१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २o:३o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

इजरायलद्वारा बिपीको दुर्लभ भाषण राष्ट्रपतिलाई उपहार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३o:oo

राष्ट्रपति रामचन्द्र पौडेललाई इजरायलले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको दुर्लभ भाषण उपहारस्वरूप प्रदान गरेको छ। इजरायली राजदूत हनन गोदेर गोल्डबर्गरले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा बिपीको सो भाषण उपहारस्वरूप हस्तान्तरण गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाको कार्यकालमा सन् १९६० मा इजरायलसँग दौत्य सम्बन्ध स्थापना भएको थियो । सन् १९४८ मा राज्यका रूपमा स्थापित इजरायलसँग बिपी कोइरालाले सिंगो विश्वले स्वतन्त्र अस्तित्व स्वीकार नगरिसकेको अवस्थामा स्वतन्त्र राष्ट्र स्वीकार गर्दै दौत्य सम्बन्ध स्थापना गरेका थिए । 

सो दौत्य सम्बन्ध कायम भएपछि सन् १९६० को १५ अगस्टमा इन्टरनेसनन कन्फ्रेन्स अन साइन्स इन द एडभान्समेन्ट अफ न्यू स्टेट्सको प्रमुख अतिथिको हैसियतमा उद्घाटन गर्दै बिपी कोइरालाले गरेको भाषण राष्ट्रपति पौडेललाई राजदूत गोदेरले उपहारस्वरूप हस्तान्तरण गरेका हुन् । 

राजदूत गोदेरले सो भाषण धेरै मेहनतसाथ खोजी गरेर आफूले फेला पारेको र बिपी कोइरालाकै अनुयायी नेपालको राष्ट्रप्रमुख भएका वेला हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताएका थिए । 

सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेलले बिपीको ऐतिहासिक दस्ताबेज उपहार उपलब्ध गराएकोमा धन्यवाद दिए ।

‘फरक खालको स्थिति भएको हुँदा तेस्रो विश्वका देशहरूले आर्थिक विकासका लागि प्रजातन्त्रलाई स्वीकार गरेका छैनन् । त्यसैकारणले आर्थिक विकास प्रजातान्त्रिक प्रणालीबाट हुन्छ कि तानाशाही प्रणालीबाट हुन्छ भन्ने बहस आज जारी छ,’ बिपीको सो भाषण उदृत गर्दै पोखरेलले भने, ‘सही प्रतिपक्षको अभाव र मनोवैज्ञानिक पूर्णता नहुँदा स्वतन्त्रतापछि पनि तानाशाहीतन्त्र प्रख्यात भएको छ । सुस्तगतिमा हुने प्रगतिले संघर्ष गरिरहेको प्रजातान्त्रिक प्रणालीले तानाशाहीतन्त्रलाई अवसर दिएर जनताको विकासप्रतिको कल्पना आकर्षित गर्दछ ।’

प्रजातन्त्र राजनीतिक प्रणालीको रूपमा वा जीवन पद्धति प्रयोगको रूपमा यी देशहरूमा परीक्षणको रूपमा रहेको पनि बिपीले सो सम्बोधनमा उल्लेख गरेका छन् । 

‘नेपाल एसिया र अफ्रिकाका मुलुकहरूजस्तै होइन जसले साम्राज्यवाद र उपनिवेशवादको सिकार भए । र, उनीहरूले आफ्नो आस्मिता मात्र गुमाएनन् अपितु बाह्य शक्तिबाट शोषित पीडित भए,’ सो भाषण उदृत गर्दै पोखरेलले भने, ‘नेपाललगायत अफ्रिकी तथा एसियाका नयाँ प्रजातन्त्र, सम्प्रभुता र स्वतन्त्रता प्राप्त राष्ट्रहरूले नयाँ चुनौतीहरू सामना गरिरहनुपरिरहेको छ, ती चुनौतीहरूमध्ये गरिबी सबैभन्दा महत्वपूर्ण हो । यदि भर्खरै प्रजातन्त्रिक व्यवस्था अँगालेका राष्ट्रहरूले गरिबीको समस्या समयमा नै हल गर्न सकेनन् भने भर्खरै प्राप्त स्वतन्त्रता र सम्प्रभुताको कुनै अर्थ हुँदैन नै, अर्कोतर्फ तानाशाही र साम्यवादले गरिबीलाई आफ्नो शिर उठाउने अवसरका रूपमा लिनेछन् ।’ 

भाषणमा बिपीले त्यही कारण विकसित प्रजातान्त्रिक समाजवादी राष्ट्रहरूले एसिया र अफ्रिकाका भर्खरै प्रजातान्त्रिक व्यवस्था अँगालेका ती राष्ट्रहरूलाई साम्यवाद वा तानाशाहीको विकल्पबाट जोगाउन सक्नुपर्ने पनि उल्लेख गरेका छन् । 

राजदूत गोदेरसँगको भेटमा राष्ट्रपतिले इजरायल सरकारले नेपाललाई रोजगारी तथा कृषि तथा सहकारी क्षेत्रमा गरेको सहयोग प्रदान गरेकोमा खुसी व्यक्त गरेका थिए । (रासस)