१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o८:४३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

डिजेल अपचलन गर्नेलाई धरौटीमा छाड्न आदेश      

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:४३:oo

नेपाल आयल निगम लिमिटेडको गण्डकी प्रादेशिक कार्यालय, कास्की (गगनगौँडा)मा भएको डिजेल अपचलन घटनामा संलग्न पेट्रोलपम्प व्यवसायी बाबुराम जमरकट्टेल, गण्डकी–धौलागिरि पोट्रोलियम डिलर्स एसोसिएसनका कार्यालय सचिव जगन्नाथ ढुंगाना र ट्यांकरचालक निर्मल थापालाई धरौटीमा छाड्न जिल्ला अदालत, कास्कीले आदेश दिएको छ ।

न्यायाधीश केशवप्रसाद बाँस्तोलाको एकल इजलासले न्यायिक हिरासतमा रहेका तीनैजनालाई धरौटीमा छाड्ने आदेश दिएको अदालतका शाखा अधिकृत दुर्गाप्रसाद रिजालले बताए । ट्यांकरधनीसमेत रहेका जमरकट्टेललाई एक लाख ५० हजार, ढुंगानालाई एक लाख र चालक थापालाई ७५ हजार धरौटीमा छाड्न आदेश दिएको उनले बताए । डिपो प्रमुख दास हालसम्म फरार रहेकाले उनको विषयमा अदालतले कुनै फैसला गरेको छैन । अदालतले उनलाई हाजिर हुन चाँडै लिखित पत्राचार गर्नेछ ।

२५ साउनमा पोखरा डिपोबाट १२ हजार लिटर डिजेलको पैसा तिरेर निस्केको ट्यांकरलाई जिल्ला प्रशासन कार्यालय, कास्कीको अनुगमन टोलीले नियन्त्रणमा लिई जाँच गर्दा १५ हजार दुई सय लिटर डिजेल फेला परेको थियो । तोकिएभन्दा तीन हजार दुई सय लिटर बढी डिजेल अपचलन गरेको घटनामा प्रहरीले विस्तृत अध्ययन गरी आयल निगमको तत्कालीन डिपो प्रमुख चित्तरञ्जन दाससहित तिनैजनालाई कारबाहीका लागि मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन दिएको थियो ।

प्रहरी प्रतिवेदनपछि तेल अपचलन घटनामा निलम्बित डिपो प्रमुख दासलाई मुख्य आरोपीका रूपमा प्रस्तुत गर्दै कम्तीमा पाँच वर्ष जेल सजाय र ५० हजार रुपैयाँ जरिवाना माग दाबी गरी सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो भने तीनजना व्यवसायीलाई जनही तीन वर्ष जेल सजाय वा ३० हजार जरिवाना वा दुवै सयाजको माग दाबी गरी मुद्दा दायर गरिएको थियो ।

१० वर्षअघि डिजेल चोरी घटनाकै पुनरावृत्ति
१० वर्षअघि ०७१ वैशाखमा रुपन्देहीको भलबारीस्थित आयल निगमको डिपोछेउ पडसरी र मधबलियामा राष्ट्रिय सतर्कता केन्द्र र रुपन्देही प्रहरीले संयुक्त रूपमा छापा हानेर डिजेल चोरी गर्दै गरेको अवस्थामा १४ वटा ट्यांकर र १९ जना ट्यांकरचालक–सहचालकलाई पक्राउ गरेको थियो । त्यतिवेला प्रहरीले रंगेहात समातेको ठाउँमा १४ हजार लिटर डिजेल चोरी गरेर जमिनमुनि भण्डारण गरेको फेला पारेको थियो ।

रुपन्देहीस्थित जिल्ला अदालतले यस घटनाका केही अरोपितबाहेक अधिकांशलाई सुरुमा धरौटीमा छाड्ने आदेश दिएर पछि सफाइ दिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान गरेर डिपोमा कार्यरत आठ कर्मचारीसहित डिजेल चोरीमा संलग्न ९७ जनाविरुद्ध विशेष अदालतमा दायर गरेको थियो । तत्कालीन डिपो प्रमुख नागेन्द्रकुमार कुर्मी, अपरेसन विभागमा कार्यरत रविनकुमार रावत र दीपेन्द्र बस्नेतबाहेक सबैले विशेषबाट सफाइ पाएका थिए ।

यो घटनामा अख्तियारले डिपोमा कार्यरत अजितकुमार पोख्रेल, कौशवराज आचार्य, दीपकप्रसाद घिमिरे, रामभक्त कार्की र देवेन्द्रबहादुर केसीको प्रत्यक्ष संलग्नता भएको दाबीसहित कडा कारबाहीको माग गरेको थियो । यी कर्मचारीमध्ये घिमिरेले २ माघ ०६९ देखी १५ असार ०७० सम्म साढे पाँच महिना अपरेसन विभागमा काम गर्दा ट्यांकरलाई तेल चोर्न सघाएबापत प्रतिट्रिप एउटा ट्यांकरबाट १० हजार रुपैयाँसम्म असुल्ने गरेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो । मुद्दा खेपेर सफाइ पाइसकेका घिमिरे अहिले बढुवा भएर सातौँ तहमा निगममै कार्यरत छन् ।विशेषको फैसला चित्त नबुझेपछि अख्तियारले सबै प्रतिवादीविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएको छ । हाल विचाराधीन रहेको मुद्दाको आगामी पेसी २६ मंसिरलाई तोकिएको छ ।