१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
मुग्लिन–नारायणगढ सडकअन्तर्गत इच्छाकामना गाउँपालिका– ६ तुइन खोलामाथि खसेको पहिरो । यही खोलामा पुल निर्माणको योजना छ, तर विस्फोटक पदार्थ नहुँदा पहाड फोड्ने काम सुरु भएको छैन । तस्बिर : नयाँ पत्रिका
मुख्य समाचार प्रिन्ट संस्करण

मुग्लिन–नारायणगढ सडक निर्माण कछुवा गतिमा, दुई पुल निर्माणको म्याद थप्ने तयारी 

फलोअप समाचार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:५३:oo

संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य मार्गमा पर्ने मुग्लिन–नारायणगढ सडकमा दुईवटा पुल निर्माणको ठेक्काको म्याद फेरि थप्ने तयारी गरिएको छ । नागढुंगा–मुग्लिन सडक आयोजनाका अनुसार मुग्लिननजिकको खहरे खोला पुलको बल्ल जग निर्माण भएको छ । हालै मात्र मुआब्जा दिएर समस्या समाधान भएको छ । तुइन खोलाको पुल निर्माण प्रक्रिया भने अझै सुरु नै भएको छैन, पहाड फोड्नुपर्ने भएपछि अल्झेर बसेको छ । 

‘पहिले कोरोना महामारी र डिजाइन स्वीकृतिलगायत कारणले ढिलो काम भयो,’ नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड योजना प्रमुख इन्जिनियर किरण कार्कीले भने, ‘खहरे र तुइन खोलामा मुआब्जाको समस्या बल्ल समाधान भएको छ । तुइन खोलामा पहाड फोड्नुपर्ने भएर ढिलाइ भएको हो ।’

निर्माण ठेक्का पाएको अनक कन्स्ट्रक्सनले गत वर्ष नै १५ पुल निर्माण गरिसक्नुपर्नेमा निर्माण नसकिएपछि आगामी ९ पुससम्म थप गरिएको थियो । यो अवधिमा सेती दोभान पुलको मात्र निर्माण भएको छ । बाँकी १४ पुलमध्ये १२ वटाको काम थपिएको म्यादभित्रै सक्ने लक्ष्य लिइएको छ । तर, दुईवटा पुलको म्याद भने थप्न लागिएको हो ।

विश्व बैंकको सहयोगमा एक अर्ब २३ करोड लागतमा ०७६ चैतबाट यो सडकमा नयाँ पुल निर्माणको काम सुरु भएको हो । १५ वटै पुल बनेपछि सडकको दूरी पनि दुई सय मिटर छोटो हुनेछ । 

नारायणगढ–मुग्लिन सडक विश्व बैंकको ऋण सहयोगमा नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत ३६ किलोमिटरमध्ये चितवनको आँपटारीदेखि मुग्लिनसम्मको ३३ किलोमिटर स्तरोन्नति गरिएको थियो । ७ वैशाख ०७२ बाट सुरु भई पाँचपटक म्याद थपपश्चात् करिब एक वर्ष ढिला गरेर २४ साउन ०७५ मा दुई लेनमा स्तरोन्नति गर्न तीन अर्ब ४० करोड खर्च भएको छ । आयोजनाको ठेक्का रकम तीन अर्ब रहे पनि ४० करोड लागत बढेको थियो । 

पहाड फोड्नुपर्ने, तर फाइल अड्कियो
तुइन खोलामा पुल निर्माणका लागि पहाड फोड्नुपर्ने भए पनि नागढुंगा–मुग्लिन सडक आयोजनासँग विस्फोटक पदार्थ छैन । कार्कीका अनुसार विस्फोटक पदार्थले पहाड काट्न रक्षा मन्त्रालयबाट स्वीकृति र भारतबाट विस्फोटक पदार्थ ल्याउन प्रक्रिया अगाडि बढेको छ । विस्फोटक पदार्थका लागि फाइल रक्षा मन्त्रालय हुँदै भारतीय दूतावासमा पुगेको छ । ‘विस्फोटक पदार्थ आएमा बर्खालगत्तै काम अघि बढाउने तयारी छ,’ उनले भने । भौगोलिक हिसाबले पनि यहाँको जमिन कमजोर छ । कमजोर किसिमको भौगोलिक अवस्था, चिरा परेको ठाउँमा पुल निर्माणमा पहाड काट्ने र विस्फोटक पदार्थ प्रयोग हुने भएकाले पहिरोको जोखिम पनि हुन्छ । 

१२ पुल अन्तिम चरणमा, पहुँचमार्ग निर्माण हुँदै
१२ वटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ, ती पुलसम्म पहुँचमार्ग निर्माण भइरहेको छ । आचार्यका अनुसार जुगेडी खोला, खहरे खोला (दासढुंगा), खोर खोला (१४ किलो), काली खोला, चिसेंजी खोलामा बनेका पुलमा पहुँच सडक निर्माणको काम भइरहेको छ । त्यस्तै, लामबलुवा खोला, भोर्ले खोला, डुम्रे खोला, सिमलताल खोला, रिग्दी खोला, नाम्सी खोला र तोपे खोलामा बनेका पुलका लागि पहुँच सडक कालोपत्रेको काम बाँकी छ । यी पुलको चौडाइ सात मिटरको छ । 

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने ३६ किलोमिटर सडकखण्डलाई एसियाली मापदण्डमा विकास गने लक्ष्यका साथ डेडिकेटेड डबल लेन बनाएपछि साँघुरो पुललाई फराकिलो बनाउन आयोजना सुरु गरिएको हो । फराकिलो सडकमा पुल साँघुरो हुँदा दुर्घटनाको जोखिम र जीर्ण बनेका पुलमा सवारी जाम हुने समस्या छन् । तत्कालीन समयमा चीन सरकारले बनाइदिएको पुलकै छेउमा बन्दै गरेका नयाँ पुलले घुम्तीलाई सीधा पनि बनाएका छन् । सडक विस्तारकै क्रममा मौरी खोला, दासढुंगा, खानी खोला र जलबिरेमा चारवटा पुल निर्माण भएका थिए । जलबिरेमा पुल बनेपछि सडक दुई सय ६५ मिटर छोटो भएको छ ।

ad
ad