१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २९ मंगलबार १५:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुपथ मूल्य पसल असोज १ गतेदेखि सञ्चालन गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २९ मंगलबार १५:०३:००

सरकारले चाडबाडको अवसरमा आमउपभोक्तालाई लक्षित गरी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ। हरेक वर्ष दसैँ, तिहार र छठ पर्वका वेला सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ। महँगी बढेको वेला सरकारले सहुलियत दरमा खाद्य वस्तुहरू बिक्री–वितरण गर्दा आमउपभोक्तालाई केही राहत मिल्ने गरेको छ।

यो वर्ष असोज १ गतेदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गरेको छ। लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले देशका ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने जानकारी दिइन्। उनका अनुसार लिमिटेडले नै देशभर सुपथ मूल्य पसल सञ्चालन गर्नेछ।

सरकारले कायम गरेको मूल्य दरअनुसार चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच रुपैयाँ छुट गरिएको छ। त्यस्तै, भटमासको तेल, मासु र कर्णालीकाे सिमीमा १० रुपैयाँ छुट गरिएको छ। उपत्यकाभित्र नख्खु, थापाथली, रामशाहपथ, जावलाखेल, बल्खु, टेकु, जडीबुटी, सल्लाघारीलगायतका स्थानबाट सुपथ मूल्यमा खाद्य वस्तुको बिक्री–वितरण गरिनेछ।

उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगन्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री–वितरण हुने बताइएको छ। यसबाहेक हरेक वर्ष साल्ट ट्रेडिङ कर्पोरेसन, नेसनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दुग्ध विकास संस्थानले पनि विभिन्न ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्छन्। विभिन्न निकायद्वारा सञ्चालित सुपथ मूल्य पसल बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म खुला हुनेछन्।

यो वर्ष कोभिड संक्रमणलाई ध्यानमा राख्दै उपभोक्ताको भिडभाड नहुने गरी खाद्यान्न बिक्री–वितरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्देशन दिएको छ । सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ।