
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशको संविधान रक्षाका लागि चार दल एकजुट भएर समाजवादी मोर्चा निर्माण गरेको बताएका छन्।
उनले संविधानलाई चुनौती दिँदै सिध्याउने, संसद् भंग गर्ने, च्यात्नेहरूविरुद्ध यसलाई रक्षा गर्ने उद्देश्य गत ४ असारमा समाजवादी मोर्चा निर्माण भएको बताएका हुन्।
समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभा कार्यक्रमलाई भोजपुरीमा सम्बोधन गर्दै अध्यक्ष नेपालले संघीयता कार्यान्वयन गर्न मुख्य दायित्व लिएर समाजवादी मोर्चा अगाडि बढेको उनले बताए।
कुनै पनि संविधान निर्माण हुने समयमा केही कमी–कमजोरी हुने भएकााले ती कमजोरीलाई सच्याउँदै अगाडि बढ्ने उनले विश्वास दिलाए। देश बनाउन नेपालीहरूको मुख्य जिम्मेवारी रहेको बताउँदै उनले विविधतामा एकता कायम गर्दै देश बनाउन अगाडि बढ्ने जिकिर गरे।
एक महिनाभित्र समाजवादी मोर्चाको देशभरि सकारात्मक सन्देश भइरहेकामा जनता खुसी बनेको अध्यक्ष नेपालले दाबी गरे। उनले ०२३ सालमा वीरगन्जबाट एसएलसी पास, ०२६ सालमा आइकम पास गरेको स्मरण गर्दै समाजवादीकाे माेर्चाकाे पहिलाे कार्यक्रम यहीँबाट गर्न पाउँदा आफू खुसी भएकाे बताए।