१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

५० जनाविरुद्ध मुद्दा, तीन अर्ब ५० करोड बिगो दाबी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४५:oo

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने भएको छ। 

बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यो प्रकरणमा अमला रोक्कासहित ५० जनालाई प्रतिवादी बनाएर ६१ किलो सुन प्रकरणको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन लागेको जानकारी दिएको छ।
 
पत्रकार सम्मेलनमा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यले ५० जना प्रतिवादीमध्ये ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको बताइन्।  उनले फरारमध्ये १४ जना विदेशी नागरिक र चारजना नेपाली रहेकाे उल्लेख गरिन्। 

उनले सबैजनालाई गरेर तीन अर्ब ५० करोड दुई लाख १६ हजार पाँच सय ५२ रुपैयाँको बिगो दाबी गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउन लागेको जानकारी दिइन्। 

उनका अनुसार अनुसन्धानका क्रममा तस्करहरूले सिनामंगलबाट फेला परेको ६१ किलोसहित विभिन्न चरणमा अनुसन्धान गरी बरामद सबै ब्रेक प्याड जोख्दा ३०२.६२ किलो सुन ल्याएको खुलेको छ। 

उनले योजनाबद्ध विदेशी संलग्न भएर तस्करी भएको देखिएको बताइन्। उनले ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानको फाइल फेरि पनि खुल्ने जानकारी दिइन्। 

आगामी दिनमा पनि अनुसन्धान हुने र त्यसबाट खुल्ने प्रतिवादीलाई समेटेर पूरक अभियोगपत्र लैजान लागिएको उनले बताइन्। 

सिआइबीले अनुसन्धान प्रतिवेदन बुझाउन लागे पनि यसको अनुसन्धान नसकिएको उनको भनाइ थियो। प्रमुख बज्राचार्यले हालसम्म २३ नेपाली र नाै विदेशी पक्राउ परेको बताइन्। 

पक्राउ परेकाविरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकतासम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐनसम्बन्धी कसुरको कारबाही अगाडि बढाउन सिफारिस गरिएको उनले पत्रकार सम्मेलनमा जानकारी दिइन्। 

सिआइबीले पक्राउ परेको चाइनिज समूहले पाँचवटा कम्पनी खडा गरेर अन्य सुनहरू ल्याएको  देखिएको जनाएको छ। नेपाली नागरिकता बनाउने विदेशी नागरिकको विषयमा थप अनुसन्धान गरिने प्रमुख बजाचार्यले बताइन्। उनका अनुसार सुनको रकम भुक्तानी डिजिटल रूपमा गरेको देखिएको छ।

सिआइबीले सुन तस्करी प्रकरणमा फरार १८ जना खोज्नका लागि सबै विधि अवलम्बन भएको बताएको छ। 

फरारहरूलाई पक्राउ गर्न पर्पल नोटिस जारी गरिसकिएको सिआइबीले बताएको हो। सुन तस्करीमा चिनियाँ नागरिकहरूको ठूलो नेक्सस संलग्न रहेको जानकारी दिएको छ। 

चिनियाँ नागरिकले तस्करी गरेर काठमाडौंमा सुन भित्र्याउन र त्यसको व्यवस्थापन गर्न नेपाली नागरिकको नाममा सातवटा कम्पनी खोलेको अनुसन्धानका क्रममा खुलेको सिआइबीले बताएको छ। 

अनुसन्धानका क्रममा ६ वटा कम्पनीमार्फत सुन ल्याएको देखिएको छ। हङकङबाट आएको सुन लाजिम्पाट र टोखामा गाल्ने गरेकाे पनि सिआइबीले जनाएको छ। सुन ल्याउनेदेखि व्यवस्थापन गर्नका लागि तस्करहरूले दुईवटा समूह बनाएको देखिएको छ। 

हर्कराज राईले भन्सारमा आएको सामान गोदाममा पुर्‍याउने गरेकाे अनुसन्धानका क्रममा खुलेको छ। युप्टिङ छिरिङले कम्पनी खोल्ने र हर्कराजले कम्पनी खोल्न गरिब नेपाली खोजेर दर्ता गर्ने गरेको देखिएको छ।