भावना रहेकोसमेत उनले बताए । अध्यक्षका लागि निवर्तमान अध्यक्ष केशव पाण्डे, केन्द्रीय सदस्यद्वय कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल तथा सानुकुमार श्रेष्ठ आकांक्षी छन् । सर्वसम्मति हुँदा पाण्डे नै दोहोरिने, तर निर्वाचन हुँदा भने ढुंगेल र दाहालबीच प्रतिस्पर्धाको सम्भावना छ । पोलिटब्युरो सदस्यद्वय गोकुल बाँस्कोटा र महेश बस्नेत निवर्तमान अध्यक्ष पाण्डेलाई सर्वसम्मत अध्यक्ष बनाउन सकिने विकल्पमा तयार छन् । 

प्रदेश अधिवेशनमा प्रतिनिधि र तलका कार्यकर्ताले निर्वाचनमार्फत नेतृत्व छनोटमै जोड दिएपछि एमाले अध्यक्ष केपी ओलीसहितका पदाधिकारीहरूले पनि केन्द्रबाट हस्तक्षेप नगर्ने र कसैलाई आधिकारिक उम्मेदवार मानेर सहयोग नगर्ने नीति लिए लिएका छन् । ओली स्वयंले सोमबारको उद्घाटन सभामा प्यानल नबनाउन, तर व्यक्तिगत रूपमा स्वस्थ प्रतिस्पर्धा गर्न निर्देशन दिएका थिए । स्थायी समिति सदस्य तथा अध्यक्षमण्डलका सदस्य तामाङले निर्वाचन प्रक्रिया सुरु भएपछि मात्र नेतृत्वको दाबेदारबीच सर्वसम्मतिका लागि औपचारिक कोसिस गर्ने बताउँछन् । तर, उनले चुनावबाटै छिनोफानो हुने संकेत गरे । ‘बुधबार उम्मेदवारी दर्ता भएपछि को–को हुनुहुँदोरहेछ भन्ने यकिन हुन्छ र उम्मेदवारलाई राखेर अध्यक्षमण्डलले पनि सर्वसम्मतिका लागि प्रयास गर्छ,’ तामाङले भने,‘पार्टी अध्यक्षले प्यानल नबनाई स्वतन्त्र र स्वच्छ रूपमा व्यक्तिगत प्रतिस्पर्धा गर्न निर्देशन दिनुभएकाले कोही कसैले मलाई फलानो समर्थन छ भनेर प्रचार गर्नुको अर्थ छैन ।’ 

बन्दसत्र तथा निर्वाचन प्रक्रिया अगाडि बढाउन इन्चार्ज गुरु बरालको संयोजकत्वको अध्यक्षमण्डलले काम गरिरहेको छ । अध्यक्षमण्डलमा तामाङसहित पार्वत गुरुङ, गोकुल बाँस्कोटा, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, कमल चौलागाईं, रामेश्वर फुँयाल, कृष्णबहादुर राई, सुशिला नेपाल र रत्ना गुरुङ रहेका छन् । 

यी हुन् पदाधिकारीका आकांक्षी 

उपाध्यक्षमा दोलखाबाट ईश्वरचन्द्र पोखरेल, काभ्रेबाट कुमार खकुरेल, धादिङबाट भूमि त्रिपाठी, ललितपुरबाट नवराज सिलवाल र मधुसुदन पौडेल, चितवनबाट विजय सुवेदी र दावादोर्जे लामा, नुवाकोटबाट नारायण खतिवडा, मकावनपुरबाट महेश बर्तौला आकांक्षी छन् । त्यस्तै, सचिवमा चितवनका कृष्णभक्त पोखरेल, सिन्धुपाल्चोकका सुभाष कर्माचार्य र हस्त पण्डित चर्चामा छन् । दाहाल र ढुंगेल अध्यक्षको उम्मेदवार बने पोखरेल र कर्माचार्य उनीहरूमध्येकै टिमबाट सचिवको उम्मेदवार बन्ने गरी तयारी गरेका छन् । पोखरेल र कर्माचार्य दुवै एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेनिकट मानिन्छन् । 

कर्माचार्यलाई डेढ महिनाअघि गोकुल बाँस्कोटाले एकीकृत समाजवादीबाट प्रवेश गराएका थिए । सोहीकारण, दाहाल बाँस्कोटाको समर्थनमा अध्यक्षको उम्मेदवार बने कर्माचार्य सचिव उठ्ने र बस्नेतको समर्थनमा ढुंगेल अध्यक्षको उम्मेदवार बने पोखरेल सचिव उठ्ने सम्भावना बढेको स्रोतले जनाएको छ । 

