१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भदौ २७ देखि सातै प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४o:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले एचपिभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिए। अस्पतालको ६४औँ वार्षिकोत्सव समारोहमा आयोजित कार्यक्रममा भिडियो सन्देशमार्फत उनले सातै प्रदेशका सात अस्पतालबाट एचपिभी खोप लगाउने बताए। 

मन्त्री बस्नेतका अनुसार गत असारमा सरकारले चीनबाट २० हजार मात्रा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप खरिद गरेर ल्याएको थियो।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले आगामी भदौ २७ गते स्वास्थ्यमन्त्री बस्नेतले खोपको शुभारम्भ गर्ने जानकारी दिए। उनका अनुसार मन्त्रालयले प्रसूतिसँगै सात प्रदेशका सातवटै अस्पतालबाट खोपको सुरुवात गर्ने तयारी गरेको छ। दुई मात्रा दिइने उक्त खोप १० हजार किशोरीलाई लगाइनेछ।

कोशी प्रदेशमा कोशी अस्पताल, मधेश प्रदेशमा वीरगन्जस्थित नारायणी अस्पताल, बागमतीमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल बाँके, कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालबाट एकै दिन एचपिभी खोप प्रदान गरिने डा. अधिकारीले जानकारी दिए।

उनका अनुसार खोपले १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट बचाउने गर्दछ। ‘अहिले पहिलो मात्रा र ६ महिनापछि दोस्रो मात्रा खोप दिइनेछ,’ डा. अधिकारीले भने, ‘नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी देखिएको छ।’ विश्वमा भने महिलालाई सबैभन्दा बढी स्तानक्यान्सर हुने गरेको उनले बताए।

सन् २०२२ को सरकारी तथ्यांकअनुसार नेपालमा दुई हजार दुई सय ४४ महिलालाई पाठेघरको मुखमा क्यान्सर लागेको क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले जानकारी दिए। उनका अनुसार ‘ह्युमन प्यापिलोमा भाइरस’को कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ। भाइरसका कारणले ९९ प्रतिशत र असुरक्षित यौन सम्पर्क, धूम्रपान र सानै उमेरमा विवाह गर्नेलगायत कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको डा. शाहीले जानकारी दिए। रासस