१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
न्वागी पर्वको दिन मध्यरातमा एकपाखे ढ्याङ्ग्रो बजाउदै फलाक्दै धादिङ गजुरी गाउँपालिका– ५ च्याङ्लीका चेपाङ झाक्रीहरू । तस्बिर : अर्जुन श्रेष्ठ/नयाँ पत्रिका
२०८० भदौ २२ शुक्रबार २३:०३:००
Read Time : > 4 मिनेट
समाचार डिजिटल संस्करण

धादिङको च्याङ्लीमा ‘न्वागी पर्वकाे राैनक

Read Time : > 4 मिनेट
२०८० भदौ २२ शुक्रबार २३:०३:००

मध्येरात बन्द कोठा, गलामा रुद्राक्षको माला, एकपाके ढ्याङ्ग्रो बजाउदै फलाक्दै गरेका चेपाङ (पान्दे) झाँक्रीहरू । चेपाङ पोशाकमा महिलाहरू फुलबुट्टे चौबन्दि चोली, पुरुषहरू भोटो कछाड, इष्टकोट टोपी र जावीले सजिएका छन् । 

न्वागी मनाउन आएका धादिङ लगायत छिमेकी जिल्लाहरूका मानिसहरूको भिडभाड छ । झाँक्रीहरू भन्छन्,–‘नयाँ बाली खान र नयाँ वर्षको रुपमा न्वागी बनाउने क्रममा रातभर ढ्याङ्ग्रो बजाउँदै फलाकेर अनिष्ट हुनबाट बच्न पितृ र भूमिलाई पुजा गरी न्वागी मनायौँ ।’ 

धादिङको गजुरी गाउँपालिका–५ बरभञ्ज्याङका राजकुमार चेपाङ पितृ र भुमिलाई खुषी पार्न न्वागी मनाउने गरेको बताए । ढ्याङ्ग्रो ठोक्दै फलाक्दै गरेका उनले भने– ‘नयाँ बाली पाकेपछि पितृलाई नबुझाइ खाँदा पितृ रिसाउने, अनिष्ट हुने भन्ने जनविश्वास रहेकाले हामी झाँक्रीहरू रातभर फलाकेर पितृ बुझाउने र अन्न फलाउने भूमिलाई धन्यवाद दिने गर्छौं ।’ 

नयाँ बाली पितृलाई नबुझाइ र अन्न फलेको भूमिको पूजा नगरी खायो भने कुल रिसाउँछ, मानिस बिरामी पर्छ, अनिष्ट हुन्छ । त्यसैले पितृलाई बुझाएर मात्र हामी खाने गर्छौं ।’

जति रात छिप्पिदै गयो ढ्यांग्रो, घण्टी र फलाक्ने क्रम झन बढ्दै जान्छ । रातभर जाग्राम बस्ने र मिरमिरेमा झाँक्रीले विसर्जन गरेपछि खेतबारीमा उब्जनी भएको अन्नपात खान मिल्ने उनीहरूकोे संस्कार रहेको छ । त्यसैले पनि नेपालका सीमान्तकृत चेपाङ समुदायले मनाउने न्वागी पर्व निकै रमाइलो र चाखलाग्दो छ । 

चेपाङ अर्थात् प्रजा समुदायले मनाउने यो ‘न्वागी’ राष्ट्रिय पर्व हो । चेपाङ भाषामा ‘न्वागी’ भनेको ‘छोनाम’ हो । पितृ बुझाउने र भूमि पूजा गर्ने पर्वको रूपमा परिचित यो पर्वमा आफ्ना कुलभरिमा मानिस मुल झाँक्रीको घरमा जम्मा भएर झाँक्री फलाक्ने गर्दछन् । यो पर्वमा विशेष गरी घैया धान, गाभा, निबुवा, घिरौला लगायत कन्दमूल र तरकारी पितृलाई बुझाएर अन्न फलाउने भूमिलाई पूजा गर्ने प्रचलन रही आएको छ ।

चेपाङ समुदायले आफ्नो प्रमुख चाडको रूपमा हरेक वर्ष भदौ २२ गते न्वागी पर्व मनाउँदै आएको नेपाल चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङले बताए । यस वर्ष देशैभरका चेपाङ समुदाय न्वागी मनाउन धादिङ च्याङ्ली आइपुगेका थिए । 

उनले भने, ‘भदौमा नयाँ अन्नवाली, फलफूल पाकेपछि पूजा गर्ने परम्परा रहेको छ । चेपाङ झाँक्री (पान्दे)हरूले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउने प्रचलन छ । 

