मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण ९ बुधबार
  • Wednesday, 21 February, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०८० भदौ २० बुधबार ०६:३२:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दुई घन्टा कुर्दा पनि उपचार नपाएर कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमै बालिकाको मृत्यु

Read Time : > 4 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० भदौ २० बुधबार ०६:३२:००

निरन्तरको बान्ता र ज्वरोले थलिएकी पाँच वर्षीया रेजिशालाई उपचारका लागि इमर्जेन्सीमा ल्याएका आमा र हजुरबुबालाई अस्पतालका कर्मचारीले डाक्टरकहाँ पठाउनुकोे सट्टा टिकट काटेर पालो कुर्न अह्राए । बिरामीको गम्भीरता बुझिदिन उनीहरूले हारगुहार गरिरहे, तर कसैले सुनेनन् । उपचारको पर्खाइमा दुई घन्टासम्म संघर्ष गरिरहेकी अबोध बालिकाले अन्ततः हजुरबुबाको काखमै तड्पिँदै प्राण त्यागिन् ।

गम्भीर अवस्थाका बिरामी पुग्नेबित्तिकै उपचार सुरु गर्ने र उच्च निगरानीमा राख्ने ठाउँ हो, अस्पतालको आकस्मिक (इमर्जेन्सी) कक्ष । तर, बालबालिकाका लागि देशकै विशिष्टीकृत मानिएको कान्ति बाल अस्पतालको इमर्जेन्सीमा दुई घन्टासम्म छटपटाउँदा पनि उपचार नपाएर एक बालिकाको ज्यान गएको छ । उच्च ज्वरो र निरन्तरको बान्ताले शिथिल बनेकी बालिकालाई हजुरबा र आमाले तत्काल उपचार गरिदिन पटक–पटक अनुनय गर्दा पनि इमर्जेन्सी विभागका कर्मचारीले पालोमा कुराउँदा अप्रिय घटना भएको हो । 

काठमाडौंको बाफल बस्ने मकवानपुर थाहा नगरपालिका– १० की पाँच वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो आएपछि आमा रिता गोपाली र हजुरबा कृष्णबहादुर गोपालीले सोमबार साँझ ५:०० बजे कान्तिको इमर्जेन्सी कक्षमा पुर्‍याएका थिए । इमर्जेन्सीमा बिरामीको भिड थियो । कृष्णबहादुरले नातिनीको अवस्था जटिल बन्दै गएकाले तत्काल उपचारको व्यवस्था मिलाइदिन इमर्जेन्सी कक्षमा खटिने सेक्युरिटी गार्डलाई बिन्ती गरे । त्यहाँ डाक्टरबाहेक व्यवस्थापन मिलाउने सेक्युरिटी नै थिए ।

रेजिशा गोपाली जसले अस्पतालको लापरबाहीले ज्यान गुमाइन्

तर, सेक्युरिटीले टिकट काटेर पालोमा बस्न आदेश दिए । टिकट लिने प्रक्रिया पनि उस्तै लम्बेतान, कृष्णबहादुरले काउन्टर नम्बर १ मा गएर टिकट लिँदा ५:४२ बजिसकेको थियो । पालो ६३ नम्बरमा पर्‍यो, जब कि त्यतिवेलासम्म डाक्टरले १५ नम्बरसम्मका बिरामीलाई मात्रै हेरेका थिए । रेजिशालाई भने ज्वरोले गालेर लल्याकलुलुक बनाउँदै थियो । कृष्णबहादुरले नातिनीको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै पालो अगाडि सारिदिन सेक्युरिटी गार्डसामु हात जोडे ।

