
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका छन्।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आइतबार बेइजिङमा आयोजित नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बनेकोले र यसको लाभ लिनका लागि चिनियाँ लगानीकर्तासमक्ष आग्रह गरे।
चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले आयोजना गरेको सम्मेलनमा उनले भने, ‘हामीले लगानीमैत्री वातावरण बनाउनका लागि सम्बन्धित नीति तथा कानुन संशोधन तथा अद्यावधिक गरेका छौँ, त्यसैले अहिले नेपालमा लगानीको वातावरण राम्रो बनेको छ।’
प्रधानमन्त्री दाहालले नेपालमा पर्यटन, पूर्वाधार, ऊर्जा, कृषि, औषधिजन्य उत्पादनलगायतका क्षेत्रमा लगानीको राम्रो सम्भावना भएको भन्दै लगानी गरी लाभ लिन पनि आग्रह गरे। ‘नेपालमा पछिल्लो समय लगानीको वातावरण बनेको छ, सम्भावना भएका क्षेत्रमा लगानी गरी लाभ लिन म यहाँहरूसमक्ष आग्रह गर्दछु,’ चिनियाँ लगानीकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘नेपालमा श्रम कानुन पनि लगानीमैत्री र लचिलो छ।’
उनले नेपालमा कर पनि तुलनात्मक रूपमा कम रहेको भन्दै लगानीको उचित वातावरण बनेको स्पष्ट पारे। नेपालमा लगानीको सुरक्षा र आवश्यक एवं उचित वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेकोसमेत बताए।