पितृ नबुझाई र अन्न उत्पादन गराइ दिएकामा भूमिलाई धन्यवाद नदिई नयाँ बाली खाएमा अनिष्ट हुन्छ, अशुभ हुन्छ, पितृ रिसाउँछ भन्ने धार्मिक विश्वास छ । त्यसैले, यो पर्वमा झाँक्री बसेर रातभर सिमेभुमे फालाकेर मात्रै खानुपर्छ भन्ने मान्यता परापूर्वकालदेखि नै चलिआएको हो,’ उनले भने । 

राष्ट्रिय जनगणना ०७८ अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन् । सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो । महाभारत पर्वत शृङ्खला वरिपरिको रैथाने बासिन्दा मानिन्छन् । मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङहरूको घना बसोबास छ । 

चेपाङ समुदायको जनसंख्या सबैभन्दा धेरै चितवन, मकवानपुर र धादिङमा बाहुल्यता छ । गोरखा, तनहु र लम्जुङमा पनि चेपाङ समुदायको बाक्लो बसोबास छ । इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाडौं, कास्की, गुल्मी, नवलपरासी, रूपन्देही, दाङ, बाँके र बर्दिया गरी २६ जिल्लामा चेपाङ जातिको बसोबास रहेको उनले बताए ।

न्वागीमा छरछिमेकी, नाताकुटुम्व आमन्त्रण गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख–दुःख साट्ने गरिएको नेपाल चेपाङ संघका केन्द्रीयसचिव एवं धादिङको गजुरी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुरेन्द्र चेपाङले बताए । 

‘ठाउँ र कूलअनुसार पनि न्वागी मनाउने चलन फरक–फरक छ । चेपाङले न्वागी पर्वलाई ‘पान्देई घ्यासा’ चाड पनि भन्छन् । भेला भएर ढ्यांग्रो बजाउने, टीका लगाएर आपसमा आशीर्वाद थाप्ने गरिन्छ । 

न्वागीको दिनलाई चेपाङहरूले वारनाको रूपमा मनाउने वारनामा कोही चेपाङ काममा निस्कँदैनन् । यो वर्ष पनि वर्षभरि मृत्युवरण गरेका परिवारका सदस्य र आफन्तको नाममा बिहीबार रातभर ढ्यांग्रामा फलाकेर शुक्रबार बिहान न्वागी पूजा गरिएको छ ।

यस वर्षमा देशै भरका चेपाङ समुदायहरू धादिङमा भेला भएका छौँ । हरके वर्ष फरक फरक जिल्लामा मनाउने क्रममा यस वर्ष धादिङमा मनाइएको उनले बताए । ‘चेपाङ समुदायले पर्वका रुपमा हरेक वर्ष भदौ २२ गतेलाई मनाउने भए पनि आ–आफ्नो कुलभित्र भने भदौ महिना लागेदेखि फलाक्न सुरु गर्छन् । कुल र भूगोलअनुसार साना–साना समूहमा पनि झाक्री फलाक्ने र न्वागी मनाउने चलन छ,’ उनले भने । 

प्रकृति पुजकको रूपमा पनि चेपाङ जातिलाई चिनिन्छन् । सिमेभुमेलाई बुझाएर मात्रै पाकेका अन्नवाली खाने गर्छन् । जल, जंगल र जमिन चेपाङ जातीको जिविको पार्जनको मुख्य स्रोत हो । जमिनमा खोरिया खन्ने, जंगलमा सिकार गर्ने र जलमा बल्छी र जाल हानेर माछा मारी जिविको धान्ने चेपाङको परम्परागत विशेषता भएको उनले बताए ।

साँझ झाँक्री बसेको ठाउँबाट झाँक्रीसहितको ¥यालीसहित कार्यक्रम स्थल पुगेको थिए । कार्यक्रममा चेपाङ समुदायको भेष भुषमा सजिएर आएका थिए । चेपाङ जाति झल्किने एक पाखे ढ्यांग्रो बजाएर प्रस्तुति दिएका हुन् ।   

चेपाङ भाषाबाटै ‘धादिङ’को नाम रहेको दावी
धादिङ जिल्लाको नाम पनि चेपाङ भाषाबाटै राखिएको भन्ने कथन छ । चेपाङले ‘धा’ भनेको ‘आगोको ज्वाला’ र ‘दिङ’ भनेको ‘देवी देउता चथौत माटो’ हो, यसैलाई मिलाएर धादिङ नाम बसेको हो,’ चेपाङ संघ धादिङका अध्यक्ष भीमबहादुर चेपाङको भनाई छ ।

