१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फ्रन्ट पेज प्रिन्ट संस्करण

कान्तिमा बालिका मृत्यु प्रकरण : दोषीलाई कारबाही गर्न सांसदहरूको माग, सभामुखको रुलिङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o५:५८:oo

सांसदहरूले कान्ति बाल अस्पतालमा उपचार नपाएर पाँच वर्षीया बालिका रेजिशा गोपालीको ज्यान गएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । 

लगातारको बान्ता र ज्वरोले थलिएकी रेजिशालाई गत सोमबार आमा र हजुरबुबाले उपचारका लागि कान्ति अस्पतालको इमर्जेन्सी कक्षमा पुर्‍याएका थिए । तर, दुई घन्टासम्म पनि उपचार नपाउँदा अबोध बालिकाले अकालमै प्राण त्यागेकी थिइन् । यसबारे बुधबारको नयाँ पत्रिकामा प्रमुख समाचार प्रकाशित भएको थियो । 

प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वस्वास्थ्यमन्त्री एवं कांग्रेस सांसद गगन थापाले आफू स्वास्थ्यमन्त्री भएको वेला अत्यावश्यक सेवा लिन लाइनमा नबस्नुपर्ने गरी बनाएको नियम अस्पताल प्रशासनले अहिले मान्न छाडेको दाबी गरे । ‘कान्ति बाल अस्पतालमा लाइन बसिरहेको एउटा हजुरबुवाले आफ्नी नातिनीको उपचार गराउन नसक्दा मृत्यु भएको भन्नुभएको छ । मैले समाचारमा पढेँ नियम बनाउनुपर्नेछ,’ उनले भने, ‘म स्वास्थ्यमन्त्री भएकै वेला नियम बनेको थियो, अस्पतालमा अत्यावश्यक सेवा लिने मान्छेले लाइन बस्नै पर्दैन । त्यो नियम छ । तर, अहिले नियम छैन भनेर ढाकछोप गर्न खोजिएको छ ।’ उनले यसबारे सत्यतथ्य छानबिन गरेर सदनलाई जानकारी गराउनुपर्ने माग गरे । 

पाँच वर्षीया बालिका रेजिशा गोपाली

एमाले सचेतक महेश बर्ताैलाले घटनाले अस्पतालभित्रको बेथिति झल्काएको र निर्देशकले जिम्मा लिनुपर्ने बताए । ‘वैदेशिक रोजगारीमा पोर्चुगल गएको बुवाको सपना कान्ति बाल अस्पतालको लापर्बाहीका कारण चकनाचुर भयो,’ उनले भने, ‘चरम गैरजिम्मेवारीपनले पाँच वर्षको बच्चाको मृत्यु भयो । यसले अस्पतालभित्रको बेथिति देखाउँछ । निर्देशक र अस्पताल विकास समितिले यसको जिम्मेवारी लिनुपर्छ । स्वास्थ्यमन्त्रीले जवाफ दिनुपर्छ । पीडितलाई  अविलम्ब न्याय र क्षतिपूर्ति दिनुपर्ने माग गर्दछु ।’

रास्वपा सांसद चन्दा कार्की भण्डारीले अस्पतालमा जनशक्ति र संरचनाको अभाव हुँदा पनि सरकार सुतेर बसेको आरोप लगाइन् । ‘आमाको कोख रित्तियो, परदेशमा बुवाको सपना चकनाचुर भयो,’ उनले भनिन्, ‘जनशक्ति र संरचनाको अभाव हुँदा सरकार सुतेर बसेको छ, बजेट काटेको छ । अस्पतालमा निर्देशक पनि भागबन्डामा नियुक्त गरिन्छ, चिकित्सकलाई मात्र दोष दिएर सरकार उन्मुक्त हुन पाउँदैन, इमान्दारपूर्वक छानबिन होस्, गोपाली परिवारले न्याय पाओस् ।’

राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गणतन्त्र आएपछि अस्पताल संरचनाको निर्माण नभएको भन्दै अस्पताल संरचना बनाउनुपर्ने बताए । ‘गणतन्त्र आएपछि एउटा अस्पताल बन्न सकेको छैन,’ उनले भने, ‘अस्पताल नबनाउने अनि संसद्मा आएर कुर्लिएर हुँदैन, अस्पताल बनाऊ, त्यसपछि मात्र देश विकास गर्न सकिन्छ ।’

रास्वपाकै सुमना श्रेष्ठले कान्ति बाल अस्पतालमा जे भयो, त्यो नेपालकोे सिस्टमको असफलता भएको बताइन् । ‘जहिले पनि क्षतिपूर्ति दिने, ठूलो ठूलो भाषण गर्ने, थामथुम गर्ने,’ उनले भनिन्, ‘भागबन्डाका आधारमा निर्देशक नियुक्त हुन्छ कि मेरिटको आधारमा हुन्छ ? यी हाम्रो सिस्टमेटिक असफलता हुन् ।’ उनले हाल कान्तिमा ६८ प्रतिशत नर्सिङ जनशक्तिको अभाव देखिएको बताउँदै यसले देशको राजधानीमा प्राथमिक उपचार केन्द्रको अवस्थाको चित्रण गरेको बताइन्। घटनाबारे छानबिनका लागि सार्वजनिक दबाबपछि अस्पतालका निर्देशक डा. पंकज रायले तीनसदस्यीय छानबिन समिति गठन गरेका थिए ।