
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाल निर्दोष साबित भएका बताएका छन्।
सिआइबीले बयान लिएपछि मुद्दा नचलाउने निर्णय गरेकाले नेपाल निर्दोष साबित भएको प्रचण्डको तर्क थियो। शुक्रबार पोखरामा सम्पन्न समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
‘माधवजीको बारेमा के हो कसो हो भन्ने धेरै प्रश्नहरू भइरहेको थियो। पहिलोचोटि अहिले उहाँ निर्दोष भन्ने साबित भएको छ। औपचारिक ढंगले साबित भयो। अब फेरि प्रश्न उठाउने ठाउँ रहेन। किनभने सिआइबीले बयान लिएर निर्देष साबित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित रूपमा दिएपछि सधैँको टेन्सन सकियो,’ प्रधानमन्त्री प्रचण्डले भने।