न्वागीलाई माटो पुजाको रुपमा पनि लिएका छन् । चेपाङ समुदायको थातथलो नै महाभारत क्षेत्र हो । चेपाङहरू पहिलादेखि नै धादिङ, चितवन र मकवानपुरको सिमाना महाभारत शृङ्खलामा बसोबास गरेको र उनीहरूले पूजा गर्ने ज्वालामुखी देवीको मन्दिर पनि धादिङ जिल्लामा रहेकाले चेपाङ भाषाबाट नै जिल्लाको नाम ‘धादिङ’ रहन गएको हो भन्ने जनश्रुतिले यहाँ जनसमर्थन पाएको छ ।

चेपाङ जातिलाई भौगोलिक सिमानाभन्दा सामाजिक तथा सांस्कृतिक सिमानाले बाँधेको छ । जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित छ ।

चेपाङ जातिलाई मूल धारमा ल्याउनपर्छ : मुख्यमन्त्री जम्कट्टेल
चेपाङ समुदायलाई विकासको मूलधारमा पुर्याउन बागमती प्रदेश सरकार प्रतिवद्ध रहेको बागमती सरकारको मुख्यमन्त्री शालिकराम जम्कट्टेले बताए । न्वागी पर्वको अवसरमा धादिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

‘अरु समुदाय सरह विकासको मूलधारमा पुर्याउन चेपाङ समुदायको विकास गर्न कार्यदल बनाएर अघि बढ्नेछौँ । चेपाङ समुदायको विकासका लागि संघिय सरकारसँग पनि समन्वय गरिरहेका छौँ । अहिले गाउँमा विजुली बत्ती बाल्ने काम ग¥यौं । क्रमिक रुपमा सडक सञ्जाल, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम भैरहेका छन्,’ मुख्यमन्त्रीले भने, ‘चेपाङ समुदायको चेपाङ, चिउरी र चमेरो सर्किट बनाउ पर्छ । यो समुदायको विकासका लागि भनेर बजेट छुट्याएका छौँ ।’ 

उनले विशेष संरक्षित क्षेत्र र स्वयत्त क्षेत्र संविधानमा व्यवस्था भएको कारण संघीय सरकारले पनि निर्णय गर्नुपर्ने बताए । ‘हामीले प्रस्ताव राखेका छौँ । यो कार्यान्वयनमा लैजान बागमती सरकार लागेको छ । संरक्षित क्षेत्रमा दिने कार्यक्रम के हो ? यो कुरा प्रष्ट हुनुपर्छ । कार्यविधि बनाएर अघि बढाउँदैछौँ । चेपाङ समुदायको विकासमा हामी सदैवसँगै छौँ,’ उनले भने । 

आदमघाट वैकुण्ठ मनोहरी सडकलाई वैकल्पिक राजमार्गको रूपमा विकास गर्न निर्माण कार्य भइरहेको उनले बताए । ‘रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लालाई प्रदेश राजधानी हेटौँडा जोड्न छोटो पर्दछ । यस मार्गका आसपासका क्षेत्रमा चेपाङ समुदायको बसोबास रहेको छ । राजमार्गको रूपमा विकास भएपछि चेपाङ समुदायको विकासमा टेवा पुग्नेछ,’ उनले भने ।

कार्यक्रममा बोल्दै धादिङबाट निर्वाचित सांसद रामनाथ अधिकारीले महाभारत शृंखलाको कुना कन्दरामा बसोबास गर्ने चेपाङसहित अन्य जातजातिको विकासको लागि सबै मिलेर लागि पर्नुपर्ने बताए । ‘रिठ्ठा र भ्याकुर खाने जातजातिका लागि सबै राजनितिक दल एक भएर संकल्प गरौँ । अब तीन वर्ष विकास गरौँ, चौथौ वर्ष अर्थात चुनाव वर्ष राजनिति गरौँला भन्ने सोच सबै राजनीतिक दलले राखेर अघि बढ्औँ,’ उनले भने, ‘दूरदराजमा रहेका गरिवको पनि उत्थान हुनेछ ।’ 

 

फोटो क्याप्सनहरू
- आफ्नो भेषभुषामा सजिएका चेपाङ महिला तथा युवतीहरू ।
- कार्यक्रमको सम्बोधन गर्दै बागमती सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल । 
तस्बिर : अर्जुन श्रेष्ठ/नयाँ पत्रिका