
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवासम्बन्धी विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगरिएको बताएका छन्।
शुक्रबार सिंहदरबारमा आयोजित २०औँ निजामती सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ट्रेड युनियन अधिकारको कुरा कटौती भयो भन्ने प्रश्न उठेको भन्दै प्रधानमन्त्रीले विधेयकमा भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन नगरेकाले ढुक्क हुन आग्रह गरे।
‘राजनीतिक दलहरूको सहमतिबाट संसद्ले उक्त विधेयक यथाशक्य छिटो पारित गर्ने विश्वास लिएको छु । ट्रेड युनियन अधिकारको कुरा उठ्यो, हामीले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन गरेका छैनौँ, यसमा ढुक्क हुनुस्,’ उनले भने।
अहिलेको राजनीतिक परिवर्तन र संविधानको व्यवस्थाअनुरूप नै निजामती प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक रहेको प्रधानमन्त्रीले प्रस्ट पारे। लामो समयदेखि प्रतिक्षारत संघीय निजामती सेवासम्बन्धी विधेयक बिहीबारको मन्त्रिपरिषद् बैठकले संसदमा पठाउने निर्णय गरिसकेको छ।