१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २१ बिहीबार
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
२o८o भदौ २१ बिहीबार १२:o३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुदूरपश्चिममा बजार अनुगमन

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o भदौ २१ बिहीबार १२:o३:oo

सुदूरपश्चिम प्रदेश सरकारले बजार अनुगमन सुरु गरेको छ । चाँडपर्वको पूर्वसन्ध्याको अवसर पारेर प्रदेश सरकारले बजार अनुगमन सुरु गरेको हो । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमातहत रहेको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले बजार अनुगमन सुरु गरेको छ ।

सोमबारदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका महेन्द्रनगर बजारबाट अनुगमन सुरु गरिएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक खेमराज चौधरीले बजारमा अखाद्य वस्तुको कारोकार गैरकानुनी रूपमा व्यवसाय सञ्चालन गरिएको गुनासो बढ्दै गएपछि प्रदेश सरकारले बजार अनुगमन सुरु गरेको बताए । 

प्रदेश सरकार एक्लैले भन्दा पनि सम्बन्धित जिल्ला प्रशासन, स्थानीय एवं अन्य सरोकारवाला सबै प्रतिनिधिको संयुक्त उपस्थितिमा बजार अनुगमन गरिएको निर्देशक चौधरीको भनाइ छ । ‘यस वर्ष हामीले कञ्चनपुरको महेन्द्रनगरबाट बजार अनुगमन सुरु गरेका छौँ,’ निर्देशक चौधरीले भने, ‘अब प्रदेशभरि निरन्तर बजार अनुगमन गर्छाैँ ।’ महेन्द्रनगरका पानी उद्योग, मार्ट, मिठाई पसल, खाद्यान्न पसल, ग्यास पसल, कस्मेटिक पसलको अनुगमन गरिएको उनले बताए । 

निर्देशक चौधरीले अनुगमनमका क्रममा म्याद सकिएका वस्तु बिक्री–वितरणका लागि राखिएको, प्रतिबन्धित पेय पदार्थ भारतबाट ल्याएको, विनाक्वारेन्टाइन खाद्य सामग्री ल्याएको, लेबल नराखेको, पसल दर्ताविनै पान, सूर्ति व्यवसाय सञ्चालन गरेकोजस्ता कैफियत भेटिएको बताए । 

‘हामीले जहाँ जुन पसलमा कैफियत भेटायौँ, त्यहाँ आवश्यक निर्देशन दिएका छौँ,’ निर्देशक चौधरीले भने, ‘आज पहिलो दिन निर्देशनको पालनासमेत गराएका छौँ, कसैलाई जरिवाना र कारबाही गर्नुपर्ने अवस्था आएन, महेन्द्रनगरमा व्यवसायी क्रमिक रूपमा सचेत भइरहेको पाइयो ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत हरिसिंह बोहराले महेन्द्रनगरमा खाद्य उद्योग तथा पसलमा मानव स्वास्थ्यका लागि हानिकारक वस्तु तथा सेवा बिक्री–वितरणका लागि राखिएको बताए । ‘हामीले बजार अनुगमनका क्रममा मानव स्वास्थ्यका लागि हानिकारक र प्रतिबन्धित पेय पदार्थ, क्वारेन्टाइन प्रमाणित नगरेका वस्तु बिक्रीका लागि राखेको पाइयो,’ उनले भने, ‘ती सबै उद्योगी व्यवसायीलाई हामीले सचेत गराएका छौँ ।’ 

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक खेमराज चौधरीले अब प्रदेश सरकारले नौवटै जिल्ला सदरमुकामसहित आसपासका बजारलक्षित गरेर अनुगमन गर्दै उपभोक्तालाई बजारबाट स्वस्थ वस्तु तथा सेवा उपलब्ध गराउन भूमिका निर्वाह गरिने बताए ।