
गत आर्थिक वर्ष ०७९/८० जीवन तथा निर्जीवन बिमा कम्पनीहरूको नाफामा उल्लेख्य वृद्धि देखिएको छ । गत आवमा १४ जीवन र १४ निर्जीवन बिमा कम्पनीको खुद नाफा औसतमा ४९ प्रतिशतले बढेको छ । समीक्षा वर्षमा बिमा कम्पनीहरूले नौ अर्ब ८२ करोड ९४ हजार नाफा कमाएका छन् । अघिल्लो आवमा उनीहरूले ६ अर्ब ५९ करोड नौ लाख ५६ हजार नाफा कमाएका थिए ।
समीक्षा अवधिमा निर्जीवन बिमा कम्पनीहरूको नाफा मात्रै ४४.६९ प्रतिशतले बढेको छ । अघिल्लो आवमा तीन अर्ब ५७ करोड ९२ लाख रहेको निर्जीवन बिमा नाफा गत वर्ष पाँच अर्ब १७ करोड ९१ लाख पुगेको छ । यसैगरी, जीवन बिमा कम्पनीहरूको नाफा ५४ प्रतिशतले बढेको छ । समीक्षा वर्षमा उनीहरूले चार अर्ब ६४ करोड १० लाख नाफा कमाएका छन् । अघिल्लो आवमा उनीहरूको नाफा तीन अर्ब एक करोड १७ लाख थियो ।
कम्पनीहरूको यो नाफा एक्चुरियल भ्यालुएसन (बिमांकीय मूल्यांकन)भन्दा अघिको हो । बिमांकीय मूल्यांकन भएपछि कम्पनीको नाफा थप बढ्न सक्नेछ, जुन मूल्यांकनले बिमा कोषको १० प्रतिशतसम्म रकम नाफा–नोक्सान खातामा सार्न सकिन्छ, फलस्वहरू बिमा कम्पनीहरूको नाफा थप बढ्नेछ ।
समीक्षा अवधिमा बिमा कम्पनीहरूको व्यवसाय उत्साहजनक नभए पनि नाफामा भने उच्च वृद्धि देखिएको हो । नेपाल बिमा प्राधिकरणका अनुुसार गत आवमा कुल बिमा व्यवसाय २.८५ प्रतिशतले मात्रै बढेको छ । त्यसमा जीवन बिमा व्यवसाय २.६४ प्रतिशत र निर्जीवन बिमा व्यवसाय ३.५८ प्रतिशतले बढेको थियो ।
गत आवमा एक खर्ब ८२ अर्ब ८७ करोडबराबरको बिमाशुल्क संकलन भएको थियो । त्यसमा जीवन बिमातर्फ एक खर्ब ४२ अर्ब ३० करोड बिमा शुल्क संकलन भएको छ भने निर्जीवनतर्फ ४० अर्ब ५७ करोड संकलन भएको छ । अघिल्लो आव ०७८/७९ भने कुल एक खर्ब ७७ अर्ब ८० करोड रुपैयाँ बिमाशुल्क संकलन भएको थियो । त्यसमा जीवन बिमातर्फ एक खर्ब ३८ अर्ब ६४ करोड र निर्जीवन बिमातर्फ ३९ अर्ब १६ करोड रुपैयाँ बिमाशुल्क संकलन भएको थियो ।
विशेषगरी, बैंकको मुद्दती निक्षेपको ब्याजदर बढ्दा बिमा कम्पनीहरूको नाफा बढेको हो । बिमा कम्पनीले आफूसँग भएको लगानीयोग्य पुँजीमध्ये अधिकांश वाणिज्य बैंकको मुद्दती निक्षेपमा राख्छन् । त्योअनुसार बैंकको मुद्दती निक्षेपबाट हुने ब्याज आम्दानी नै बिमा कम्पनीहरूको आम्दानीको मुख्य हुने गरेको छ ।
पछिल्लो समय देखिएको तरलता अभावलाई दृष्टिगत गर्दै बैंकहरूले गत आवमा निक्षेपको ब्याजदर बढाएका थिए । फलस्वहरू बिमा कम्पनीको आम्दानी बढेर नाफा बढ्न गएको बताइएको छ । यसैगरी, पछिल्लो समय बिमा कम्पनीमा दाबी पनि कम परेको छ । साथै, मर्जरमा जान थालेपछि कम्पनीको खर्च पनि घटेको छ । यस्ता कारणले बिमा कम्पनीको नाफा बढेको बताइन्छ ।
प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल पनि व्यवसायमा संकुचन आउँदा कम्पनीको लगानीबाट भएको प्रतिफलका कारण नाफा बढेको बताउँछन् । ‘बिमा कम्पनीको आम्दानीको मुख्य स्रोत बैंकबाट प्राप्त हुने ब्याज हो । पछिल्लो समय देखिएको तरतला अभावका कारण बैंकहरूले ब्याजदर बढाउँदा कम्पनीको आम्दानी बढ्न गयो,’ उनले भने, ‘त्यसको असरले बिमा कम्पनीको आम्दानी बढ्यो र नाफा पनि बढ्न गयो ।’
कुन कम्पनीको कति नाफा ?
समीक्षा अवधिमा जीवन बिमातर्फ नेपाल लाइफले सबैभन्दा बढी नाफा कमाएको छ । उक्त कम्पनीले ६७ करोड ४४ लाख ३५ हजार नाफा कमाएको छ । जब कि अघिल्लो आवमा यो कम्पनी ३५ करोड २७ लाख रुपैयाँले घाटामा थियो । दोस्रोमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ५८ करोड १३ लाख नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको सन् नेपाल लाइफले ५६ करोड ६५ लाख नाफा कमाएको छ ।
यस्तै, निर्जीवनतर्फ राष्ट्रिय बिमा कम्पनीले सबैभन्दा धेरै नाफा कमाएको छ, उक्त कम्पनीले ७७ करोड २५ लाख ४६ हजार नाफा कमाएको छ । दोस्रो स्थानमा भने नेको इन्स्योरेन्सको नाफा ५५ करोड ३१ लाख रहेको छ । यसैगरी, तेस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनीले ४५ करोड ८२ लाख ६३ हजार नाफा कमाएको छ ।