१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० भदौ २६ मंगलबार ११:३२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

किन हुन्छ उच्च रक्तचाप, कसरी गर्ने नियन्त्रण ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० भदौ २६ मंगलबार ११:३२:००

रक्तचाप कहिले बढी त कहिले कम भइरहन्छ । रक्तचाप बढेको अवस्थामा मुटु र रक्तनलीमा लामो समयसम्म दबाब पर्छ । जसले गर्दा मुटुमा नकारात्मक असर पार्नुका साथै विभिन्न स्वास्थ्य समस्यासमेत निम्तिन्छन् । 

लक्षण
अधिकांशमा उच्च रक्तचापको लक्षण देखा पर्दैन । यद्यपि, शरीरभित्र असर पुगिरहेको हुन्छ । कतिपयमा रिंगटा लाग्ने, मुटुको धड्कन र नाडीको गति बढ्ने लक्षण देखिन्छन् । त्यस्तै, कतिपयमा सास फेर्न गाह्रो हुने, नाकबाट रगत बग्ने र बेहोस हुनेजस्ता लक्षण देखा पर्छन् । 

कारण
- उच्च रक्तचापका विभिन्न कारण हुन्छन् । कुनै–कुनै अवस्थामा कारण थाहा नहुन पनि सक्छ, वंशानुगत, हर्मोनल फ्याक्टर, भास्कुलर फ्याक्टरलगायत कारणले पनि उच्च रक्तचाप हुन्छ । 

- अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, तनावयुक्त वातावरण तथा स्वास्थ्यप्रतिको बेवास्ताजस्ता कारणले रक्तचाप बढ्ने गर्छ । 

- खानामा नुनको बढी प्रयोग, मसालेदार खानेकुरा, मासु वा बोसोजन्य पदार्थ तथा चिल्लो, अमिलो र पिरो बढी खानाले रक्तचाप बढ्छ । 

- धूम्रपान–मद्यपान गर्ने मानिसमा उच्च रक्तचाप हुने सम्भावना धेरै हुन्छ । 

- तौल नियन्त्रण गर्न नसकेमा अर्थात् मोटोपनाको समस्या भएका मानिसमा पनि यसको जोखिम रहन्छ । त्यस्तै, अनिद्राले पनि रक्तचाप बढाउँछ । 

कस्तो अवस्थामा औषधि सेवन गर्ने ? 
- सामान्यतया १२०/८० एमएमएचजीदेखि १३९/८९ एमएमएचजीसम्मको अवस्था प्रि–हाइपरटेन्सन वा उच्च रक्तचाप हुनुभन्दा अघिको अवस्था हो । यस अवस्थामा औषधि सेवन गर्न जरुरी छैन । तर, यसभन्दा माथि अर्थात् १४०/९० देखि माथिको अवस्था उच्च रक्तचाप हो । यो अवस्थामा चिकित्सकको परामर्शमा औषधि सेवन गर्नुपर्छ । किनकि, उच्च रक्तचापले ठूलो हानि गर्न सक्छ ।

- धेरैले उच्च रक्तचाप भएपछि बाँचुन्जेल औषधि खानुपर्छ भन्ने डरले हत्तपत्त औषधि सुरु गर्न मान्दैनन् । तर, औषधि नियमित नगर्दा स्वास्थ्यमा गम्भीर स्वास्थ्य समस्या देखिने खतरा हुन्छ । मस्तिष्कघात, हृदयाघात, मिर्गाैला, आँखामा समेत हानि गर्ने भएकाले उच्च रक्तचाप नियन्त्रण गर्नुपर्छ । यसका लागि चिकित्सकको सल्लाहअनुसार नियमित रूपमा औषधि सेवन गर्न आवश्यक हुन्छ । औषधि खान डराउँदा धेरै बेफाइदा हुन सक्छ । औषधि सेवनपछि बिस्तारै ब्लडप्रेसर घट्दै गएमा औषधिको मात्रा घटाउँदै लगेर बन्द गर्नसमेत सकिन्छ । 

- उच्च रक्तचापले मिर्गाैला फेल हुने जोखिम रहन्छ । प्रेसर बढ्यो भने मुटुमा दबाब बढ्छ र हृदयाघातको जोखिम बढ्छ । प्रेसरले ब्रेनको नसा फुट्ने जोखिम पनि रहन्छ । नसा सुक्यो भने प्यारालाइसिस पनि हुन्छ । ब्रेनको नसा सुकेर रक्तसञ्चार बन्द भयो भने स्ट्रोक पनि हुन सक्छ । आँखा धमिलो हुने, आँखाको रेटिनामा ब्लिडिङ हुनेलगायत समस्या देखिन सक्छ । यसरी उच्च रक्तचापले विभिन्न अंगमा क्षति पुर्‍याउँछ । त्यसैले यस्तो जोखिमबाट बच्नका लागि पनि चिकित्सकको परामर्शमा नियमित औषधि खाने तथा रक्तचाप नियन्त्रणमा राख्ने उपाय अवलम्बन गर्नुपर्छ । 

बच्ने उपाय
-  निरोगी मानिसले पनि नियमित प्रेसर परीक्षण गर्नुपर्छ । कम्तीमा पनि महिनाको एकपटक प्रेसर चेकअप गर्नुपर्छ । 

- स्वस्थ जीवनशैली अपनाउनुपर्ने हुन्छ । खानपानमा विशेष ध्यान दिनुपर्छ । नियमित व्यायाम गर्नुपर्छ । धूम्रपान तथा मद्यपानबाट टाढा रहनु अपरिहार्य छ ।