१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
शिल्पा कर्ण काठमाडाैं
२o८१ जेठ ५ शनिबार o६:o८:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

एक सातामै सांसद–मेयर बाबुछोरा निलम्बन : बाबुलाई हत्या अभियोग, छोराविरुद्ध भ्रष्टाचार मुद्दा

Read Time : > 2 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:o८:oo

उम्मेदवार बनी निर्वाचित हुँदा पनि ‘फरार’ रहेका प्रदेश सांसद यादव १६ वर्षअघिको हत्या घटनामा छानबिनका लागि जेल चलान

एक साता अवधिमा सांसद र मेयर बाउ–छोरा निलम्बनमा परेका छन् । सप्तरी ४ (२) बाट निर्वाचित प्रदेश सभासद् अनिरुद्धसिंह यादव र उनका छोरा सप्तरीकै बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमारसिंह यादव निलम्बनमा परेका हुन् । बाउमाथि हत्या अभियोगमा छानबिन हुँदै छ भने छोरालाई भ्रष्टाचार अभियोगमा मुद्दा चलेको छ । 

प्रदेश सभा कार्यसञ्चालन नियमावलीको २१० (४) अनुसार कुनै प्रदेश सभा सदस्यमाथि प्रचलित कानुनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोग पत्र दायर भई पुर्पक्षका लागि थुनामा पठाइएमा थुना अवधिभर निलम्बन रहन्छ । सोही व्यवस्थाअनुसार अनिरुद्ध निलम्बनमा परेका हुन् । 

सोमबार पक्राउ परेका सांसद अनिरुद्धलाई मंगलबार जिल्ला अदालत सप्तरीमा उपस्थित गराइएको थियो । उनलाई न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । रिताकुमारी चौधरीको जाहेरीले नेपाल सरकार भएको कर्तव्य ज्यान र डाँका मुद्दाका फरार प्रतिवादी अनिरुद्ध घटना भएको १६ वर्षपछि पक्राउ परेका थिए । 

जिल्ला अदालतले अनिरुद्धको हकमा मुद्दा मुल्तबीमा राखिदिने फैसला गरेकामा अब उनलाई प्रहरीले पक्राउ गरेपछि मुद्दाको अनुसन्धान सुरु हुने भएको हो । ०६४ असारमा सप्तरीका एक पुरुषको हत्या घटनामा मुछिएका उनीविरुद्ध किटानी जाहेरी परेपछि फरार थिए । पछि राजनीतिमा सक्रिय भएर उनी गत निर्वाचनमा प्रदेश सभा सदस्यमा विजयी भए । 

अनिरुद्ध पक्राउ परेपछि प्रदेश सभा सचिवालयले सोमबार नै सूचनामार्फत जानकारी गराइसकेको छ । प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ को (२) बमोजिम सदस्यको पक्राउसम्बन्धी जानकारी दिइएको हो । उपनियम (२) मा बैठक नचलेको अवस्थामा प्रदेश सभा सदस्य पक्राउ परेमा सोको जानकारी सभामुखले सचिवालयको सूचनापाटीमा टाँस गर्न लगाई वा अन्य सञ्चारमाध्यमबाट दिनुपर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार प्रदेश सभा सचिव रञ्जित यादवले सूचना जारी गरेका हुन् । 

सप्तरीको साबिक नेगडा गाविस– ५ मा दीपु भनिने गोविन्द चौधरीको अपहरणपछि गोली हानी हत्या भएको थियो । उक्त मुद्दा अदालत जाँदा अनिरुद्र फरार रहेका कारण जिल्ला अदालतले मुद्दा मुल्तबीमा राखेको थियो । १९ चैत ०६८ मा जिल्ला अदालत सप्तरीले उनको हकमा तत्कालीन मुलुकी ऐनको अदालती बन्दोबस्तीको १९० बमोजिम मुल्तबीमा राख्ने आदेश गरेको थियो । अनिरुद्ध पक्राउ परेसँगै यो मुद्दा मुल्तबीबाट जागेको छ । अब उनीमाथि कर्तव्य ज्यान र डाँका मुद्दामा अनुसन्धान तथा अभियोजन प्रक्रिया अघि बढ्नेछ । 

