
साउदी प्रो लिगमा ब्राजिलियन खेलाडी नेमार जुनियर आबद्ध हुने पक्का भएको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मोटो रकममा नेमारलाई प्रो लिगको अल हिलाललाई बेच्न लागेको हो । नेमारलाई ९० मिलियन युरोमा स्थानान्तर गर्न सम्झौता भएको पिएसजीले जनाएको छ । पिएसजी र अल हिलालबीच नेमारको सम्बन्धमा बेच्ने सम्झौता भइसकेको बिबिसीले जनाएको छ । सन् २०१७ मा पिएसजीले नेमारलाई बार्सिलोनाबाट दुई सय २२ मिलियन युरो खर्चेर भित्र्याएको थियो ।
३१ वर्षीय नेमारको अब मेडिकल र आवश्यक कागजी प्रक्रिया पूरा गर्न बाँकी रहेको छ । नेमार र अल हिलालबीच दुई वर्षको सम्झौता भएको बिबिसीले जनाएको छ । नेमारको साउदी आगमनसँगै मोटो रकममा हाइप्रोफाइल खेलाडी साइन गर्ने रणनीतिमा पिएसजी पनि लागेको छ । नेमारले पिएसजीका लागि एक सय ७३ खेल खेलेका छन् । उनले क्लबलाई १३ उपाधि जिताएका छन् ।
गत मार्चमा घुँडाको चोटका कारण नेमारले पिएसजीबाट सबै खेल गुमाएका थिए । जुलाईमा मात्र शल्यक्रिया गरेका उनले सन् २०२२ को कतार विश्वकपको समूह चरणमा नै चोट लागेपछि प्रतियोगिता गुमाए । बढीजसो चोटग्रस्त हुने खेलाडीमा पर्ने नेमारले २०१९ को कोपा अमेरिका पनि गुमाएका थिए । सन् २०२१ को सत्रमा उनी बेन्चमै बसे ।
पिएसजीको नयाँ सत्र सुरु हुँदा उनी टोलीमा थिएनन् । प्रशिक्षक लुइस एन्रिकले उनलाई टोलीमा राखेनन् । नेमारले केही समयअघि नै फ्रेन्च क्लबमा बस्न नचाहेको बताएका थिए । उनले गत शनिबार फ्रेन्च लिग १ को खेल गुमाए । नेमारले पिएसजीबाट वार्षिक २५ मिलियन युरो कमाउँथे । साउदी प्रो लिगमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो अल नासेरमा कीर्तिमानी रकममा अनुबन्धित भएका थिए । उनीपछि विश्वकै चर्चित खेलाडी करिम बेन्जिमा, एन्गोलो कान्टे, जोर्डन हेन्डरसन, रुबेन नेभ्स, साडियो माने र रोबर्टो फिरमिनोजस्ता खेलाडी साउदी अरब पुगेका छन् ।