मनाङको तल्लो क्षेत्रका किसान स्याउ टिप्न व्यस्त
फागुन–चैतमा ढकमक्क फूल लागेका बोटमा यतिवेला पाकेका स्याउ लटरम्म छन् । किसानहरू स्याउ टिप्दै बोरा भर्दै छन् । हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र नसोँ गाउँपालिका– ८ ताचैका सोमराज गुरुङको परिवार हिजोआज बिहानैदेखि बगैँचामा स्याउ टिप्न व्यस्त छ ।
उनको बारीमा गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउ छन् । अहिले गाला जातिको स्याउ पाकेको छ । अबको एक सातामा फुजी र दुई सातामा गोल्डेन जातको पनि टिप्न तयार हुन्छन् । उनले २५ रोपनी जग्गामा लगाइएको स्याउ ठेक्कामा लिएर व्यापार गरिरहेका छन् ।
सोमराजलगायत किसानले इटालीबाट बिरुवा ल्याएर हाइडेन्सिटी प्रविधिमा चार जातका स्याउ खेती गर्दै आएका छन् । यहाँको स्याउको बजार बेँसीसहर, पोखरा, काठमाडौं र चितवन हो । माथिल्लो मनाङमा भने स्याउ पाक्ने समय अझै भएको छैन ।