
राष्ट्रिय सतर्कता केन्द्रले सप्तरीको डाकनेश्वरी नगरपालिकामाथि गत आर्थिक वर्ष औषधि खरिद गर्दा लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको आशंकामा अनुसन्धान थालेको छ।
केन्द्रले नगरपालिकासँग पत्राचार गरी अनुसन्धानका लागि आवश्यक कागजातहरूको प्रमाणित प्रतिलिपि मागेको छ। आर्थिक वर्ष ०७९/८० मा ४० लाखको औषधि खरिदमा भ्रष्टाचार भएको उजुरी परेपछि अनुसन्धान थालेको केन्द्रका प्रवक्ता राजेन्द्रकुमार पौडेल जानकारी दिए।
केन्द्रले नगरपालिकासँग आर्थिक वर्ष ०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम, लागत अनुमान, लागत अनुमान तयार गर्दा लिइएको आधारको प्रतिलिपि, खरिद एकाइ गठन भए–नभएको सोको निर्णय र बोलपत्र मूल्यांकन समिति गठन भए–नभएको, गठन भए सोको प्रतिलिपिसमेत माग गरिएको प्रवक्ताले बताए।