१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३२ बिहीबार
  • Friday, 09 May, 2025
२o८o श्रावण ३२ बिहीबार १९:४५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पार्टी एकढिक्का भए मात्रै परिणाम आउँछ : कांग्रेस प्रवक्ता डा. महत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ३२ बिहीबार १९:४५:oo

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी एकढिक्का भएर अगाडि बढे मात्र परिणाम दिन सकिने बताएका छन्। 

सिराहामा कांग्रेसको आन्तरिक विशेष अभियान समापन समारोहलाई सम्बोधन गर्दै महतले म भए सबै हुन्थ्यो, अर्को भएकाले भएन भनियो भने परिणाम नआउने बताए। 

‘कसैले पनि एक्लै परिणाम ल्याउन सक्दैन। बिपी कोइरालाले पार्टीको नेतृत्व गर्दा त गणेशमान, कृष्णप्रसाद र सुवर्णशमशेरको आवश्यकता परेको थियो। अहिले त्यस्तो कोही पनि छैन। त्यसकारण कसैले वा कुनै पुस्ताकाले म भए सबै हुन्थ्यो, अरू भएर यस्तो भन्नु बेकारको कुरा हो,’ सरकारका अर्थमन्त्रीसमेत रहेका महतले भने।  

उनले पार्टीलाई मजबुद बनाउन संस्थाका निर्णय लिएर जनताको बीचमा जानुपर्ने बताए। ‘संस्थाको निर्णय लिएर जनताको बीचमा जानुपर्छ। संस्थागत कुरा सामाजिक सञ्जालमा उल्टापाल्टा गरियो भने जनता द्विविधामा पर्छन्,’ उनले भने, ‘संस्थागत निर्णय जे हुन्छ, त्यो लिएर एउटै भावनाका साथ जनताका बीचमा जानुपर्छ।’

कांग्रेसप्रति आस्था र समर्थनका बाबजुद मतदानका वेला रूपान्तरण नहुनुमा पार्टीभित्रको अनेकता जिम्मेवार रहेको उनले दाबी गरे। ‘एकले अर्कालाई नसहने प्रवृत्ति जिम्मेवार छ। बरु अर्को पार्टीको जोसुकै होस्, यो चाहिँ हुनुहुन्न, यो चाहिँ हारिजाओस् भन्ने मानसिकता हाबी छ,’ उनले भने, ‘पार्टीभित्र साथीसँगको मतभेद, असन्तुष्टि छ भने पनि आखिर यो पार्टीकै साथी हो, मेरो काम नगरे पनि पार्टीकै काम गर्छ, त्यसकारण म यसलाई मत हाल्छु भन्ने निष्कर्ष निकाल्नुपर्छ।’ 

उनले मधेसका समस्या समाधान गर्न कांग्रेसले मात्र सक्ने जिकिर गरे। ‘नागरिकताको समस्या मधेसमा बढी छ, त्यसलाई अरू कसैले पार लगाउन सकेको थिएन, प्रतिपक्षी दल एमालेले नागरिकताको विषय अलमल्याएको सबैलाई थाहा छ,’ नेता महतले भने, ‘मधेसवादी दलहरूले पनि त्यो विषयलाई निर्क्योलमा पुर्‍याउन सक्ने अवस्था थिएन। कांग्रेसले मात्र निर्क्योलमा पुर्‍याउन सक्छ, कांग्रेसकै कारण अहिले कानुन बनेको छ।’ 

उनले कांग्रेस भर्खर जन्मिएको राजनीतिक दलजस्तो कर्तव्यबाट भाग्ने पार्टी नभएको पनि जिकिर गरे। ‘कांग्रेस परिचित पार्टी हो, अप्ठ्यारोमा भाग्दैन। कांग्रेस सदाबहार पार्टी हो, कहिले तल भयो भनेर आत्तिदैन, माथि पुग्यो भनेर मात्तिदैन। कांग्रेससँग इतिहास छ, सिद्धान्त छ,’ उनले भने। 

सरकारका मन्त्रीसमेत रहेका महतले गठबन्धन दलको सहमतिअनुसार सरकार पूरै पाँच वर्ष चल्ने बताए। ‘गठबन्धनको सरकार छ, निर्वाचिनअघि पनि हामी सँगसँगै थियौँ, बीचमा गडबडी भएकै हो, अहिले सँगै छौँ। यो सरकार पूरा समय टिक्छ। हामी परिणाम देखाएर काम गर्ने पक्षमा छौँ।’