१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o६:२९:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वर्षमा ३६१ युनिट अपार्टमेन्ट मात्र किनबेच

अघिल्लो वर्षभन्दा ३७ प्रतिशतले कम बिक्री, नयाँ अपार्टमेन्ट स्टकमै छैनन्, पुरानै रिसेल

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:२९:oo

सत्तरीको दशकमा नयाँ बहुतले संयुक्त आवासीय परियोजनाहरू निर्माण नहुँदा अपार्टमेन्ट खरिद–बिक्री घट्दै गइरहेको छ । दशकको अन्तिम आर्थिक वर्ष ०७९/८० मा तीन सय ६१ युनिट अपार्टमेन्ट मात्रै किनबेच भएका छन् । जबकि, सोही वर्षमा चार लाख ६७ हजार ६ सय आठ सिंगल युनिट घर तथा घडेरी (अरू जग्गासमेत)को लिखत पारित भएको भूमि व्यवस्थापन विभागको तथ्यांक छ ।  

सहरी क्षेत्रमै अपार्टमेन्टभन्दा घर–घडेरीकै बिक्री बढ्दो दरमा छ । भूकम्पपछि नयाँ अपार्टमेन्ट आउन नसक्दा बिक्री कम देखिएको जग्गा तथा आवास विकास महासंघका निवर्तमान अध्यक्ष मीनमान श्रेष्ठले बताए । ‘पछिल्लोपटक नयाँ अपार्टमेन्ट नै आएका छैनन्, सयवटा पनि नयाँ युनिट स्टकमा छैनन्,’ उनले भने, ‘अहिले भइरहेको सबै रिसेल हो ।’

डाउनटाउन हाउजिङका अध्यक्ष श्रेष्ठ बहुतले आवास अपार्टमेन्ट बसाइ नेपालीको रोजाइमा नपरेको मान्न तयार छैनन् । ०७२ को विनाशकारी भूकम्पको घाउ बिर्सिँदै गएपछि अपार्टमेन्ट खोज्ने ग्राहक बढ्दै छन् । तर, बिक्रीका लागि स्टकमा नयाँ युनिट छैनन् । ‘अहिले धेरै इन्क्वायरी आउन थालेका छन्, तर हामीसँग बिक्रीका लागि अपार्टमेन्ट स्टक छैन,’ उनले भने, ‘अपार्टमेन्टको माग छ, स्टक भए बिक्री गर्न समस्या थिएन ।’

अघिल्लो आर्थिक वर्ष ०७८/७९ को तुलनामा गत आर्थिक वर्षमा अपार्टमेन्ट किनबेच ३७.५४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा पाँच सय ७८ युनिट अपार्टमेन्ट किनबेच भएका थिए । चरम मन्दी, तरलता अभाव, चर्को ब्याजदर, महँगीलगायतका कारणले अपार्टमेन्ट किनबेचमा मात्र नभई समग्र रियल इस्टेट क्षेत्रमै असर परेको जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले बताए ।

गत आर्थिक वर्ष मन्दीका कारण समग्र घरजग्गा कारोबार नै घटेको देखिन्छ । अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा सात लाख ४५ हजार घरजग्गा किनबेच भएका थिए भने ७५ अर्ब ६६ करोड रुपैयाँ मालपोत राजस्व उठेको थियो । तर, गत आर्थिक वर्षमा चार लाख ६७ हजार घरजग्गा किनबेच भएका छन् भने राजस्व संकलन ४१ अर्ब १६ करोडमा झरेको छ । ‘यसमा अर्थतन्त्र शिथिल हुनु, बैंकको चर्को ब्याजदर र सहज कर्जा प्रवाह नहुनु मुख्य कारण हुन्,’ अध्यक्ष लोहनीले भने ।

त्यसो त अपार्टमेन्ट स्टक घट्दै गएपछि मूल्य पनि अत्यधिक महँगो हुन थालेको छ । नयाँ निर्माण सुरु गरिएका अपार्टमेन्टको मूल्य न्यूनतम दुई करोडबाट सुरु हुन्छ । पछिल्लो समय काठमाडौं उपत्यका, पोखरा, भैरहवा, वीरगन्जदेखि झापासम्म नयाँ अपार्टमेन्ट परियोजना निर्माण भइरहेका छन् । तर, ती अपार्टमेन्ट परियोजना मध्यमवर्गलाई लक्षित गरेर ल्याउन लागिएका होइनन् । एउटा अपार्टमेन्ट खरिद गर्ने पैसाले सहरभन्दा अलिबाहिर निस्किँदा घर नै खरिद गर्न सकिन्छ । मूल्यकै कारण पनि अपार्टमेन्ट निर्माण र किनबेच बढ्न नसकेको एकथरीको भनाइ छ । 

कतिपय अपार्टमेन्ट परियोजनाले फ्ल्याट बिक्री गर्नका लागि गाडी उपहारसमेत ल्याएका उदाहरण छन् । केही समयअघि सोल्टी मोडको ‘सोल्टी सिटी’ र ललितपुर हात्तीवनको ‘मेरो सिटी’ अपार्टमेन्ट खरिद गर्दा हुन्डाईको ग्रान्ड आई १० र ग्रान्ड आई २० कार उपहार दिने योजना ल्याएका थिए । अहिले गाडीको मूल्यबराबरकै रकम छुट दिएर अपार्टमेन्टको बिक्रीमा राखिएको छ । यस्तै, वीरगन्जको सालिमार ग्रुपले सालिमार अपार्टमेन्ट खरिद गर्दा १५ तोलासम्म सुन उपहार दिने स्किम ल्याएको छ ।

