१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०८० श्रावण १४ आइतबार ०९:२५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अझै तयार भएन काठमाडौं प्लाजामा महानगरको कार्यालय

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० श्रावण १४ आइतबार ०९:२५:००

सभागृहबाट कार्यालय सञ्चालन गर्दै मेयर र उपमेयर, कार्यकक्ष अभावमा कर्मचारी हाजिरी गरेर घर जान्छन्

सुन्धारास्थित जेडिए कम्प्लेक्स छाडेर कमलादीस्थित काठमाडौं प्लाजामा बसाइँ सरेको काठमाडौं महानगरपालिकाको नयाँ कार्यालय अझै पूर्ण रूपमा सञ्चालनमा आएको छैन । नयाँ ठाउँमा सरे पनि जनप्रतिनिधि र कर्मचारीका लागि कार्यकक्ष तयार नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । 

नयाँ स्थानमा कार्यालय तयार भइनसक्दा मेयर बालेन्द्र साह र उपमेयर सुनीता डंगोलले भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहबाट कार्यालय चलाउँदै आएका छन् । मेयरका लागि काठमाडौं प्लाजामा कार्यकक्ष तयार भइरहेको छ । यसअघि दोहोरी साँझ रहँदै आएको चौथो तलामा मेयर साहको कार्यकक्ष बनाउने तयारी महानगर प्रशासनले गरेको थियो । तर, एक महिनाभन्दा बढी भइसक्दा पनि उक्त स्थानमा पुराना कुर्सी, पेय पदार्थका बोतल, टेबल र फाइलहरू यत्रतत्र छरिएर रहेका छन् । कार्यकक्ष निर्माणका लागि टेन्डर आह्वान गर्नुपर्ने भए पनि यसको प्रक्रिया अझै अघि नबढेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनका अनुसार दोस्रो तलामा उपमेयर सुनीता डंगोलका लागि भने कार्यकक्ष निर्माण भइरहेको छ ।  

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष तयार 
प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीका लागि भने कार्यकक्ष तयार भइसकेको छ । तर, मेयरसहित अन्य अधिकांश विभागीय कार्यकक्ष नबनेका कारण विभागीय प्रमुखहरू कार्यालयसमेत आउन छाडेका छन् । शिक्षा, स्वास्थ्य, वित्त, पूर्वाधार तथा सार्वजनिक निर्माण विभागबाट सेवा प्रवाह गर्न मिल्ने गरी कुर्सी, सोफा, टेबल र कम्प्युटरहरू राखिएको छ । कतिपय कार्यकक्षमा विद्युत् र इन्टरनेट जडान भएको छैन भने भवनभित्र क्यान्टिन, शौचालयलगायत संरचना व्यवस्थापन गर्ने काम बाँकी नै छ । प्रवक्ता मानन्धरका अनुसार शौचालय व्यवस्थापनका लागि पनि टेन्डर लगाउन बाँकी छ ।

नेपाल ट्रस्टको नाममा रहेको काठमाडौं प्लाजामा यसअघि विभिन्न कार्यालय, होटेल तथा व्यापारिक सटर थिए । अब सम्पूर्ण भवन महानगरले प्रयोग गर्ने भएकाले त्यसका भित्री कक्षहरू फेरबदल गर्नुपर्ने हुन्छ । यही कारण पनि समय लागेको महानगरपालिकाकी प्रशासन विभाग प्रमुख सरिता राईले जानकारी दिइन् । मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र विभागीय प्रमुखसहित सबै कार्यालय व्यवस्थापन गरिदिने जिम्मा प्रशासन विभाग प्रमुख राईको हो । 

कार्यकक्ष निर्माण नहुँदा कर्मचारीहरू पनि हाजिर गरेर हिँड्छन् । बस्ने र काम गर्ने ठाउँ तयार नभएकाले कार्यालयमा बस्नुको अर्थ नभएको महानगरका एक विभागीय प्रमुखले बताए । ‘बस्ने ठाउँ र सेवा प्रवाह गर्ने ठाउँको ठेगान छैन, बाहिर कुर्सीमा बसेर के गर्नु ?’ ती विभागीय प्रमुखले भने, ‘यता कार्यालय व्यवस्थापन नहुँदै बसाइँ सर्दा समस्या भयो, यसले सेवा प्रवाहमा पनि असर भइरहेको छ ।’ मन्त्रिपरिषद्बाट निर्णय भएको करिब तीन वर्षपछि काठमाडौं प्लाजा भवन काठमाडौं महानगरपालिकालाई भाडामा दिनेबारे महानगर र ट्रिटबीच गत चैतमा सम्झौता भएको थियो ।

महानगरले मासिक ६० लाख ५० हजार रुपैयाँ भाडा तिर्ने गरी १० वर्षको सम्झौता गरेको थियो । ०७२ सालको भूकम्पपछि महानगरको प्रशासनिक सेवा सुन्धारास्थित जेडिए कम्प्लेक्सबाट सञ्चालन भइरहेको थियो । कम्प्लेक्सलाई महानगरले मासिक १८ लाख रुपैयाँ भाडा तिर्दै आएको थियो । तर, उक्त सम्झौता असार मसान्तमा सकियो । अझै पनि नगर प्रहरीसहितको केही सेवा भने बागदरबारको पुरानै भवनबाट प्रवाह भइरहेको छ  । 

यस्तो हुनेछ सजावट 
काठमाडौं प्लाजा भवनमा सरेको काठमाडौं महानगरपालिकाले हरेक तला र कार्यकक्ष सजाउन पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यसबाट बाहिरी र भित्री रङरोगनसम्बन्धी सबै कार्य हुनेछ । मेयर, उपमेयरको कार्यकक्षमा दुई–दुईवटा एसी, छुट्टै किचन, मिटिङ रुम, विश्राम कक्ष र सेवा प्रवाह कक्ष रहनेछन् । भवनभित्र छिर्ने प्रवेशद्वारा निर्माण हुनेछ भने भवनको छतमा नेपालको झन्डा राखिनेछ । 

टेकुमा महानगरको आफ्नै भवन बन्दै 
काठमाडौं महानगरले दुई वर्षभित्रै टेकुमा आफ्नै नयाँ भवन निर्माण सम्पन्न गर्दै छ । तैपनि, काठमाडौं प्लाजासँग महानगरले १० वर्षका लागि सम्झौता गरेर चमकधमक सजावटसहित बसाइँ सरिरहेको छ । सम्झौताअनुसार काठमाडौं प्लाजाको पूरै भवन महानगरले प्रयोग गर्न पाउँछ । छरिएका महानगरका सबै कार्यालयलाई यही भवनमै सार्दै छ ।

यस भवनमा ७० वटा चारपांग्रे र सयवटा मोटरसाइकल पार्किङ गर्न मिल्छ । भवनसँगैको दुई रोपनी खाली जग्गा पनि महानगरले प्रयोग गर्न थालेको छ । महानगरमा विभिन्न १६ वटा विभाग छन् । १६ विभाग १० ठाउँमा छरिएकाले नागरिकलाई सास्ती हुँदै आएपछि एउटै भवनमा कार्यालय सार्ने निर्णय गरिएको थियो ।

महानगरका सबै विभागलाई एउटै भवनभित्र रहने गरी करिब एक महिनाअघिदेखि महानगर काठमाडौं प्लाजामा बसाइँ सर्न लागेको थियो । तर, हालसम्म पुरानो कार्यालयबाट ल्याएका फाइल तथा सामानसमेत व्यवस्थित बनाइएको छैन ।