१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

१३५ प्रतिशतले बढे बैंकिङ कसुरका मुद्दा

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१७:oo

एक वर्षमा प्रहरीमा १२ हजार मुद्दा दर्ता, ९९ प्रतिशत चेक बाउन्ससम्बन्धी

प्रहरीमा बैंकिङ कसुरका मुद्दाको चाप दोब्बरभन्दा धेरै भएको छ । आर्थिक वर्ष ०७९/८० मा बैंकिङ कसुरका मुद्दा अघिल्लो वर्षमा भन्दा एक सय ३५ प्रतिशतले बढेको हो । 

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पछिल्लो एक वर्षमा बैंकिङ कसुरसम्बन्धी १२ हजार ६ सय ७२ मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्ष पाँच हजार तीन सय ८३ दर्ता भएका थिए । पछिल्लो आर्थिक मन्दीले चेक बाउन्सका घटनासँगै बैंकिङ कसुरका मुद्दा बढेको प्रहरी अधिकारी बताउँछन् । प्रहरी अधिकारीका अनुसार बैंकिङ कसुरका मुद्दामध्ये ९९ प्रतिशत चेक बाउन्ससम्बन्धी छन् । 

बैंकिङ कसुरका करिब ६० प्रतिशत जाहेरी त काठमाडौं जिल्लामा मात्र दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत आर्थिक वर्षमा परिसरमा सात हजार एक सय एक बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । आर्थिक मन्दीको असरले पनि पछिल्लो समय चेक बाउन्सका मुद्दा बढेको काठमाडौंका एसएसपी दानबहादुर कार्कीले बताए । 

दुई करोड नतिरेको भनेर हालै एक ठेकेदारलाई पक्राउ गरेका थियौँ,’ उनी भन्छन्, ‘उनले सरकारसँग १९ करोड भुक्तानी लिनुपर्ने रहेछ, अहिले देखिएको भुक्तानी समस्याको ‘चेन इफेक्ट’ रहेको छ । कतिपय चेक बाउन्सका मुद्दा आर्थिक अपराधसँग जोडिने गरेका छन् । विदेश पठाइदिने, जग्गा मिलाइदिनेलगायत नाममा ठगी गरेका घटनासँग सम्बन्धित चेक बाउन्सका मुद्दा पनि पर्ने गरेका छन् । वैदेशिक रोजगार ठगीसँगै चेक बाउन्स बढेको एसएसपी कार्की बताउँछन् । 

कतिपयलाई चेक बाउन्ससम्बन्धी मुद्दामा हुने सजाय थाहा नपाएर थोरै पैसा लिएर खाली चेक दिने र त्यसमा वास्तविकभन्दा धेरै भरेर पनि प्रहरीमा पुग्ने गर्छन् । आर्थिक कारोबार अनिवार्य रूपमा बैंकिङ माध्यमबाट हुने प्रावधान लागू नहुँदा यस्ता घटनामा अनुसन्धान कठिन भएको प्रहरी अधिकारी बताउँछन् । कतिपयले त चेक चोरी गरेर आफैँ त्यसमा पैसा लेखेरसमेत आउने गरेको एसएसपी कार्की सुनाउँछन् । 

सामान तथा सेवाको भुक्तानी नदिने, व्यावसायिक साझेदारीका नाममा धोका दिनेजस्ता घटनासँग सम्बन्धित चेक बाउन्सका मुद्दा पनि प्रहरीमा छन् । फिल्म बनाउन पैसा हाल्न लगाएर निर्माताले नै ठगी गरी खातामा पैसा नभई दिएका चेकसम्बन्धी घटनासमेत काठमाडौं प्रहरीमा दर्ता भएका छन् । 

विगतमा चेक बाउन्सका घटनामा सीधै सर्वसाधारण चेक अनादार मुद्दा दायर लिएर अदालत जान्थे । अदालत जाँदा अदालतको शुल्क तथा कानुन व्यवसायीमा खर्च हुने भएकाले अहिले सीधै प्रहरीमा जाने प्रवृत्ति बढेको छ । अर्काेतर्फ आरोपीलाई थुनामा राखेर पैसा तिराउने प्रवृत्ति पनि छ । 

बैंकिङ कसुरका मुद्दा उच्च दरमा बढेपछि हालै सरकारले जिल्ला अदालतबाटै यस्ता मुद्दा छिन्ने अधिकार दिएको छ । यसअघि उच्च अदालतले मात्र हेर्दै आएका थिए । उच्चमा अत्यधिक चाप भएपछि जिल्ला अदालतलाई अधिकार क्षेत्र तोकिएको हो ।

चेक बाउन्सका अपराध धेरैजसो लेनदेनसँग सम्बन्धित भए पनि प्रहरीको ठूलो जनशक्ति यसमा खर्च हुने गरेको छ । यस्ता मुद्दामा प्रहरी, सरकारी वकिल तथा अदालतमा मिलापत्र गर्न मिल्ने प्रावधान पनि छ । 

पछिल्लो ६ वर्षको आँकडा हेर्ने हो भने १७ सय गुणाले यस्ता अपराध बढेको छ । आर्थिक वर्ष ०७४/७५ मा सात सय ७६ मात्र मुद्दा दर्ता भएका थिए । त्यसयता हरेक वर्ष यस्ता मुद्दा बढ्दै गएको छ । गत वर्ष प्रहरीमा ५६ हजार तीन सय १९ कुल मुद्दा दर्ता भएकोमा २२.५० प्रतिशत चेक बाउन्ससम्बन्धी छन् । 

ad
ad