
हिन्दू महिलाहरूको महान् चाड हरितालिका तिजका अवसरमा देशभरका शिवालयमा चहलपहल देखिएको छ । सोमबार झन्डै पाँच लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार बिहान ३ बजेदेखि राति ८ बजेसम्म व्रतालु भक्तजनले पशुपतिको दर्शन गरेका हुन् ।
‘व्यवस्थित र सौहार्दपूर्ण ढंगले तिज सम्पन्न भएको छ । गत वर्षहरूभन्दा यो वर्ष धेरै व्रतालु भक्तजनले पशुपतिनाथको दर्शन गर्नुभएको छ,’ कोषका प्रवक्ता रेवतीरमण अधिकारीले भने । सोमबार पशुपतिमा दर्शन गर्न आउने व्रतालु भक्तजनका लागि चारवटा ठाउँबाट लाइनको व्यवस्था गरिएको थियो । कोषका अनुसार कोटेश्वर–तीनकुने–सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गरी लाइनको व्यवस्था भएको थियो । यो बाटोबाट आउने भक्तजनका लागि जुत्ता–चप्पल आर्यघाट जाने बागमती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राख्ने व्यवस्था गरिएको थियो ।
मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी दोस्रो लाइनको व्यवस्था गरिएको थियो । यो क्षेत्रबाट प्रवेश गर्ने भक्तजनको जुत्ता–चप्पल शंकराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने व्यवस्था थियो । तेस्रो लाइन गौशाला–पिंगलस्थान–पञ्चदेवल क्षेत्रबाट सुरु हुने व्यवस्था थियो । यो क्षेत्रबाट प्रवेश गर्ने भक्तजनको जुत्ता–चप्पल बज्रघरअघिको क्षेत्रमा राखिने व्यवस्था गरिएको थियो ।
चौथो लाइन गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै अगाडि जाने व्यवस्था थियो । यो क्षेत्रबाट पशुपति प्रवेश गर्ने भक्तजनले जुत्ता–चप्पल गुरु मन्दिरअघिको खुला भागमा राख्न सकिने व्यवस्था थियो । कोषका अनुसार सोमबार बिहान ३ बजेदेखि पशुपति मन्दिरको चारवटै ढोका खुला भएको थियो । राति ७ बजे बागमती गंगा आरतीको समयसम्म भक्तजनले दर्शन गरेको कोषले जनाएको छ । त्यसैगरी, सोमबार देशभरका महादेवस्थलमा पूजाआराधना गरी हरितालिका तिज मनाइएको छ ।