अस्पतालको सुरक्षामा खटिएका प्रहरीले पनि पालो अगाडि सारिदिन आग्रह गरेका थिए । तर, बिरामीको ज्यान तलमाथि होला भन्नेमा होइन, कसैको पालो तलमाथि होला कि भन्नेमा निर्मम बन्यो अस्पताल प्रशासन, किनभने त्यो कान्ति बाल अस्पतालको इमर्जेन्सीमा स्थापित कठोर नियम हो । जतिसुकै गाह्रो भए पनि पालोमै आउन भनेपछि कृष्णबहादुर र रिताले रेजिशाको छटपटीमा रुनबाहेक केही गर्न सकेनन् । दुई घन्टासम्म कुर्दा पनि इमर्जेन्सीको उपचार नपाएपछि साँझै ७:१० बजे रेजिशाको मृत्यु भयो । 

‘हामीले नातिनीलाई उपचारका लागि समयमै अस्पताल पुर्‍याएका हौँ, तर इमर्जेन्सीमा पुगेर पनि वेलैमा डाक्टरलाई देखाउन पाएनौँ । नातिनीको अवस्थाबारे पटक–पटक जानकारी गराउँदा पनि सेक्युरिटी गार्डले पालोमा आउन भनेपछि हाम्रो कुनै उपाय चलेन । दुई घन्टासम्म पालो कुर्दा पनि डाक्टरलाई देखाउन पाइएन, हेर्दाहेर्दै नातिनीको ज्यान गयो,’ कृष्णबहादुरले रुँदै भने, ‘इमर्जेन्सीमा पुगेर पनि दुई घन्टासम्म डाक्टरलाई देखाउन नपाउने कस्तो स्वास्थ्य व्यवस्था ? बिरामीको छटपटी र आफन्तको पीडा नदुख्ने कस्तो अस्पताल, कस्ता कर्मचारी ? मेरो लागि त्यो अस्पताल होइन, मुर्दाघर बन्यो । अरू कुनै अस्पताल लगेको भए बरु नातिनी बचाउन सक्थेँ कि !’ 

अस्पतालको गैरजिम्मेवार व्यवहारका कारण रेजिशाको ज्यान जानु मृतकको सूचीमा अर्को एक नाम थपिनु मात्रै हो । तर, अकालमा ज्यान गुमाएका परिवारका लागि अपूरणीय क्षति हो । आमा रिताको कोख रित्तिएको छ । छोरीलाई राम्रो शिक्षा दिएर उनको सुन्दर भविष्य कोर्न एक वर्षदेखि परदेश (पोर्चुगल)मा पसिना बगाउँदै गरेका बुबा जितबहादुरको सपनाले हार खाएको छ । 

तर, अस्पताल प्रशासन भने उल्टै शोकसन्तप्त परिवारमाथि दोष देखाएर मृत्युलाई सामान्यीकरण गर्न उद्यत् छ । कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय उपचार नपाउँदा बालिकाको ज्यान गएको स्विकार्छन्, तर आफन्तले बिरामीको अवस्थाबारे बुझाउन नसकेको दाबी गर्छन् । ‘अस्पताल पुग्दा पनि उपचार नपाएर बालिकाको ज्यान जानु राम्रो होइन । तर, बिरामीका आफन्तले बालिकाको अवस्थाबारे सेक्युरिटी गार्डलाई राम्ररी भन्नुभएको रहेनछ, त्यसकारण यस्तो घटना हुन पुग्यो,’ उनले भने, ‘बिरामीको भिड धेरै हुने भएकाले पनि पुग्दाबित्तिकै सेवा लिन कठिन छ ।’ 

अस्पतालको लापरबाहीले बालिकाको ज्यान गएपछि आफन्तले सोमबार नै सिसिटिभी फुटेज हेर्न अस्पताल प्रशासनलाई आग्रह गरेका थिए । कृष्णबहादुरले घटनाको जिम्मा अस्पताल प्रशासनले लिनुपर्ने, दोषीमाथि कारबाही हुनुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । मृतकका आफन्तले सोमबार राति र मंगलबार बिहान अस्पताल परिसरमा आन्दोलन पनि गरेका छन् । 

