१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० श्रावण २८ आइतबार ११:१४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

महिनावारी हुँदा यी कुरामा गरौँ ख्याल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० श्रावण २८ आइतबार ११:१४:००

महिनावारी हुँदा धेरैजसो महिलालाई पेट दुख्ने समस्या हुन्छ । शरीरबाट रगत बग्ने हुँदा प्रशस्त मात्रामा पानी पिउने, झोलिलो तथा पोषिलो खानेकुरा खानुपर्छ ।

सामान्यतया किशोरी अवस्थामा प्रवेश गरेपछि महिलामा महिनावारी चक्र सुरु हुन्छ । महिनावारी एक प्राकृतिक प्रक्रिया हो । हरेक महिलामा महिनावारी हुने समय अवधि फरक–फरक हुन्छ । जस्तै, एउटा महिलाको महिनावारी २८ दिनमा भयो भने अर्को महिलाको २६ दिनमा हुन सक्छ ।

कसै–कसैको ३२ देखि ३४ दिनसम्म पनि हुन सक्छ । हामी २६ दिनदेखि ३५ दिनसम्म हुने महिनावारीलाई नर्मल मान्छौँ । कुनै महिला आत्तिएर मेरो चार–पाँच दिन महिना बढी नाघ्यो भन्नुहुन्छ ।

तर, आत्तिनुपर्दैन, ३५ दिनसम्म हामी त्यसलाई नर्मल नै मान्छौँ । कुनै महिलाको रक्तश्राव निकै कम हुन्छ भने कसैको दुई–तीन दिनमै रोकिन्छ । कसैलाई अति रक्तश्राव हुन्छ । कोही अति दुखाइले अस्पताल पनि पुग्छन् । रक्तश्राव हुँदा एकदम गन्ध आउने, बान्ता हुने, खाना नरुच्ने हुन्छ । यो समयमा रिंगटा लाग्ने पनि 
हुन सक्छ ।

अनियमित महिनावारीका कारण 

शरीरमा हुने विभिन ग्रन्थिबाट उत्पादन हुने हर्मोनको तालमेलपछि महिनावारी सुरु हुन्छ । थाइराइड, हर्मोनको समस्या, परिवारनियोजनका साधनको प्रयोग, रगतसम्बन्धी रोग, अण्डाशय, पाठेघरसम्बन्धी समस्या, मोटोपन, तनाव, डाइटिङ गर्ने महिलामा महिनावारी अनियमित हुन सक्छ । 

अस्वस्थकर जीवनशैलीले गर्दा पनि महिनावारी अनियमित हुन्छ । जंकफुड बढी खाँदा पनि शरीरमा तौल बढ्ने र महिनावारी अनियमित हुने गर्दछ । अनियमित महिनावारी भइरहँदा मानसिक तनाव बढ्ने हुन्छ । 

धेरै रगत बगिरहेमा शरीरमा रगतको कमी भई रक्तअल्पता हुन्छ । कतिपयलाई सन्तान जन्माउन पनि गाह्रो हुन सक्छ । यस्ता समस्यालाई बेवास्ता गरिरहे क्यान्सरसमेत हुन सक्ने जोखिम रहन्छ ।

यस्ता कुरामा ध्यान दिऔँ
- महिनावारीका क्रममा महिलाले सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ । महिनावारी हुँदा प्रयोग गरिने प्याडदेखि सरसफाइमा ध्यान नदिँदा यसले विभिन्न रोगको जोखिम पनि निम्त्याउन सक्छ । सरसफाइमा ध्यान नदिए कीटाणु पाठेघरमा जान सक्छ । जसले गर्दा इन्फेक्सन हुन सक्छ । सरसफाइमा ध्यान दिँदा विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ । प्रजनन स्वास्थ्यमा फाइदा पुग्छ ।
- महिनावारी हुँदा सरसफाइमा धेरै ध्यान दिनुपर्छ । 
- दुईदेखि तीन घन्टाभित्रमा प्याड परिवर्तन गर्ने । 
- कपडाको प्याड प्रयोग गरिएको छ भने राम्रोसँग धुने । लामो समय एउटै कपडा प्रयोग नगर्ने । 
- सफा पानीले नियमित रूपमा यौनांग सफा गर्ने ।
- धेरै दुखाइ छ भने आराम गर्ने । 
- महिनावारी हुँदा पेट, कम्मर दुखेमा हटवाटर ब्यागले दुखेको भागमा सेक्ने । 
- प्रशस्त मात्रामा पानी पिउने । 
- महिनावारी हुँदा तरल पदार्थ बढी सेवन गर्ने र नियमित रूपमा आइरन, भिटामिन र पोषणयुक्त खानेकुरा खाने ।
- धेरै दुखाइ, वाकवाकी हुनेलगायतको समस्या देखिएमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्ने । 
- नियमित व्यायाम गर्ने ।
- धेरै तनाव नलिने ।
- महिनावारी हुँदा धेरैजसो महिलालाई पेट दुख्ने, वाकवाकी लाग्ने समस्या हुन्छ । शरीरबाट रगत बग्ने हुँदा प्रशस्त मात्रामा पानी पिउने, झोलिलो तथा पोषिलो खानेकुरा खानुुपर्छ ।
- महिनावारीको समय अल्कोहलको सेवन गर्नुहुँदैन । यसले विभिन्न समस्या सिर्जना गर्न सक्छ । जस्तो, यसले शरीरमा इस्ट्रोजेनको लेभल बढाउने काम गर्छ । जसकारण महिनावारी अनियमित हुन सक्छ । 
- चिया–कफीको सेवन पनि कम गर्नुपर्छ । किनकि, यसमा क्याफिनको मात्रा अधिक पाइन्छ, जसले महिनावारीमा हुने दुखाइलाई बढाउँछ र मुड स्विङ गराउँछ । राम्रो निद्रा नलाग्न सक्छ ।
- अत्यधिक चिनीको सेवनबाट पनि बच्नुपर्छ । चिनीले पनि पेट दुखाउँछ । त्यसैले केक, कुकिज नखाँदा राम्रो हुन्छ । अत्यधिक चिल्लो खानेकुरा कम गर्नुपर्छ, जस्तो– बोसोयुक्त मासु । यस्ता खाद्यान्नको सेवनले पेट सुन्निन सक्छ । यसको साटो तपाईं चिल्लो कम भएका खानेकुरा लिन सक्नुहुन्छ । 
- जंकफुड नखाने, यसले पेट गडबड गर्न सक्छ । फलफूल प्रशस्तै खानुपर्छ ।