
सातै प्रदेशमा गर्ने प्रदेशस्तरीय आमसभाको मिति टुंगो लगाउन समाजवादी मोर्चाले संयोजन समितिको बैठक बोलाएको छ । मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार साँझ ६ बजे बस्ने गरी मोर्चाको बैठक बोलाएका हुन् । बैठकले प्रदेशस्तरीय सभाको कार्यविधि तयार गर्नुका साथै मितिसमेत तोक्ने भएको छ ।
प्रदेशस्तरीय सभा साउनमा गर्ने निर्णय भए पनि कार्यान्वयन भएको छैन । शीर्ष नेताहरूको व्यस्तताका कारण साउनमा गर्ने भनिएको सभा भदौमा गर्ने तयारी रहेको सचिवालयका सदस्यहरूले बताएका छन् । सडक, सदन र सरकार तीनै तहबाट आफ्ना मुद्दा स्थापित र कार्यान्वयन गर्ने रणनीतिसहित संसद्भित्र र बाहिरका चार दल मिलेर गत ४ असारमा समाजवादी मोर्चा गठन भएको हो । माओवादी, एकीकृत समाजवादी, जसपा र नेकपाको मोर्चा बनेयता हालसम्म दुईवटा मात्रै बैठक बसेको छ ।
२३ असारमा बसेको पहिलो बैठकले संयोजनको जिम्मा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई दिएको थियो । ३० असारमा बसेको दोस्रो बैठकले चार–चार महिनामा मोर्चाको नेतृत्व परिवर्तन गर्ने र साउनभित्र सातै प्रदेशमा सन्देश सभा गर्ने निर्णय गरेको थियो । तर, प्रदेशस्तरीय सभाको मिति भने तोकिएको थिएन । दोस्रो बैठकले प्रदेश र जिल्ला तहमा पनि मोर्चाको संगठनात्मक संरचना विस्तार गर्ने निर्णय गरेको थियो । तर, हालसम्म प्रदेश र जिल्ला तहसम्म संरचना विस्तार भएको छैन । मोर्चाको सचिवालय सदस्यसचिव प्रमेश हमालले बैठकले सभाबारे निर्णय गर्ने जानकारी दिए ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकपछि मोर्चाको प्रदेशस्तरीय सभा गर्ने तयारी छ । ५, ६ र ७ भदौमा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै छ । मोर्चाको सचिवालय बैठकले कार्यविधि र सभाको मितिबारे बैठकमा प्रस्ताव गर्ने तयारी गरेको छ । सचिवालयमा माओवादी महासचिव देव गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा छन् ।