पछिल्लो समय मन्दीका कारण अपार्टमेन्ट बिक्री हुन नसकेको वीरगन्जस्थित सालिमार होम्स निर्माता अशोक वैद्यले बताए । सालिमार अपार्टमेन्टका करिब ९० युनिट फ्ल्याटमध्ये ४५ वटा मात्रै बिक्री भएका छन् । मन्दीकै कारण घरजग्गा किनबेच सुस्ताएपछि निर्माणाधीन आवास (अपार्टमेन्ट, हाउजिङ) परियोजना निर्माण सम्पन्न गर्न ढिलाइ भइरहेको छ ।

‘पछिल्लो समय अपार्टमेन्ट नीतिमा केही सुधार पनि भएको छ, तर मन्दीले नयाँ प्रोजेक्ट आउन नसकेका हुन्,’ डाउनटाउन हाउजिङका अध्यक्ष श्रेष्ठले भने, ‘हामी आफैँ पनि अपार्टमेन्ट निर्माण सुरु गर्दैै छौँ, अब बिस्तारै अपार्टमेन्ट परियोजना आउँछन् ।’ जग्गाको मूल्य चर्को भएकै कारण अपार्टमेन्टको मूल्य महँगो पर्न गएको उनको भनाइ छ । उनले भने, ‘सामान्यतया अपार्टमेन्ट भनेको रिङरोडभित्रका लागि हो, त्यहाँ प्रतिआना करोडभन्दा कम मूल्यमा जग्गा पाइँदैन, जग्गाकै कारण मूल्य चर्किएको हो ।’ एकल अंकमा १५ वर्षसम्मका लागि फिक्स रेटको कर्जा उपलब्ध गराउन सकेमा अपार्टमेन्ट बिक्री बढ्ने उनको भनाइ छ । 

दर्तावाल रियल इस्टेट कम्पनीले लिने कर्जामा जोखिमभार १०० प्रतिशतमा झार्ने, पहिलोपटक आवास खरिद गर्नेलाई दुई करोडसम्म कर्जा उपलब्ध गराउनेलगायतका निर्णयले घरजग्गा कारोबार बढाउन सहयोग पुर्‍याउने विश्वास व्यवसायीको छ । अहिले बहुतले आवासीय भवन अपार्टमेन्टमा करिब साढे ६ हजार परिवार बस्छन् । 

 गत वर्षको अपार्टमेन्ट किनबेच ?
गत आर्थिक वर्षको साउनमा २५, भदौमा ३१, असोजमा २२, कात्तिकमा ३०, मंसिरमा २६, पुसमा २४, माघमा २२, फागुनमा ५१, चैतमा ३८, वैशाखमा ३०, जेठमा २० र असारमा ३३ अपार्टमेन्ट किनबेच भएका छन् ।  भूमि विभागको तथ्यांकले सबैभन्दा बढी अपार्टमेन्ट फागुनमा बिक्री भएको देखाउँछ भने सबैभन्दा कम असोज र माघ महिनामा २२–२२ युनिट बिक्री भएका छन् ।

नेपालमा काठमाडौं उपत्यका, पोखरा, भैरहवा, वीरगन्ज, विराटनगर र झापामा अपार्टमेन्ट निर्माण तथा किनबेच भइरहेका छन् । तर, अधिकांश अपार्टमेन्ट किनबेच काठमाडौं उपत्यकामै केन्द्रित देखिन्छ । पछिल्लो समय पर्यटकीय नगरी पोखरामा अपार्टमेन्ट निर्माणको बहार चलेको छ । पोखरामा करिब आधा दर्जन अपार्टमेन्ट परियोजना निर्माण भएका छन् भने एक दर्जन हाराहारी निर्माणाधीन अवस्थामा छन् ।

नेपालमा बिस्तारै अपार्टमेन्ट संस्कृति हुर्किँदै गइरहेको समयमा (०७२ साल) विनाशकारी भूकम्प गयो । भूकम्पले अपार्टमेन्टको जग मात्र हल्लाएन, उपभोक्ताले हाइराइज आवासलाई हेर्ने नजर पनि परिवर्तन गरिदियो । 

अपार्टमेन्टको सप्लाई र डिमान्ड दुवै कम छ
भेषराज लोहनी, अध्यक्ष, नेपाल जग्गा तथा आवास विकास महासंघ

अपार्टमेन्ट बिक्री कम हुनुको पहिलो कारण अर्थतन्त्र शिथिल हुनु हो । दोस्रो, बैंकको ब्याजदर बढी र सहज कर्जा प्रवाह नहुनु हो । अब बैंकमा तरलता सहज हुँदै गइरहेको छ भने ब्याजदर पनि घट्न थालेको छ । चालू मौद्रिक नीतिमा पहिलो आवास खरिद गर्नेलाई दुई करोडसम्म व्यक्तिगत आवासीय घरकर्जा दिने भनिएको छ । 

अर्थतन्त्र शिथिल बन्दा अपार्टमेन्ट मात्र होइन, समग्र घरजग्गा कारोबार नै सुस्ताएको छ । अर्कोतिर अपार्टमेन्टको सप्लाई पनि कम छ । भूकम्पपछि त्यति अपार्टमेन्ट निर्माण भएका छैनन् । अपार्टमेन्टको सप्लाई पनि कम छ, डिमान्ड पनि कम छ । कहिलेकाहीँ अर्थशास्त्रको नियमले पनि काम नगर्दो रहेछ ।

ad
ad