१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भरतपुर–बर्दघाट प्रसारण लाइन १३ वर्षमा सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:३o:oo

निर्माण सुरु भएको १३ वर्षमा भरतपुर–बर्दघाट दुई सय २० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । चितवनको भरतपुर महानगरपालिका–११, आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर प्रसारण लाइन निर्माण सकिएको हो । ०६७ कात्तिकबाट सुरु भएको उक्त आयोजनाले एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्छ । दुई सय २० केभी डबल सर्किट प्रसारण लाइनलाई सुरुमा एक सय ३२ केभीमा सञ्चालनमा ल्याइनेछ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त प्रसारण लाइन निर्माण सम्पन्न भएपछि भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाह गर्न थप सहज हुने बताए । ‘प्रसारण लाइनको रुट परिवर्तन गर्न माग गर्दै स्थानीयको अवरोध, रूख कटानको समस्या, ठेकेदारको कमजोर कार्यसम्पादनलगायतका कारणले जीर्ण बनेको आयोजना निरन्तरको प्रयासपछि निर्माण सम्पन्न भएको छ,’ उनले भने, ‘भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाहका लागि हाल चालू रहेको एक सय ३२ केभी सिंगल सर्किट मात्र थियो, उक्त लाइनको क्षमतालाई नधान्दा भरतपुरबाट पश्चिमतर्फ थप विद्युत् पठाउन समस्या थियो, अब दुई सय २० केभी लाइन निर्माण सम्पन्न भएपछि थप विद्युत् प्रवाहका लागि सहज हुनेछ, भोल्टेजमा पनि सुधार हुनेछ ।’ 

अब भरतपुरबाट बर्दघाटसम्म विद्युत् पठाउन पुरानोसहित तीनवटा सर्किट भएका छन् । दुई सय २० केभीको लाइनलाई हाल एक सय ३२ केभीमा चार्ज गर्दा एउटा सर्किटबाट एक सय ७० मेगावाटसम्म विद्युत् प्रवाह हुन सक्छ । पुरानो सिंगल सर्किटबाट करिब ९० मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो । 

बर्दघाटबाट नवलपरासीको सुनवल नगरपालिका–१३, भूमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको दुई सय २० केभी प्रसारण लाइन निर्माणाधीन छ । उक्त लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । त्यसपछि हेटौँडाबाट नयाँ बुटवल सबस्टेसम्म दुई सय २० केभी प्रसारण लाइन जोडिनेछ । 

भरतपुर–बर्दघाट प्रसारण लाइनको लम्बाइ ७४ किलोमिटर छ । प्रसारण लाइनमा दुई सय ४६ वटा टावर छन् । आयोजना निर्माणका लागि सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल इकोनोमिक एन्ड ट्रेड कम्पनीसँग ०६७ कात्तिकमा ठेक्का सम्झौता भएको थियो । 

कार्यसम्पादन सन्तोषजनक नभएपछि उक्त कम्पनीसँगको ठेक्का सम्झौता ०७४ जेठमा रद्द गरी प्राधिकरणले बाँकी काम गर्न नयाँ टेन्डर गरेको थियो । बाँकी काम गर्न चिनियाँ कम्पनी हेङटन अप्टिक्स इलेक्ट्रिकसँग ०७५ साउनमा ठेक्का सम्झौता भएको थियो ।  

नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२, दुम्कीवासमा केही स्थानीयले प्रसारण लाइनको रुट परिवर्तन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले ०७७ चैत २५ गते स्थानीयको मागबमोजिम अन्तरिम आदेश दिएपछि त्यस क्षेत्रमा पर्ने प्रसारण लाइनका दुईवटा टावर निर्माण रोकिएको थियो । सर्वोच्चले ०७९ असार १२ गते रिट खारेज गरेको थियो । त्यसपछि स्थानीयसँगको  मुआब्जा तथा क्षतिपूर्तिका विषयमा निरन्तर छलफल गरी ०७९ चैतमा सहमति भएपछि निर्माण सुरु गरिएको आयोजना प्रमुख सन्तोष साहले बताए । 

ad
ad