१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
सुवास भट्ट काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

रसुवाबाट पनि दुई  किलो सुन बरामद 

Read Time : > 1 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१८:oo

तेस्रो खेपको ओसार्दै गर्दा पक्राउ परे दुई युवा, सुन ल्याउने चिनियाँको खोजी 

दुई महिनाको अवधिमा यिनै युवाले यसअघि पहिलोपटक आधा किलो र दोस्रोपटक एक किलो सुन भित्र्याएका थिए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सुनको अनुसन्धान जारी रहेकै वेला तस्करीको अर्को घटना बाहिर आएको छ । शनिबार साँझ रसुवा प्रहरीले चीनतिरबाट आएको दुई किलो सुन बरामद गरेको छ । पक्राउ परेका दुईजना राजस्व अनुसन्धान विभागको हिरासतमा छन् । 

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डिएसपी सुवास बुढाथोकीका अनुसार शनिबार साँझ ६ बजे टिमुरेबाट स्याफ्रुबेँसीतर्फ पैदल हिँडेर आइरहेको अवस्थामा सुदीप शेर्पालाई दुई किलो सुनसहित पक्राउ गरिएको थियो । स्याफ्रुबेँसी चौकीबाट खटिएको जाँच टोलीले जाँचकै क्रममा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका– ५ स्थायी ठेगाना भएका शेर्पालाई सुनसहित पक्राउ गरेको हो । डिएसपी बुढाथोकीका अनुसार शेर्पाले चेस्टगार्डको भित्री खल्तीमा बिस्कुट आकारमा दुई टुक्रा सुन बोकेर ल्याएका थिए । 

सुनसहित पक्राउ परेका शेर्पाको बयानका आधारमा प्रहरीले सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका– १ स्याथी ठेगाना भएका फुरसांगु शेर्पालाई पनि राति नै पक्राउ गरेको छ । सुनसहित उनीहरू दुवैलाई काठमाडौं ल्याएर आइतबार नै प्रहरीले राजस्व अनुसन्धान विभाग बुझाएको थियो । राजस्व अनुसन्धान विभागले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । 

तस्करीमा ‘चिनियाँ कनेक्सन’ 
पछिल्लो दुई केजी सुन तस्करीमा पनि चिनियाँकै कनेक्सन देखिएको छ । अधिकारीहरूका अनुसार यो सुन चीनबाट टिमुरे नाका हुँदै आएको देखिन्छ । र, सुन काठमाडौं ल्याउन लागिएको थियो । काठमाडौं ल्याउने तरखरमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

टिमुरेमा फुरसांगुले दिएको सुन लिएर सुदीप स्याफ्रुबेँसी हुँदै काठमाडौं आउन लागेका थिए । उनीहरू दुवैजना सुन ओसारपोसारमा देखिन्छन् । सुदीपलाई दिएको सुन फुरसांगुले चिनियाँबाट ‘रिसिभ’ गरेको देखिएको छ । फुरसांगुले टिमुरेमै बसेर सुनको तस्करी गर्ने गरेको देखिएको छ । उनले दिएको सुन लिएर सुदीप काठमाडौं आउने र यहाँ चिनियाँलाई नै बुझाउने गरेका खुलेको छ । ती चिनियाँलाई राजस्व अनुसन्धान विभागको आग्रहमा अध्यागमनले ‘निगरानी सूची’मा राखिसकेको छ । विभागले उनको खोजी सुरु गरिसकेको छ । 

तेस्रो खेपको तस्करी प्रयासमा पक्राउ 
यही समूह र युवाले यसअघि पनि सुन तस्करी गर्ने गरेको भेटिएको छ । यी युवाले पहिला पनि सुन तस्करी गर्ने गरेको बताएका छन् । यसअघि दुईपटक सुन ल्याएर बुझाएको उनीहरूले बयान दिएका छन् । पहिलो खेपमा आधा किलो र दोस्रो खेपमा एक किलो सुन ल्याइसकेको उनीहरूले बताएका छन् । ‘अघिल्लोपटकको तुलनामा बढाएर उनीहरूले सुन तस्करी गरिरहेका देखिएको छ,’ स्रोतले भन्यो, ‘क्रमशः सुनको मात्रा बढाएर तस्करी गरिरहेकाले ठूलो परिमाणमा सुन तस्करी गरिरहेको र गर्ने योजना रहेको देखिन्छ ।’ 

पक्राउ परेका युवाहरूले पारिश्रमिक लिएर सुन तस्करी गर्ने गरेको बताएका छन् । सुनमा मुख्य रूपमा जोडिएका चिनियाँ काठमाडौंको ठमेलमा बस्छन् । केही समयअघि उनीसँग जोडिएका फुरसांगुले नै सुदीपलाई यस धन्दामा संलग्न गराएका थिए । खेपको जनही ४० हजार रुपैयाँको हाराहारी पारिश्रमिक लिएर उनीहरूले सुन ओसार्ने गरेका थिए । उनी अहिले सम्पर्कविहीन छन् । तर, विभागले खोजी गरिरहेको छ ।
 

ad
ad