१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २ शनिबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ २ शनिबार ११:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी सौरभ यादवमाथि सांघातिक आक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ २ शनिबार ११:१८:oo

नयाँ पत्रिका दैनिकका सप्तरी संवाददाता सौरभ यादवमाथि सांघातिक आक्रमण भएको छ। शुक्रबार राति १० बजे राजविराज नगरपालिका-२ स्थित राजदेवी चोकमा दुईजनाले उनीमाथि आक्रमण गरेका हुन्। 

राति पत्रकार यादवलाई टेलिफोन गरेर राजदेवी चोक बोलाएर उनीहरूले ‘हिरो बन्न खोजेको’, डिभोर्ससम्बन्धी रिपोर्टिङ गर्न खोजेको’ भन्दै निर्घात कुटपिट गरेका थिए। यादवमाथि कुटपिट गर्नेमध्ये एकजना बब्बी यादव भए पनि थप एक युवाको पहिचान हुन सकेको छैन। 

यादवलाई कुटपिट गरेलगत्तै प्रहरी घटनास्थलमा आए पनि कुटपिट गर्नेहरू फरार भएका थिए। कुटपिटबाट यादवकाे छातीमा चोट लागेकाे छ। उनकाे अहिले गजेन्द्रनारायणसिंह अस्पतालमा उपचार भइरहेकाे छ।

नेपाल पत्रकार महासंघ सप्तरीले पत्रकार यादवमाथि कुटपिट भएकाे घटनाको निन्दा गर्दै संलग्नमाथि कानुनी कारबाहीको माग गरेको छ। ‘सूचनाको माध्यमबाट आमजनतालाई सूचित गराउने जिम्मेवारी बोकेका पत्रकार यादवमाथि कुटपिट गर्नेमाथि कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीसँग नेपाल पत्रकार महासंघ जोडदार माग गर्दछ,’ महासंघका सप्तरी सचिव रामनारायण विश्वासद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

महासंघले पत्रकारको सुरक्षाको वातावरण मिलाउन गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोगसहितका सम्बद्ध निकायको ध्यानाकर्षण पनि गराएको छ। 

प्रेस मञ्च नेपाल सप्तरीले पनि घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरेको छ। ‘पत्रकार यादवमाथि भएको आक्रमणको  प्रेस मञ्च नेपाल, सप्तरी घोर निन्दा एवं भर्त्सना गर्दै  घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दछ,’  सचिव विद्यानन्द रामद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।