१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:२६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सामूहिक न्वाँगी मनाउँदै चेपाङ समुदाय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२६:oo

यस वर्ष चेपाङ समुदायले सामूहिक रूपमा छोनाम (न्वाँगी) पर्व मनाउने भएका छन्। 

शुक्रबार सामूहिक रूपमा छोनाम पर्व मनाउन लागिएको  नेपाल चेपाङ संघ बागमती प्रदेश सचिव तथा इच्छाकामना गाउँपालिका– ६ का वडाध्यक्ष लक्ष्मण चेपाङले जानकारी दिए। 

उनका अनुसार चितवन, धादिङ, गोरखा र मकवानपुरका चेपाङ धादिङको च्याङ्लीमा जम्मा भएर न्वाँगी मनाउँदै छन्। ‘चेपाङ संघको तर्फबाट उत्सवका रूपमा सामूहिक रूपमा पर्व मनाउन लागिएको हो,’ उनले भने, ‘उत्सवमा सहभागी हुन नपाउनेले आ–आफ्नो घर र समुदायमा मनाउनुहुनेछ।’ 

उनका अनुसार चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ। यस छोनाम पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवा, घिरौँलालगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ। यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि रहेको उनले बताए।   

वर्ष दिनमा कम्तीमा नौ महिना जंगली कन्दमूल र सिस्नो खाएर प्राण धान्दै आएको लोपोन्मुख चेपाङ जातिले भदौ २२ गते मिठोमसिनो खाएर मुख फेर्ने इच्छाकामना गाउँपालिका– २ का वडाध्यक्ष पञ्चबहादुर चेपाङले बताए। 

उनका अनुसार भिरपाखामा बस्ने चेपाङ जातिले पाखापखेरामा लगाएका मकैलगायत फलफूल भदौमा पाक्ने भएकाले यसै महिनामा छोनाम पर्व मनाउने गरिएको इतिहास छ । छोनाममा चेपाङ झाँक्री (पान्दे)ले ढ्यांग्राे ठोक्दै कुखुराको बलि चढाउँछन्। यस दिन चेपाङ कुनै काम नगरी रमाइलो गर्छन्। 

नाता–कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन्। छोनाम पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको मानिन्छ। यस पर्वलाई चेपाङ समुदायले आफ्नो मौलिक भाषामा छोनाम भन्छन् भने खस नेपाली भाषामा न्वाँगी भनिन्छ। 

चेपाङ समुदायले प्रत्येक वर्षको भदौ २२ गते मनाउने न्वाँगी पर्वको अवसरमा बागमती प्रदेश सरकारले प्रदेशका तीन जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले चेपाङ बाहुल्य जिल्ला मकवानपुर, चितवन र धादिङसहित तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो। नेपालमा ८४ हजार तीन सय ६४ जना चेपाङ छन्। सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजारको हाराहारीमा चेपाङ समुदायका मानिस बसोवास गर्छन्। 

चेपाङ राप्ती नदी उत्तर, त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शृंखलावरिपरिको रैथाने बासिन्दा मानिन्छन्। मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङको घना बसोवास छ।