
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालत हेगमा गएर हाल्ने चेतावनी दिएका छन्।
सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले गौर हत्याकाण्ड भएको १७ वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाएकाे भन्दै न्यायका लागि अन्तर्राष्ट्रिय अदालत हेग जाने चेतावनी दिएका हुन्। १७ वर्षअघि नै मुद्दा दर्ता भए पनि प्रक्रिया अगाडि नबढेको भन्दै उनले पीडितले नेपालमा न्याय नपाएमा हेग जाने अवस्था आउने प्रस्ट्याएका हुन्।
‘१७ वर्षअघि नै मुद्दा दर्ता छ, तर कानुन लाग्दैन । सरकार भन्छ– हामी छानबिन गर्छौैँ, तर कुर्सी हल्लिने भएपछि भन्छ– केही दिन रोक्नुपर्छ। लटरपटर गर्नुपर्छ, केही गर्नुहुँदैन भने यो कानुनको शासन हो ? कुर्सीको शासन भन्ने कि कानुनको शासन भन्ने ? न्यायका लागि सरकार बनेको हो कि कुर्सी बचाउन सरकार बनेको हो भन्ने प्रश्न आउँछ ? कानुनको शासनको खिल्ली उडाउने काम भएको छ,’ उनले भने।
अध्यक्ष साहले ललितानिवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरूलाई मुद्दा नचलाएर साक्षी मात्रै बनाइएकोप्रति समेत असन्तुष्टि जनाए। मन्त्रिपरिषद्को निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै सो निर्णयको जवाफदेहिता प्रधानमन्त्रीले लिनुपर्ने उनको भनाइ छ।