यस्तो थियोे चौधरीको हत्या
९ असार ०६४ मा सप्तरीका गोविन्द चौधरी एक आफन्तलाई पुर्‍याउन मोटरसाइकलमा गइरहेका थिए । साबिकको बोदेबर्साइन– ४ बाट बिहान साढे ११ बजेतिर उनलाई अपहरण गरी वडा नम्बर ५ नेगडा पुर्‍याई चाइनिज पेस्तोलले छातीसमेतका भागमा पाँच गोली प्रहार गरी उनको हत्या गरिएको थियो । 

चौधरीसँग भएको रकम लुटपाट गर्नुका साथै गोली हानी हत्या गरिएको भन्दै प्रहरीले त्यसमा संलग्न नौजनामाथि मुद्दा चलाएको थियो । जसमा अनिरुद्धसिंह यादवका साथै जगदीशप्रसाद भगत, दिनेश यादव, इसा मियाँ, वीरेन्द्र यादव, श्याम यादव, ताराकान्त यादव र ज्याबुल मियाँसमेतको संलग्नता रहेको दाबी अभियोगपत्रमा थियो ।

जाहेरी दरखास्त र घटना विवरण कागजअनुसार चौधरीलाई सुरुमा दिनेश यादवले दुई राउन्ड गोली प्रहार गरेका थिए । तर, उनी पुनः उठ्न लागेको देखेपछि जगदीशप्रसाद भगतले दुई र दिनेशले एक गोली हानी भागेका थिए । घटनास्थलमा रहेकी चौधरीकी आफन्त रुकमणी चौधरीले हुल बाँधी आएका नौजनाले कन्चटमा गोली ताकी उनीसँग रहेको नगदसमेत लुटी लगेको र हत्या गरेको कागज गरेकी थिइन् । हत्याको योजनाकार अनिरुद्धका साथै ताराकान्त रहेको प्रहरीको दाबी छ । 

मेयर आतेशसिंह भ्रष्टाचार मुद्दामा निलम्बित

आतेशसिंह यादव, मेयर बोदेबर्साइन नगरपालिका

अनिरुद्धका छोरा तथा बोदेबर्साइन नगरपालिकाका मेयर आतेशसिंह यादवविरुद्ध गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठजनालाई १४ लाख ७१ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको भन्दै मुद्दाको प्रतिवादी बनाइएको छ ।

नगरपालिकाबाट ०७७/७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रममा अनियमितता भएको ठहरसहित मुद्दा दायर भएको हो । जसमा नगरपालिकाका पशु विकास अधिकृत अर्जुनप्रसाद यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव र लेखापाल सरोजकुमार मण्डलको समेत संलग्नतामा उक्त परियोजनाको रकम हिनामिना भएको अभियोग लगाइएको छ । 

नगर प्रमुख आतेशकुमार सिंह, वडा नम्बर ४ का अध्यक्ष रामानन्द चौधरी, तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतसमेतलाई प्रतिवादी कायम गरिएको छ । माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्यामकुमार साह र कोषाध्यक्ष नीलमकुमारी शर्मालाई पनि सजाय माग दाबीसहित मुद्दा चलाइएको हो ।

उनीहरूसमेतले परियोजनाका लागि सम्झौता गरे पनि त्यस सम्झौताअनुसार काम नगरेको र झुटो बिल–भर्पाई लिई भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ । भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा मुद्दा दायर भएमा राष्ट्रसेवक स्वतः निलम्बन हुने व्यवस्था छ । उक्त दफाअनुसार कुनै पनि व्यक्तिलाई अख्तियारले नियन्त्रणमा लिएमा स्वतः निलम्बन हुन्छन् । मुद्दा किनारा नलागेसम्म उनीहरू निलम्बनमै रहने व्यवस्था ऐनमा छ । 
 

ad
ad