१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० श्रावण २१ आइतबार ०८:१६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

धनगढीमा वडा स्वास्थ्य क्लिनिकबाट एक वर्षमा साढे ४५ हजारले लिए नि:शुल्क उपचार सेवा 

Read Time : > 1 मिनेट
२०८० श्रावण २१ आइतबार ०८:१६:००

धनगढी उपमहानगरपालिकाले हरेक वडामा मासिक रूपमा सञ्चालन गर्दै आएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट एक वर्षको अवधिमा साढे ४५ हजारजनाभन्दा बढीले उपचार सेवा लिएका छन् । उपमहानगरको तथ्यांकअनुसार वडा क्लिनिकबाट सेवा लिनेमध्ये अधिकांश महिला छन् ।

गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा वडा क्लिनिकबाट ३५ हजार ६१९ महिलासहित ४५ हजार ६८९ जनाले उपचार सेवा लिएका विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकका संयोजक कृष्णबहादुर बोहराले जानकारी दिए । उनका अनुसार आठ हजार १६६ जनाले स्त्री तथा प्रसूति रोगसम्बन्धी विशेषज्ञ सेवा लिएका छन् । क्लिनिकमा उपचार सेवा लिनेमध्ये पाँच हजार ४३७ जना ७० वर्ष उमेर माथिका रहेका उपमहानगरले जनाएको छ ।

आर्थिक अभावले उपचार गराउन नसक्ने विपन्न नागरिकलाई घरदैलोमै नि:शुल्क विशेषज्ञ उपचार सेवा दिने उद्देश्यले उपमहानगरले गत वर्षबाट विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सुरु गरेको हो । नगरका १९ वटै वडामा हरेक महिनाको एक दिन स्वास्थ्य क्लिनिक सञ्चालन हुँदै आएको छ । क्लिनिकमा आँखा, दाँत, हाडजोर्नी, फिजिसियन तथा स्त्री रोगसम्बन्धी सेवा नि:शुल्क दिने गरिएको छ । 

त्यस्तै इसिजी, सुगर, पिसाब, रगतलगायत विभिन्न प्रयोगशाला जाँच नि:शुल्क गरिन्छ । गर्भवती महिलालाई नि:शुल्क अल्ट्रासाउन्डको सुविधा पनि क्लिनिकमा उपलब्ध हुन्छ । एक वर्षमा क्लिनिकबाट चार हजार ६९९ गर्भवतीले सेवा लिएकोमा तीन हजार ८९ जनाले अल्ट्रासाउन्ड सेवा लिएका उपमहानगरले जनाएको छ । उक्त अवधिमा क्लिनिकमा जाँच गर्न आएका पाँच हजार दुई सय ७१ जनालाई नि:शुल्क प्रयोगशाला जाँचको सुविधा दिइएको बोहराले जानकारी दिए ।

वडा क्लिनिक सञ्चालन गर्न उपमहानगरले एकजना फिजिसियन र एकजना स्त्री तथा प्रसूति रोग विशेषज्ञ गरी दुईजना विशेषज्ञ डाक्टर नियुक्त गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले वडा क्लिनिकका लागि गत वर्ष अल्ट्रासाउन्ड, इसिजीलगायत उपकरण दिएको छ । धनगढीका निजी तथा सामुदायिक अस्पतालहरूसँगको सहकार्यमा क्लिनिकबाट हाडजोर्नी, आँखा, दाँतसम्बन्धी रोगलगायत सेवा दिने गरिएको छ । 

उपमहानगरको आग्रहमा केही निजी र सामुदायिक अस्पतालले हाडजोर्नी, आँखा र दन्तरोगसम्बन्धी चिकित्सक वडा क्लिनिकमा खटाइदिने गरेको क्लिनिक संयोजक बोहराले बताए । १९ वटा वडामा महिनामा १९ दिन सञ्चालन हुने क्लिनिकमा सेवा लिनेको संख्या उपमहानगरले सोही दिन सामाजिक सञ्जालबाट पनि सार्वजनिक गर्दै आएको छ ।

धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले एक वर्षमा विशेषज्ञ वडा क्लिनिकले नागरिकलाई दिएको सेवाबाट आफू उत्साहित भएको बताए । सवा दुई लाख जनसंख्या भएको ठाउँमा ४५ हजारले सेवा पाउनु ठूलो विषय भएको उनको भनाइ छ । ‘निजी अस्पतालमा उपचार गराउन नसक्ने र सरकारी अस्पतालमै पनि आउन नसक्ने विपन्नलाई लक्षित गरेर वडा क्लिनिक सुरु गरेका थियौँ,’ उनले भने, ‘यसले नागरिकलाई स्वास्थ्य उपचारमा ठूलो सहयोग पुगेको छ ।’ 

निजी अस्पतालहरूसँगको सहकार्यमा वडा क्लिनिकमा विशेषज्ञ सेवा थप गर्दै लगेको उनले बताए । प्रयोगशाला परीक्षणका लागि केही उपकरण थप गर्न लागिएको हमालले जानकारी दिए । स्थानीय तहको चुनावका वेला नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने प्रतिबद्धता जनाएका हमालले नगरप्रमुखमा निर्वाचित भएको दुई महिनामै वडा स्वास्थ्य क्लिनिक सुरु गरेका थिए ।

विपन्नले कुखुरा, बाख्रा बेचेर पनि उपचार नपाउने अवस्था अन्त्य गर्न खोजिएको हमालले बताए । मेयरले चढ्ने सरकारी गाडी क्लिनिकका लागि हस्तान्तरण गरेका उनी आफ्नो निजी गाडी प्रयोग गर्दै आएका छन् । वडा क्लिनिकलाई निरन्तरता दिएर आवश्यकताअनुसार जनशक्ति र उपकरण थप्दै लैजाने नगरप्रमुख हमालले बताए ।