१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o७:४९:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दाङमा पाँच वर्षमा डुबेर २ सय २८ को मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:४९:oo

दाङमा डुबेर ज्यान गुमाउनेको संख्या बर्सेनि बढिरहेको छ । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा जिल्लामा डुबेर मृत्यु हुनेको संख्या दुई सय २८ पुगेको छ । तीमध्ये एक सय ७४ पुरुष र ५४ महिला छन् । 

डुबेर मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाका छन् । तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा घोराहीका ७१,  तुलसीपुरका ४५, लमहीका ३१, राप्तीका २२, गढवाका १६ जनाको मृत्यु भएको छ । यसैगरी बबईका नौ, दंगीशरणका आठ, शान्तिनगर र राजपुरका समान पाँच–पाँच, बंगलाचुलीका तीन तथा अन्य जिल्लाका १६ जनाको पाँच वर्षको अवधिमा डुबेर ज्यान गएको छ ।

जिल्ला विपत् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार जिल्लामा आर्थिक वर्ष ०७९/८० मा ४५ जनाको जिल्लाका विभिन्न स्थानमा डुबेर मृत्यु भएको छ । यस्तै, आव ०७८/७९ मा ६३, आव ०७७/७८ मा ५५, आव ०७६/७७ मा ३७ र आव ०७५/७६ मा २९ जनाको डुबेर मृत्यु भएको तथ्यांक छ । डुबेर ज्यान गुमाउनेमा २० वर्षमुनिका ८५ जना छन् ।

प्रमुख जिल्ला अधिकारी वैद्यले १३ महिनाकी शिशुदेखि ८० वर्षमा वृद्धसम्मका व्यक्ति रहेको जानकारी दिए । घोराही– ९ की १३ महिनाकी शिशुको २२ फागुन ०७८ मा घरअगाडि राखेको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको थियो । बंगलाचुली गाउँपालिका– ७ का ८० वर्षीय दयाराम बुढामगरको २१ असोज ०७९ मा खोला तर्ने क्रममा चिप्लेर मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय दाङले डुबेर भएका मृत्युमध्ये अधिकांश लापरबाहीका कारण भएको जनाएको छ । ‘पानीसँग खेलबाड गर्दा कतिपय घटना भएको पाइएको छ ।

‘गम्भीर लापरबाहीका कारण बगाएर, कतिपय घटनामा पौडिन नजान्दा तथा कतिपय घटना भवितव्यका कारण भएका छन्,’ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले भने, ‘केही घटना पानीमा हामफालेर आत्महत्या गरेका पनि छन् । तर, अधिकांश डुबेर मरेका घटनाको अनुसन्धान गर्दा लापरबाहीका कारण भएको देखिएको छ ।’ उनले पानी र आगोसँग कहिले खेलबाड गर्नुहुँदैन भन्ने जान्दाजान्दै पनि बेवास्ता गर्दा ज्यान गुमाएको अवस्था रहेको बताए । जिल्लाको भौगोलिक अवस्था तथा वर्षाका समयमा सावधानी नअपनाउँदा पनि बगाएर वा डुबेर मृत्यु भएका जिल्ला प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता राजनकुमार गौतमले बताए ।