बालिकाको मृत्युपछि नियम सुधारको घोषणा
पालो कुर्दाकुर्दै उपचार नपाएर बालिका रेजिशाको मृत्यु भएपछि कान्ति बाल अस्पताल प्रशासनले इमर्जेन्सी कक्षको नियम सुधारको घोषणा गरेको छ । पालोमा बस्दा गाह्रो भएका बिरामीलाई पहिले पालो दिने गरी नियम सुधारिएको निर्देशक रायले बताए । त्यस्तै, पालो पर्खिनुपर्ने बिरामीलाई पनि पर्खाइकै क्रममा निगरानी गर्न इमर्जेन्सी विभागलाई निर्देशन दिएको उनको भनाइ छ । ‘अब इमर्जेन्सीमा आएर गाह्रो भएका बिरामीले पालो कुर्नुपर्दैन, हामीले मंगलबारदेखि नै नियम सुधारेका छौँ,’ रायले भने । 

बहिरंग सेवा दिनमा तीन घन्टा मात्र, भिड इमर्जेन्सीमा
ओपिडीमा भन्दा इमर्जेन्सीमा आउने बिरामी धेरै

बालबालिकाको विशिष्टीकृत अस्पताल भएकाले देशभरबाट कान्तिमा बिरामी ल्याइन्छन् । तर, अस्पतालको बहिरंग सेवा (ओपिडी) दिनमा जम्मा तीन घन्टा मात्रै सञ्चालन हुन्छ । बिहान १०:०० बजेदेखि सुरु हुने ओपिडी दिउँसो १:०० बजे नै बन्द हुन्छ । ओपिडीमा देखाउन नभ्याएका बिरामी इमर्जेन्सीमा आउँछन् । नाम इमर्जेन्सी दिए पनि ओपिडीभन्दा खासै केही फरक छैन । ओपिडीमा जस्तै चर्को लाइन हुन्छ, टिकट काट्न पनि लाइन नै बस्नुपर्छ । बिरामी कुन गम्भीर हो, कुन सामान्य हो भन्नेसँग मतलब हुँदैन, टिकट नम्बरअनुसार पालोमा बसेर जँचाउनुपर्छ, ओपिडीमा जस्तै । अन्य अस्पतालबाट स्लाइन पानी तथा अक्सिजन दिएर एम्बुलेन्समै ल्याइएका बिरामीलाई मात्रै तुरुन्तै भर्ना गरिन्छ ।

सयभन्दा बढी बिरामी पालोमा हुन्छन्, तर चेकजाँचमा भने कहिलेकाहीँ एकजना मात्रै चिकित्सक हुन्छन्, प्रायः दुईजना । अस्पताल प्रशासनका अनुसार इमर्जेन्सीमा २४ घन्टामा १२ जना चिकित्सक खटाउने गरिएको छ । त्यसमध्येकै चिकित्सक मागअनुसार एनआइसियू, पिआइसियू र अन्य उपचारमा पनि लाग्नुपर्छ । ५–६ जनासम्मको टिम इमर्जेन्सीमै रहने भए पनि अन्यत्र माग हुँदा कहिलेकाहीँ कम पनि हुन सक्ने बताउँछन् अस्पताल निर्देशक राय । यस्तो अवस्थामा इमर्जेन्सीमा गएको गम्भीर बिरामीले पनि घन्टौँसम्म कुर्नुपर्ने अवस्था हुन्छ । यस्तै अवस्थाका कारण सोमबार साँझ रेजिशाले अकालमै ज्यान गुमाउनुपर्‍यो । 

‘यहाँ एउटा डाक्टरलाई इमर्जेन्सीमा बसेर मात्रै पुग्दैन, आवश्यकताअनुसार जता पनि दौडिनुपर्ने हुन्छ,’ निर्देशक रायले भने, ‘कहिलेकाहीँ आइसियूको डाक्टर सर्जरीमा हुन्छन् भने कहिले इमर्जेन्सीमा पनि पुग्छन्, इमर्जेन्सीमा पनि हामीले ग्रिन, एल्लो, रेड जोन भनेर छुट्याएका छौँ, सोहीअनुसार उपचार गरिन्छ ।’ 

