
निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कटुवालले संघीय निजामती ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्ने चेतावनी दिएका छन्।
शुक्रबार सिंहदरबारमा २०औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्। ऐनमा ट्रेड युनियन अधिकारलाई खुम्च्याउने प्रयास भएको कुरा सुनिएको भन्दै कटुवालले आफूहरूको अधिकार छाँटकाँट गर्ने कुरा किमार्थ स्वीकार्य नहुने बताए।
संघ, प्रदेश र स्थानीय तहमै फराकिलो वृद्धि विकाससहितको कर्मचारीमैत्री संघीय निजामती ऐन ल्याउन उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
‘२०७५ सालमा समायोजन बिग्रिएको थियो। समायोजन कर्मचारीको पक्षमा भएको थिएन। एकपटकलाई संघ, प्रदेश, स्थानीय तीन तहमै समायोजन रोज्न सबै कर्मचारीलाई दिनुपर्छ र समायोजन रिभ्यु हुनुपर्छ। बन्द–हड्तालसहितको ट्रेड युनियन अधिकार हामीले प्राप्त गरेका छौँ, यो अधिकार जस्ताको त्यस्तै रहनुपर्छ,’ उपाध्यक्ष कटुवालले भने।