
नवलपरासीको सीमानामा कार्यरत सशस्त्र प्रहरीका जवानलाई विशेष अदालतले घुस लिई भ्रष्टाचार गरेको मुद्दामा सजाय सुनाएको छ । नौ महिनाअघि सात हजार रुपैयाँ घुससहित पक्राउ परेका मुख्तार देवानलाई विशेषले सजाय सुनाएको हो ।
शुक्रबार न्यायाधीशत्रय यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले यस्तो फैसला गरेको हो । विशेषका अधिकृत यज्ञराज रेग्मीका अनुसार देवानलाई घुसबराबरको रकम सात हजार जरिवाना र १० दिन कैद हुने फैसला भएको छ ।
देवान नवलपरासीको बर्दघाट–सुस्ता पश्चिमस्थित सेमरी सुरक्षा बेसक्याम्पमा कार्यरत थिए । यस क्रममा उनले सेवाग्राहीसँग घुस माग गरेको भनी सूचना आएपछि बुटवलबाट खटिएको टोलीले उनलाई सात हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।
सीमावर्ती भारतीय बजारबाट सामानहरू ल्याउन सहजीकरण गरिदिने भन्दै देवानले घुस लिएका थिए । ९ मंसिर ०७९ मा पक्राउ परेका उनलाई प्रतिवादी बनाई ४ माघमा मुद्दा चलाइएको थियो ।
विशेषले देवानलाई सजाय तोक्नुका साथै घुसबापतको रकम उजुरीकर्तालाई फिर्ता दिन आदेश दिएको छ ।