१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
अस्ट्रेलिया जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय टोलीका फुटबलर निसान खड्का, पुजन उपरकोटी र रविशंकर पासवान (दायाँबाट क्रमशः खादा लगाएका)
रमेश सुवेदी काठमाडाैं
Invalid date format o८:४२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रोकिएन फुटबलर पलायन : निसान, पुजन र रवि पनि अस्ट्रेलियातर्फ

गत साता दीपकराजसिंह ठकुरी पलायन भए, बिहीबार थप तीन खेलाडी उडे

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:४२:oo

राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू फेरि एकपटक अस्ट्रेलियातर्फ आकर्षिक भएका छन् । केही समय खेलाडीहरू अस्ट्रेलिया पलायन हुने क्रम रोकिएको थियो । तर, यो एक सातामा चार खेलाडी अस्ट्रेलिया उडेका छन् । बिहीबार मात्रै राष्ट्रिय फुटबल टोलीका प्रमुख तीन सदस्य पुजन उपरकोटी, रविशंकर पासवान र निसान खड्का सुन्दर भविष्य बनाउन अस्ट्रेलिया प्रस्थान गरेका छन् । अघिल्लो साता राष्ट्रिय टोलीका सदस्य दीपकराजसिंह ठकुरी त्यसतर्फ लागेका थिए । 

राष्ट्रिय टोलीबाट निसान डिफेन्डर, पुजन डिफेन्सिभ मिडफिल्डर र रविशंकरले विंगरको भूमिका निर्वाह गर्दै आएका थिए । सहिद स्मारक ‘ए’ डिभिजन लिग सकेपछि नै यी तीन खेलाडीले अस्ट्रेलियाको भिसा प्रक्रिया सुरु गरेका थिए । ‘ए डिभिजन लिग खेलेपछि अस्ट्रेलिया जाने प्रक्रिया अगाडि बढाएका थियौँ, भिसा आएपछि नै हामी त्यसतर्फ लागेका हौँ,’ बिहीबार अस्ट्रेलिया पलायन भएकामध्ये एक खेलाडीले नयाँ पत्रिकासँग भने, ‘यसअघि सिनियर र अन्य खेलाडीले सुन्दर भविष्यकै निमित्त अस्ट्रेलिया रोजेका थिए, हामीले पनि यस्तै गर्‍यौँ ।’ 

तीनजना खेलाडीले अब अस्ट्रेलियामा नेपाली समाजले आयोजना गर्ने प्रतियोगिता खेल्नेछन् । तीनै खेलाडीले साताको बिदामा फुटबल खेल्नेछन् । २७ जेठमा सकिएको ‘ए’ डिभिजन लिगमा पुजनले उपविजेता मच्छिन्द्र फुटबल, रविले विभागीय टोली नेपाल पुलिस र निसानले संकटा क्लबबाट प्रतिस्पर्धा गरेका थिए । तीनै खेलाडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय टोलीका खेलाडीले बिदाई गरेका थिए । 

‘निरन्तर खेल नहुँदा करिअर नै धरापमा’
राष्ट्रिय टोलीका नियमित खेलाडी अनन्त तामाङ, दीप कार्की, विकास तामाङ, देवेन्द्र तामाङ, अभिषेक बरालले अस्ट्रेलिया जान हिँडेका सहकर्मीलाई विमानस्थलमा बिदाई गरेका थिए । ‘हामी नेपालमै केही गरौँ भन्ने भावनाका साथ बसेका हौँ, तर घरेलु फुटबलमा खेल नहुँदा समस्या भयो,’ ती खेलाडीले भने, ‘फेरि फुटबलमा फोहोरी राजनीति चलिरहेको छ, दिक्क भएर नै अस्ट्रेलियाको बाटो रोजेका हौँ ।’ ०७७ मंसिरमा बंगलादेशमा आयोजना भएको अन्तर्राष्ट्रिय फुटबलमा पुजनले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । प्रशिक्षक बालगोपाल महर्जनले तेज तामाङको स्थानमा उनलाई डेब्यु गराएका थिए । त्यसयता उनले २२ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । 

महर्जनकै प्रशिक्षणमा निसानले दशरथ रंगशालामा ०७७ चैतमा बंगलादेशविरुद्ध डेब्यु अवसर पाए । निसान दोस्रो हाफमा रञ्जित धिमालको स्थानमा मैदान प्रवेश गरेका थिए । रविले ०७६ मा कुवेतविरुद्ध डेब्यु गरेका थिए । स्विडिस प्रशिक्षक योहान कालिनले रविलाई कुवेतविरुद्ध डेब्यु गराएका थिए । 

गत साता अस्ट्रेलिया पुगेका दीपकले गत चैतमा दशरथ रंगशालामा लाओसविरुद्ध डेब्यु गरेका हुन् । प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसले दीपकलाई नवयुग श्रेष्ठको स्थानमा ८३औँ मिनेटमा मैदान छिराएका थिए । त्यसयता दीपकले राष्ट्रिय टोलीका लागि चार खेल खेलेका छन् । 

पछिल्लो ६ महिनामा ५० भन्दा बढी खेलाडी अस्ट्रेलियामापछिल्लो ६ महिनाभित्रमा नेपाली खेलाडीमा अस्ट्रेलिया जाने मोह बढेको छ । यो अवधिमा कम्तीमा ५० फुटबलर अस्ट्रेलियामा विभिन्न भिसा प्रक्रियामा पुगेका छन् । धेरैजसो खेलाडी राष्ट्रिय तथा ‘ए’ डिभिजन क्लबमा आबद्ध खेलाडी नै अस्ट्रेलिया पलायन भएका छन् । घरेलु खेलाडी अस्ट्रेलिया भासिँदा गत संस्करणको ए डिभिजन लिगमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले विदेशी खेलाडी कोटा चारबाट पाँच बनाएको थियो । 

राष्ट्रिय टोलीबाट खेलिसकेका दुई दर्जनभन्दा बढी खेलाडी अहिले अस्ट्रेलियामा छन् । अभिषेक रिजाल, आशिष लामा, दर्शन गुरुङ, सन्तोष तामाङ, हेमन गुरुङ, सुमन अर्याल, शिव गुरुङ, आकाश बुढामगर, नवीन गुरुङ, तेज तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, नितिन थापा, सुजल श्रेष्ठ, रेजिन धिमाल, विशाल राई, आकाश बुढामगर, राजन गुरुङ, सुनिल बल, सरोज दाहाल, नीरकुमार राई, कमल थापा, हेमन्त रानामगर, रितिक खड्का, मिक्छेन तामाङ, सुमन लामा, विमल राना, विमल बस्नेत र सन्जोग राई अस्ट्रेलिया पलायन भएका खेलाडी हुन् ।