१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:५५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँदर र बँदेलबाट बाली जोगाउन रातभर जाग्राम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५५:oo

यहाँका कृषक मकैबाली जोगाउन रातभर जाग्राम बस्ने गरेका छन्। पाक्नै लागेको मकैबाली जंगली जनावरले खान थालेपछि किसान मकैबारीभित्रै पाल हालेर रातभर जाग्राम बस्दै आइरहेका छन्। 

‘मकै बाली दिनभर बाँदरले, रातभर बँदेलले खाएर हैरान पार्छन्, सुत्नसमेत पाइँदैन,’ मंगलसेन नगरपालिका– ७ का कृषक दुर्गाप्रसाद ढुंगानाले भने। किसानले मकै जोगाउन बारीभरि मान्छेका जस्तै पुत्ला बनाएर खडा गरेका छन् भने रातभर बाजागाजा बजाउँदै, होहल्ला गर्दै बस्ने गरेका छन्। 

दिनभरि बाँदर र रातभरि बँदेलआतंकले बारीका मकै सखाप हुन थालेको कृषक प्रेम भण्डारीले बताए। ‘रातभरि जाग्राम बस्नुपर्छ, रातिमा कतिवेला कहाँबाट बँदेल आउँछ थाहा हुँदैन,’ भण्डारीले भने। वर्षभरि खाने खेतीमा बाँदर र बँदेलको आतंक नियन्त्रण गर्न नसकिएको उनी बताउँछन्।  

बँदेल र बाँदर नियन्त्रण गर्न स्थानीय सरकारले योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ। बाँदर र बँदेलले मकैबारी सखाप बनाउन थालेपछि कृषक चिन्तित बनेका छन्। 

जिल्लाका विभिन्न गाउँमा बाँदरले मकैलगायतका अन्नबाली सखाप पार्न थालेका छन्। बिहानदेखि बेलुकासम्म मकैबारीमा बस्दा पनि अन्नबाली जोगाउन नसकिएको कृषकहरूको गुनासो छ।

साउनयता हालसम्म जिल्लामा जंगली जनावरको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। मृतकका परिवारलाई रु. १० लाख राहत रकम र घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने डिभिजन वन कार्यालयका वन अधिकृत विमल चन्दले बताए।  

त्यस्तै, उनका अनुसार जिल्लाका किसानको अन्नबाली जंगली जनावरले नोक्सान पुर्‍याएको भन्दै एक सय १८ कृषकको राहतका लागि सिफारिस आएको र उनीहरूलाई डिभिजन वन कार्यालयको मूल्यांकन समितिले क्षतिको मापन गरी कम्तीमा रु. १० हजार आर्थिक राहत उपलब्ध गराउनेछ। 

जिल्लामा जंगली जनावर बाघ तथा चितुवाको आक्रमणबाट १६ किसानका २९ पशु चौपायाको मृत्युु भएको र किसानलाई राहतस्वरूप प्रतिबाख्रा तथा खसीको रु. १० हजार एवं गाई, गोरु र भैँसीको रु. ६० हजार रकम सहयोग गरिने डिभिजन वन कार्यालयले जनाएको छ। 

किसानको अन्नबाली जंगली जनावरले सखाप पार्न थालेपछि पुर्खौँदेखि गर्दै आएको कृषि पेसा छाड्नुपर्ने अवस्था सिर्जना भएको कृषक बताउँछन्। साथै कसानले यसको वैकल्पिक उपाय पनि खोज्न थालेका छन्।