१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
पवन तिमिल्सिना काठमाडाैं
२०८० असोज १० बुधबार ०६:२२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

२१ असोजबाट सुपथ मूल्य पसल

चामल, दाल, गहुँ, आँटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरामा बजार मूल्यभन्दा प्रतिकिलो सात रुपैयाँसम्म सस्तोमा बिक्री हुनेछ

Read Time : > 2 मिनेट
२०८० असोज १० बुधबार ०६:२२:००

हरके वर्षजस्तै सरकारले चाडपर्वकेन्द्रित सहुलियत (सुपथ) मूल्य पसल यो वर्ष २१ असोजबाट सञ्चालन गर्ने भएको छ । उपभोक्तालाई राहत दिन, आपूर्ति व्यवस्थापन सहज बनाउन र बजारमा हुन सक्ने मूल्यवृद्धि रोक्न सरकारी स्वामित्वका संस्थानहरूमार्फत सुपथ मूल्य पसल ३ मंसिरसम्म सञ्चालन हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 

दसैँ, तिहार तथा छठजस्ता चाडबाडका समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । आपूर्ति मन्त्रालयमातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपक्षी विकास मन्त्रालयमातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन हुँदै आएको छ ।

 के–के पाइन्छ सस्तोमा ?
सहुलियत मूल्य पसलमा सबै किसिमका चामल, दाल, गहुँ, आँटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरामा बजार मूल्यभन्दा प्रतिकिलो सात रुपैयाँसम्म सस्तोमा बिक्री हुनेछ । त्यस्तै, कर्णालीको सिमी तथा गेडागुडीहरू, फापरको दाना, चिनो, कागुनो र उवा, जिउँदो खसी, बोका तथा च्यांग्रा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ । सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ ।

त्यस्तै, साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड छुट्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ मा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ । त्यस्तै, दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिर प्रति दुई सय ग्राममा २० र प्रति पाँच सय ग्राममा ५० रुपैयाँ छुट दिनेछ ।


खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्रीस्थल रहने जनाइएको छ । त्यसबाहेक मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिममा खाद्य व्यवस्था कम्पनीले सहुलियत पसल सञ्चालन गर्नेछ । त्यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट,  जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल रहनेछन् ।

यस्ता पसलहरू आवश्यकताअनुसार थप जिल्ला र स्थानहरूमा पनि सञ्चालन गर्न सकिने मन्त्रालयले जनाएको छ । निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलरहरूका माध्यमबाट तोकिएबमोजिमको छुट पाउन सकिनेछ । 

 अनुगमनको व्यवस्था
सञ्चालनमा ल्याइएका सहुलियत मूल्य पसलहरू प्रभावकारी भए–नभएको विषयमा अनुगमन गर्न समिति पनि बनाइएको छ । वाणिज्य, आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागबाट पनि नियमित अनुगमनका अतिरिक्त थप अनुगमन टोली बनाई सघन रूपमा अनुगमन गर्ने उल्लेख छ । जिल्लाहरूको हकमा प्रमुख जिल्ला अधिकारी वा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन टोली गठन गरी सघन रूपमा अनुगमन गरिने मन्त्रालयले जनाएको छ । 

घटस्थापनादेखि नयाँ नोट वितरण गर्ने
नेपाल राष्ट्र बैंकले २८ असोज घटस्थापनादेखि बजारमा नयाँ नोट पठाउने तयारी गरेको छ । केन्द्रीय बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख नरेश शाक्यका अनुसार नोट वितरणका लागि आन्तरिक गृहकार्य भइरहेको र घटस्थापनादेखि आरम्भ गर्ने तयारी भएको छ । उनले केन्द्रीय बैंकका विभिन्न कार्यालय र बैंक तथा वित्तीय संस्थाहरूबाट आएको मागअनुसार कति नोट वितरण गर्ने तय हुने बताए । 

विगतमा जस्तै प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नोट वितरण गरिने उनले बताए  । यसपालि केन्द्रीय बैंकले कार्यालयहरूमा क्युआर कोडको समेत व्यवस्था गर्ने बताए । क्युआर कोडको प्रयोगले नोट वितरणलाई सहजता दिने उनले बताए । 

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०७९/८० मा ६ खर्ब ४० अर्ब आठ करोड रुपैयाँबराबरमा नोट चलनचल्तीमा छ । त्यस्तै, दुई खर्ब १६ अर्ब ५४ करोड ९२ लाख ४९ हजार रुपैयाँको नोट केन्द्रीय बैंकसँग मौज्दातमा छ । चाडबाडमा १० अर्बभन्दा बढी रकम व्यक्तिको हातमा पुग्ने अनुमान छ । पछिल्लो समय डिजिटल कारोबारको बढ्दो प्रयोगले नोटको वितरणमा कमी आउँदै जानेसमेत केन्द्रीय बैंकको बुझाइ छ ।