उपसचिवमा दोलखाबाट डबल पाण्डे, सिन्धुलीबाट खड्ग खत्री, भक्तपुरबाट भाष्कर प्रधानांग, काठमाडौंबाट उपेन्द्र पौडेल, धादिङबाट रमेश आचार्य र राधिका सापकोटा र सिन्धुपाल्चोकबाट अशोक चौलागाईंलगायत आकांक्षी छन् ।

४० मुनिका युवा उम्मेदवार चार दर्जन
अधिवेशनमा करिब चार दर्जन युवाले प्रदेश कमिटीको नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । एमालेले केन्द्रीय सर्कुलरमार्फत सबै तहका कमिटीमा युवाको संख्या बढाउने नीति कार्यान्वयनमा ल्याएपछि बागमतीको प्रदेश अधिवेशनमा ४० वर्षभित्रका युवा समूहबाट चार दर्जनभन्दा बढी आकांक्षी देखिएका हुन् । एमालेले कमिटीको संख्याको अनिवार्य रूपमा १० प्रतिशत युवालाई छुट्टै निर्वाचन क्षेत्रबाट निर्वाचित गराउनुपर्ने बाध्यकारी व्यवस्था कार्यान्वयनमा ल्याएको छ । भदौ तेस्रो साता सम्पन्न लुम्बिनी अधिवेशनबाट पनि १० प्रतिशत युवा निर्वाचित भएका छन् । 

बागमतीमा पनि दुई सय ४० सदस्यीय प्रदेश कमिटीमा युवाको अलग्गै निर्वाचन क्षेत्र मानेर २४ जना युवा निर्वाचित गराउने गरी निर्वाचन आयोगले तयारी गरेको छ । ‘युवा, महिलाहरूको छुट्टै निर्वाचन समूहबाट प्रतिनिधित्व हुने गरी निर्वाचित गराईनेछ,’ निवर्तमान प्रदेश अध्यक्ष केशव पाण्डेले भने । अधिवेशनमा निर्वाचन हुँदा प्रतिस्पर्धाका लागि १३ जिल्लाबाट चार दर्जन युवाले उम्मेदवारी दिने गरी तयारी सुरु गरेका छन् । 

यसरी आकांक्षा राख्नेहरूमा अहिले प्रदेश कमिटीमा रहेका ४० वर्षमुनिका युवादेखि विद्यार्थी पृष्ठभूमिको राजनीतिबाट भर्खरै बिदा भएकाहरूको संख्या उल्लेख्य छ । निवर्तमान प्रदेश कमिटी सदस्य सन्तोष खड्का, उमेश आचार्य र रञ्जन केसीले युवा समूहबाट उम्मेदवारी दिने तयारी गरेका छन् । अनेरास्ववियु पृष्ठभूमिका खड्का निवर्तमान सदस्य तथा वागमती प्रदेशको विद्यार्थी फाँट इन्चार्ज छन् । त्यस्तै, केसी पनि निवर्तमान प्रदेश सदस्य हुन् भने आचार्य अनेरास्ववियुको उपाध्यक्ष हुँदै अघिल्लो सम्मेलनमा महासचिवमा प्रतिस्पर्धा गरेर बाहिरिएका थिए । 

‘पार्टीले युवालाई अगाडि बढाउन प्रोत्साहनको नीति लिनु धेरै राम्रो कुरा हो, यो नीतिलाई कार्यान्वयनमा लगेर योग्य, सक्षम र पेसागत रूपमा पनि अब्बल नयाँ पुस्ताका युवालाई आकर्षित गर्ने दिशामा अगाडि बढेर पार्टीलाई बलियो बनाउनुपर्छ,’ उम्मेदवारीको तयारीमा रहेका बागमतीका विद्यार्थी फाँट इन्चार्ज खड्काले भने,‘पार्टी कमिटीहरूलाई गतिशील र क्रियाशील बनाउँदै एमालेले लिएको मिसन ०८४ को लक्ष्य पूरा गर्ने दिशामा सिंगो पार्टीपंक्ति एकताबद्ध भएर क्रियाशील हुनु जरुरी छ ।’ त्यस्तै, यो समूहबाटै अनिल श्रेष्ठ, विष्णु तामाङ, लक्ष्मण गुभाजू, पूर्णिमा खरेल, सन्तोष पौडेल, सन्तोष राना क्षेत्री, जेनिश तामाङ, प्रदीप शर्मा, सुजन कार्की, कृष्ण मोक्तान, सविता आचार्यलगायतले आकांक्षा राखेर प्रतिस्पर्धाको तयारी गरेका छन् ।