
स्पेनिस ला लिगाको साबिक विजेता बार्सिलोनाले आइतबार राति भिल्ला रियललाई ४–३ ले हराएको छ । बार्सिलोनाले खेलको १५ मिनेट भित्र २–० को अग्रता लिएको थियो । खेलको १२औँ मिनेटमा गाभीले बार्सिलोनालाई १–० को अग्रता दिलाए । खेलको १५औँ मिनेटमा डी जोङले बार्सिलोनालाई २–० को स्थितिमा राखे ।
भिल्ला रियलले खेलको २६औँ मिनेटमा २–१ का लागि गोल गरेको थियो । भिल्ला रियलका फोयथले गोलअन्तर कम गरेका हुन् । खेलको ४०औँ मिनेटमा सोर्लोथले भिल्ला रियललाई २–२ को बराबरीमा पुर्याए । खेलको ५०औँ मिनेटमा बाइनाले भिल्ला रियललाई ३–२ को अग्रता दिलाएका थिए ।
खेलको ६८औँ मिनेटमा फेरान टोरेसले बार्सिलोनालाई ३–३ को बराबरीमा पुर्याए । खेलको ७१औँ मिनेटमा रोबर्ट लेवान्डोवस्कीले बार्सिलोनालाई ४–३ को जित दिलाए । बार्सिलोना तीन खेलबाट सात अंक जोड्दै तेस्रो स्थानमा उक्लियो । शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले तीन खेलबाट नौ अंक बटुलेको छ ।