१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० असोज १० बुधबार ०६:१४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दुईपटकका च्याम्पियन नेपाल र भारत भिड्दै

साफ यू–१९ च्याम्पियनसिपको पाँचौँ संस्करणमा समान दुईपटकको च्याम्पियन नेपाल र भारत सेमिफाइनलमा आज प्रतिस्पर्धा गर्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असोज १० बुधबार ०६:१४:००

दक्षिण एसियाली फुटबल महासंघ साफ यू–१९ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेशका लागि आज नेपाल र भारत आमनेसामने हुँदै छन् । पाँचौँ संस्करण दशरथ रंगशालामा जारी रहँदा नेपाल र भारत समान दुईपटकका च्याम्पियन हुन् । दोस्रो सेमिफाइलन खेल साँझ साढे ५ बजे सुरु हुनेछ । त्यसअघि, साढे १ बजे पहिलो सेमिफाइनलमा भुटान र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । नेपाल सुरुवाती दुई संस्करण सन् २०१५ र २०१७ को च्याम्पियन हो । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो संस्करणको फाइनलमा भारतलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । दोस्रो संस्करण थिम्पुमा हुँदा नेपाल शीर्ष स्थानमा रहँदै लगातार उपाधि जित्न सफल भएको थियो । भारतले पछिल्ला दुई संस्करण सन् २०१९ र २०२२ को उपाधि जितेको छ । तेस्रो संस्करण स्वयम्भूस्थित हल्चोक मैदान र अन्तिम संस्करण भारतमा भएको थियो । नेपालले भने पछिल्लो दुवै संस्करणमा कमजोर प्रदर्शन गर्न पुग्यो । 

यसपटक पनि नेपालको प्रदर्शन उत्साहजनक छैन । समूह एमा नेपाल पाकिस्तानसँग पहिलो खेलमा १–० ले पराजित भएको थियो । पहिलो २० मिनेट नेपालले उत्कृष्ट प्रदर्शन गरे पनि पाकिस्तानले बाँकी समय नेपाललाई दबाबमा राखेको थियो । दोस्रो खेलमा माल्दिभ्सलाई ४–१ ले हराउँदै नेपाल समूह उपविजेता बनेको हो । भारत भने प्रतियोगितामा अपराजित रहँदै नेपालसँग भेट तय गरेको थियो । प्रतियोगिताबाट दुईपटकको उपविजेता बंगलादेश र माल्दिभ्स बाहिरिइसकेका छन् । 

 भारतलाई हराउने विश्वास 
नेपाली टोलीका प्रशिक्षक सुनील श्रेष्ठले भारतलाई हराउने विश्वास व्यक्त गरेका छन् । पहिलो संस्करणमा भारतलाई हराउँदा सहायक प्रशिक्षक रहेका श्रेष्ठले घरेलु दर्शकमाझ भारतलाई कडा टक्कर दिने बताएका छन् । ‘पछिल्लो जितपछि खेलाडीको मनोबल उच्च छ । हामी भारतलाई हराउन खेल्छौँ,’ श्रेष्ठले भने, ‘खेलाडीले मिहिनेत गरेका छन् । प्रदर्शन पनि निखारिएको छ । भारतको खेल हेरिसकेकाले योजनाअनुसार खेल्छौँ,’ उनले भने । ‘जसरी पनि नतिजा आफ्नो पक्षमा पार्छाैं ।’ 

 इतिहास रच्ने  दाउमा भुटान र पाकिस्तान 
प्रतियोगिताको पहिलो सेमिफाइनलमा भुटान र पाकिस्तान भिड्दै छन् । भुटान र पाकिस्तान पहिलोपटक सेमिफाइनलमा पुगेका हुन् । आज जित निकाल्ने टोलीले पहिलोपटक फाइनलमा स्थान बनाउनेछ । त्यसैले दुवैका लागि यो ऐतिहासिक खेल हो । पाकिस्तानको भने डेब्यु प्रतियोगिता हो । उसले पहिलो सहभागितामै अपराजित यात्रा कायम राख्दै अन्तिम चारमा स्थान बनाएको छ । घरेलु टोली नेपाललाई १–० र माल्दिभ्सलाई १–१ को बराबरीमा रोक्दै पाकिस्तान समूह ‘ए’को विजेता बनेको थियो । भुटान समूह ‘बी’मा बंगलादेशलाई ४–३ र भारतसँग २–१ ले हार्दै सेमिफाइनलमा पुगेको थियो ।