१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o६:३६:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

घरजग्गा कारोबारसम्बन्धी कर्जा ६४% घट्यो

तर, अपार्टमेन्ट निर्माण, प्लटिङ र कम्प्लेक्समा जाने कर्जामा उच्च वृद्धि

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:३६:oo

बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव, आर्थिक शिथिलता तथा घरजग्गा कारोबारमा आएको मन्दीका कारण गत आर्थिक वर्ष ०७९/८० मा घरजग्गा कारोबारमा जाने कर्जा प्रवाह पनि घटेको छ । आव ०७८/७९ मा घरजग्गा कारोबारमा ८४ अर्ब १७ करोडबराबरको कर्जा प्रवाह भएको थियो । तर, गत आवमा यस शीर्षकमा प्रवाह भएको कर्जा करिब ६४ प्रतिशतले घटेर ३१ अर्ब ५० करोडमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ । 

साथै, बक्यौताका आधारमा पनि यस्तो कर्जाको वृद्धिदर घटेको देखिन्छ । गत आवमा घरजग्गा कारोबार (रियल इस्टेट)मा जाने कर्जा औसत ५.५६ प्रतिशतले बढेको छ । अघिल्लो आव ०७८/७९ मा भने यस्तो कर्जा प्रवाह १७.४६ प्रतिशतले बढेको थियो ।  

असार ०७९ सम्म घरजग्गा कारोबारसम्बन्धी कुल कर्जा कुल पाँच खर्ब ६६ अर्ब पाँच करोड ३८ लाख कर्जा प्रवाह भएको थियो । असार ०८० सम्म आउँदा त्यो ५.५६ प्रतिशतले बढेर पाँच खर्ब ९७ अर्ब ५६ करोड ३४ लाख रुपैयाँ पुगेको छ । असार ०७८ सम्म यस क्षेत्रमा कुल चार खर्ब ८१ अर्ब ८७ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । त्यसमा ०७८/७९ मा ८४ अर्ब १७ करोड ६३ लाख रुपैयाँ थपिएको थियो । डेढ करोड सीमाको व्यक्तिगत घर कर्जा र रियल इस्टेट लोन गरेर यस्तो कर्जालाई दुई शीर्षकमा विभाजन गरिएको छ । त्यसमा गत आवमा डेढ करोड सीमाको व्यक्तिगत घर कर्जा प्रवाह १० अर्ब ३२ करोड रहेको छ । अघिल्लो आव ०७८/७९ मा भने त्यो ३९ अर्ब ५३ करोड थियो । 

बक्यौताका आधारमा यस्तो कर्जा प्रवाह ३.१ प्रतिशतले मात्रै बढेको छ । ०७९ असार मसान्तसम्म तीन खर्ब ३७ अर्ब ७९ करोड रहेको यस्तो कर्जा गत असारसम्म आउँदा तीन खर्ब ४८ अर्ब १२ करोड पुगेको छ ।  यस्तै, गत आवमा रियल इस्टेट कर्जा पनि घटेको छ । आव ०७८/७९ मा रियल इस्टेटमा ४४ अर्ब ६३ करोड ७९ लाख कर्जा प्रवाह भएको थियो । तर, गत आवमा त्यसको आधाभन्दा पनि कम अर्थात् २१ अर्ब १८ करोडबराबरको यस्तो कर्जा प्रवाह भएको देखिन्छ । बक्यौताका आधारमा रियल इस्टेट कर्जा ९.३ प्रतिशतले बढेको छ । असार ०७९ मा दुई खर्ब २८ अर्ब २५ करोड रहेको यस्तो कर्जा गत असारसम्म आउँदा दुई खर्ब ४९ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो आव ०७८/७९ मा यो कर्जा २४.३ प्रतिशतले बढेको थियो । त्यसअघि असार ०७८ सम्म यस्तो कर्जा एक खर्ब ८३ अर्ब ६१ करोड ६९ लाख रुपैयाँ रहेको थियो । 

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निश्चलराज पाण्डेले माग न्यून भएका कारण रियल इस्टेट कर्जा प्रवाह प्रभावित भएको बताए । साथै, बैंकहरूमा पनि तरलता अभाव भएको, कर्जाको ब्याजदर पनि उच्चजस्ता कारण पनि कर्जा प्रवाहमा संकुचन आएको पाण्डे बताउँछन् । 

व्यावसायिक भवन, अपार्टमेन्ट र जग्गा प्लटिङ कर्जा बढ्यो
गत आवमा व्यावसायिक भवन, अपार्टमेन्ट र जग्गा प्लटिङमा जाने कर्जा भने उच्चदरमा बढेको छ । समग्रमा घरजग्गा कारोबारसम्बन्धी कर्जा प्रवाह सुस्ताए पनि व्यावसायिक भवन, अपार्टमेन्ट र जग्गा प्लटिङमा जाने कर्जा प्रवाह २२.८ प्रतिशतले बढेको छ । 

असार ०७९ सम्म २५ अर्ब २६ करोड रहेको कर्जा गत आवसम्म आउँदा ३१ अर्ब दुई करोड ८९ लाख पुगेको छ । यसैगरी, आम्दानी गर्ने व्यावसायिक भवनमा जाने कर्जा भने ५३ प्रतिशतले बढेको छ । अघिल्लो आव ०७८/७९ सम्म त्यस क्षेत्रमा जाने कर्जा सात अर्ब ५३ करोड ३३ लाख रहेको थियो । असार ०८० सम्म आउँदा त्यो ११ अर्ब ५७ करोड ७५ लाख पुगेको छ । यसैगरी, जग्गा प्लटिङमा जाने कर्जा पनि २५.२ प्रतिशतले बढेर ४५ अर्ब ३३ करोड ८७ लाख रुपैयाँ पुगेको छ । असार ०७९ सम्म यस्तो कर्जा ३६ अर्ब २१ करोड ७१ लाख रुपैयाँ रहेको थियो । 

ad
ad