१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ जेठ ५ शनिबार o६:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

भिजिट भिसामा विदेश जान झन्झटिलो बनाउँदै सरकार

विदेश घुम्न जान स्थानीय तहबाट सिफारिस चाहिने विवादास्पद प्रावधान लागू गर्ने तयारी

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:१८:oo

विदेश घुम्न जान स्थानीय तहबाट सिफारिस चाहिने झन्झटिलो प्रावधान ल्याउने तयारी भएको छ । गृह मन्त्रालयले अघि बढाएको अध्यागमन कार्यविधि, २०६५ संशोधन प्रस्तावमा भिजिट भिसासम्बन्धी प्रावधान पनि हेरफेर गर्न लागिएको छ । अध्यागमन विभागले कार्यविधि संशोधनको प्रस्ताव गत साता गृह मन्त्रालयमा पठाएको हो । गृहले छलफल गरी कार्यविधि स्वीकृत गर्ने तयारी गरेको छ । 

कार्यविधिमा मुख्यगरी भिजिट भिसासम्बन्धी र केही प्राविधिक विषयमा संशोधन गर्न लागिएको अध्यागमन विभागले जनाएको छ । पटक–पटक विवाद हुँदै आएको भिजिट भिसासम्बन्धी प्रावधान पहिलोपटक कार्यविधिमा राख्ने प्रस्ताव गरिएको छ । 

कार्यविधिको संशोधन मस्यौदामा विदेश घुम्न जानका लागि स्थानीय तहबाट सिफारिस चाहिने विवादास्पद प्रावधान छ । भिजिट भिसामा हुने मानवतस्करी नियन्त्रण प्रभावकारी बनाउन भन्दै यो प्रावधान राखिएको छ । यसले भिजिट भिसामा विदेश जान चाहनेलाई झन्झट थप्ने गृहकै अधिकारीहरू बताउँछन् । ‘यो प्रक्रियाले नागरिकलाई दुःख हुने र स्थानीय तहले कोही विदेश घुम्न आर्थिक रूपमा सक्षम रहेको–नरहेको भनेर सिफारिस गर्न पनि व्यावहारिक हुने देखिँदैन,’ गृहका एक अधिकारीले भने । 

चार वर्षअघि पनि अध्यागमन विभागले यस्तै प्रावधान राखेकामा विरोधपछि गृह मन्त्रालयले त्यसलाई हटाएको थियो । अहिले पनि अध्यागमनका उच्च अधिकारीको जोडबलमा यस्तो प्रावधान राखिएको छ । यद्यपि, यसमा निर्णय भइनसकेको गृह मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् । त्यस्तै, विदेश घुम्न जान चार लाख रुपैयाँ बैंक ब्यालेन्स, दुईतर्फी टिकट, होटेल बुकिङ र न्यूनतम दुई सय ५० अमेरिकी डलरको विद्यमान प्रावधान कायमै राखिएकै छ । कार्यविधि संशोधनमा भिजिट भिसासम्बन्धी प्रावधान थप प्रस्ट बनाउन लागिएको र यसबाट सर्वसाधारण तथा अध्यागमन कर्मचारी दुवैलाई सहज हुने अध्यागमन विभागका निर्देशन खिमराज भुसाल बताउँछन् ।

भिजिट भिसामा विदेश जानेलाई अनलाइनबाटै पूर्वस्वीकृति दिनका लागि विभागले सफ्टवेयर पनि बनाइसकेको छ । नयाँ कार्यविधि स्वीकृत भएपछि त्यसलाई कार्यान्वयन गर्ने तयारी छ । यसअनुसार विदेश घुम्न जानेले विभागको वेबसाइडमा आफ्ना डकुमेन्ट अपलोड गर्नुपर्ने हुन्छ ।

आवश्यक डकुमेन्ट पुगेमा विभागले इमेलमा पूर्वस्वीकृति पठाउनेछ । टुर प्याकेज लैजाने ट्राभल कम्पनीहरूले पनि पूर्वस्वीकृति लिनुपर्ने प्रावधान छ । हाल डकुमेन्ट नपुगेर दैनिकजसो विमानस्थलबाट फर्काइने गरिएको छ ।  भिजिट भिसाको समस्या समाधान गर्न पटक–पटक कार्यदल बनेर विभिन्न सिफारिस भए पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।

ad
ad