हाल कान्ति अस्पतालमा १२ पिआइसियू र १५ एनआइसियू बेड छन् । अन्य सामान्य बेड एक सय ५० हाराहारी भए पनि एउटै बेडमा दुईजनासम्म बिरामी राख्ने गरिएको छ । इमर्जेन्सीमै बिरामीको भिड अत्यधिक हुँदा एउटै बेडमा दुईजनासम्मलाई उपचार गर्ने गरिएको अस्पताल प्रशासनले नै जनाएको छ । अस्पतालका अनुसार इमर्जेन्सीमा दैनिक तीन सयसम्म बिरामी आउने गरेका छन् भने ओपिडीमा आउने दुई सयभन्दा बढी हुन्छन् । अस्पतालमा बालरोगसँग सम्बन्धित ३० भन्दा बढी विशषेज्ञ चिकित्सक छन् । 

बालिकाका हजुरबुबा कृष्णबहादुर गोपाली भन्छन्–उपचारको आस गर्दागर्दै काखमै नातिनीको सास गयो
आइतबार बिहानदेखि नातिनीलाई ज्वरो आउने र बान्ता हुने भइरहेको थियो । गाह्रो भएपछि त्यसै दिनदेखि स्कुल पठाएनौँ । बाफलमै मेडिकलमा चेकजाँच गराएर औषधि खुवायौँ । तर, सोमबारसम्म पनि कुनै सुधार देखिएन, खानासमेत खान नमानेपछि बेलुकातिर ट्याक्सीमा राखेर कान्ति बाल अस्पताल पुर्‍यायौँ । 

५:०० बजे कान्तिको इमर्जेन्सीमा पुग्दा भिडभाड थियो । नातिनी राम्रोसँग बोल्न पनि नसक्ने अवस्थामा पुगिसकेकी थिइन् । सुरुमै लागेको थियो, यस्तो भिडभाडमा कसरी छिटो उपचार पाइएला र ? सोधपुछ गरेर १ नम्बर काउन्टरमा गएर टिकट लिँदा ५:४२ बजिसकेको थियो । पालो ६३ नम्बरमा पर्‍यो, जब कि त्यतिवेलासम्म डाक्टरले १५ नम्बरसम्मका बिरामीलाई मात्रै हेरेका थिए । त्यहाँ व्यवस्थापन गर्ने सेक्युरिटी गार्ड हुने रहेछन् । मैले नातिनीको जटिल अवस्थाबारे सबै बताएँ ।

नातिनी काखमा रोइरहेकी थिइन् । गार्डले जतिसुकै गाह्रो भए पनि लाइनमै बस्न भनेपछि कुर्नुको विकल्प रहेन । तर, नातिनीको शिथिल अवस्था देखेर छटपटी चल्थ्यो । उठेर सेक्युरिटी गार्डलाई बिन्ती गर्थेँ– छिटो पालो मिलाइदिनुस् न । सेक्युरिटी गार्डले उल्टै झपारे । ड्युटीमा रहेका प्रहरीलाई पनि चाँडो पालो मिलाइदिन आग्रह गरेँ, तर प्रहरीले भनेको पनि मानेनन् सेक्युरिटीले । दुई घन्टासम्म पालो कुर्दा पनि डाक्टरलाई देखाउन पाइएन, उपचारको आस गर्दागर्दै ७:१० बजे काखमै नातिनीको सास गयो । 

इमर्जेन्सीमा पुगेर पनि दुई घन्टासम्म डाक्टरलाई देखाउन नपाउने कस्तो स्वास्थ्य व्यवस्था ? बिरामीको छटपटी र आफन्तको पीडा नदुख्ने कस्तो अस्पताल, कस्ता कर्मचारी ? मेरा लागि त्यो अस्पताल होइन, मुर्दाघर बन्यो । अरू कुनै अस्पताल लगेको भए बरु नातिनी बचाउन सक्थेँ कि ! छोरा विदेशमा छ । म, बुहारी र नातिनी यहाँ थियौँ । अब नातिनी रहिनन् । हामीलाई पहाडले थिचेजस्तो भएको छ ।